लिलाधर वली
दाङ, १४ असोज ।
बुधवार साँझ सूर्य अस्ताएसँगै घोराही बजारदेखि केही टाढा रहेको मौलाकोट गाउँ सुनसान हुँदै थियो । गाउँमा बिजुली बत्तीका लागि पाँच बर्षअघि लगेका पोलहरु बाटैमा ढलेका थिए । उज्यालोका लागि स्थानीयले मोबाइल र टर्च लाइट बालेर घरको कामसँगै बाटोमा हिँड्डुल गरिरहेका थिए ।
त्यही समयमा घोराही उपमहानगरपालिका–१३ को विकट बस्ती मौलाकोटदेखि केही परको जंगलमा हिमाल मगर, उनकी आमा र दिदीले दशैका लागि चिउरी तेल पेल्न व्यस्त थिए, कोलमा । महान पर्व विजयादशमी सुरु भएसँगै उनीहरुलाई पनि दशै र तिहारका लागि रोटी पकाउनेदेखि सिजनमा चिउरीको तेल बिक्री गरेर दुईचार पैसा कमाउनका लागि तेल पेल्न भ्याइँ–नभ्याइँ छ । यस सिजन जंगलमा सात बोरा चिउरीका फल टिपेका हिमालको परिवारले आठ धार्नी (करिब २२ लिटर) चिउरीको तेल पर्ने अनुमान गरेका छन् ।
‘जंगलमा ठूला–ठूला रुख भएका कारण धेरै चिउरी टिप्न सकेनौँ । यस बर्ष सात बोरा मात्रै चिउरीको फल टिपेका थियौँ’, हिमालले भने– ‘त्यही फल पेल्दा आठ धार्नी जति तेल पर्ने अनुमान छ ।’ तेलबाट दशै र तिहारका लागि रोटी पकाउनका साथै केही तेल बिक्री गर्ने बताए । मौलाकोटकै स्थानीय गंगाबहादुर थापाले पनि चाडपर्वका लागि चिउरीको तेल पेलिसकेका छन् । सानो परिवारसँगै उमेरले नसक्ने भएका कारण आफूले चाडपर्वमा रोटी पकाउने र घरमा खानका लागि मात्रै चिउरीको तेल पेलेको गंगाबहादुरले बताए ।
‘चिउरीको फल टिप्नलाई जंगल जानुपर्छ । तर उमेरले नसक्ने भएकाले फल टिप्नलाई रुख चढ्न सकिँदैन । खसेका फलहरु मात्रै टिप्ने हो’, गंगाबहादुरले भने– ‘त्यसैले चाडपर्वमा रोटी बनाउनका लागि मात्रै भए पनि चिउरीको तेल पेलेर राखेका छौँ ।’ उनले सकेजति धेरै तेल बनाएर बिक्री समेत गर्ने गरेको बताए । तर जंगल गएर फल टिप्नुपर्ने, घर ल्याएर कुटेर र कोलमा पेलेर तेल निकाल्दा मेहनत धेरै लाग्ने भएका कारण पहिलेको तुलनामा धेरै मानिसहरुले चिउरीको तेल पेल्न छोडेको उनी बताउँछन् ।
चिउरीको तेल स्वास्थ्यका लागि फाइदासँगै पकाएका रोटीहरु बास्ना आउने भएकाले मौलाकोटका अधिकांश स्थानीयले दशै तथा तिहारका अवसरमा चिउरीको तेल पेल्ने गरेको गंगाबहादुर बताउँछन् । ‘अन्य समयमा तोरीको तेलले काम चलाए पनि चाडपर्वमा चिउरीको तेल खाने गर्दछन्’, उनले भने– ‘जसले गर्दा आजभोलि कहिलेकाहीँ तेल पेल्नलाई समेत पालो कर्नुपर्छ ।’
अधिकांश स्थानीयले चाडपर्वमा घरका लागि चिउरीको तेल पेल्ने गरे पनि ठूलो परिवार हुने र मेहनत गर्ने परिवारले चिउरीको तेल बेचेर राम्रो आम्दानी समेत गर्ने गरेका छन् । तर पछिल्लो समय बजारमा पाइने अन्य तेलका कारण धेरै मानिसहरुले चिउरीको तेल पेल्न छोडेको उनी बताउँछन् । जसको मुख्य कारण चिउरीको तेल पेल्नलाई धेरै दुःख छ । ‘चिउरीको तेल पेल्नलाई धेरै मेहनत गर्नुपर्छ । तर मानिसहरु सुविधा खोज्छन्’, उनले भने– ‘जसले गर्दा घर नजिकै भएको जंगलका फलहरु खेर जान्छन् । यहाँबाट मानिसहरु एक घण्टा हिँडेर बजार गएर तेल ल्याएर खाने गर्दछन् ।’
मौलाकोटसँगै बुढाकोट, लापेलगायतका घोराही उपमहानगरपालिकाका पहाडी क्षेत्रका विभिन्न स्थानका स्थानीयले बर्षेनी जंगलबाट चिउरीको फल ल्याएर तेल पेल्ने गरेका छन् । स्थानीयका अनुसार चिउरी चैतको अन्तिमतिर फूल खेल्न थाल्छ । चैत महिनामा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ । त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ ।
त्यसपछि तेल पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन ढिकीमा कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ । आगोमा पकाएर नरम बनाएपछि त्यसलाई काठको कोलमा हालेर पेलेर तेल निकाल्ने गरिँदै आएको माधव केसीले बताए । तेल पेल्नका लागि आधुनिक कोल नहुँदा स्थानीयले परम्परागतरुपमा बनाएको काठको कोलबाट पेल्ने गर्दै आएका छन् ।
तस्वीरहरु : माधव केसी