असोज १७, दाङ ।
श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दद्यान्महादेवप्रमोदया।।
आज विजया दशमीको आठौं दिन परेको छ। आज नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ।
महादेवको प्रिय महागौरीको स्वरुप अनुपम रहेको छ। महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरो रहेको छ।
महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोष हट्ने पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ। महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ।
आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। आजको दिनलाई महाअष्टमी पनि भनिन्छ। देशभरका शक्तिपीठहरूमा आज विशेष पूजाआजा हुने गर्छ।
शक्तिपीठहरूमा पशुबली दिई दुर्गा अभवानीको विशेष पूजा गरिन्छ। महाअष्टमीका दिन सबैले आ–आफ्नो परम्पराअनुसार पशुबली दिने प्रचलन छ। पशु बली नदिनेले पनि नरिवल, कुभिण्डो, केरा, घिरौँला आदिको बली दिने गर्छन।