असोज १७, काठमाडौँ ।
मनास्लु हिमालको आधार शिविरमा गएकोहिमपहिरोमा परी एकजनाको मृत्यु भएको छ । हिजो साँझ दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरोमा परी ताप्लेजुङका ३५ वर्षका दावा छिरिङ शेर्पाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । उहाँका अनुसार हिमपहिरोमा परेका चारमध्ये तीनजनाको सकुशल उद्धार गरिएको छ ।
पहिरोमा परेर बेपत्ता हुनुभएका शेर्पाको खोजी गर्दा शव फेला परेको बरालले बताउनुभयो । मृतक शेर्पाको शव हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शव परीक्षणका लागि काठमाडौँको टिचिङ अस्पताल पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।
यसअघि गत सोमवार गएको हिमपहिरोमा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।