असोज २०, बारा ।
बाराको अमलेखगन्जमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । अमलेखगन्जस्थित ३ नम्बर पुल नजिकै ०६–००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताउनुभयो । घाइतेमध्ये केहीको उपचार हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ भने केहीको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमध्ये ९ जनाको सनाखत भएको मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ का मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका–७ का ५५ वर्षका शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानका २० वर्षका स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, ओखलढुंगाका ४५ वर्षका लालबहादुर बोगटी, गोर्खाका अम्बिका कँडेल र पर्साको विरगन्ज–१६ का सकेमप्रसाद चौरसिया रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार गाडी द्रुत गतिमा रहेको र बाटो ओरालो हुँदा तथा पानी समेत परिरहेका कारण दुर्घटनामा परेको देखिन्छ ।नारायणगढबाट पथलैयातर्फ आउँदै गरेको बसमा ५१ जना यात्रु सवार थिए । मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ ।