देशका अभिकांश स्थानमा भारी वर्षा, बाढी र पहिरोको जोखिम – Kanika Khabar
Sunday, September 15Nepali News Portal

देशका अभिकांश स्थानमा भारी वर्षा, बाढी र पहिरोको जोखिम

    मा प्रकाशित

असोज २०, दाङ ।
देशका अधिकांश स्थानमा वर्षा भएसँगै नदीमा बाढी आउँने क्रम सुरु भएको छ । अहिले बर्दियाको बबई र पश्चिम राप्तीमा पानीको सतहले खतराको तह पार गरेकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले अहिले नारायणी देवघाटमा पानीको सतहले सतर्कता तह पार गरेको र जलसतह थप बढ्ने क्रममा रहेकाले आज साँझसम्म नै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अहिले विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा भारी वर्षा भइरहेको छ भने अरू प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार तुलनात्मक रुपमा प्रदेश १ र मधेस प्रदेशमा कम पानी परेको छ । तर स्थानीय वायु सक्रिय हुँदा झापाको थोरै ठाउँमा भने भारी वर्षा भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, बागमती, मधेश र प्रदेश १ का एकदुई स्थानहरूमा अत्यधिक पानी पर्ने सम्भावना छ ।

भारी वर्षा भएसँगै भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने मौसमविद् बासीको भनाइ छ ।

हाल नेपालमा दक्षिणपश्चिम बङ्गालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले वर्षा गराइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्