लगातारको वर्षाको कारण देशभरको जनजीवन प्रभावित, विभिन्न नदीमा जलसतह बढ्यो – Kanika Khabar
Sunday, September 15Nepali News Portal

लगातारको वर्षाको कारण देशभरको जनजीवन प्रभावित, विभिन्न नदीमा जलसतह बढ्यो

    मा प्रकाशित
फाइल तस्बीर

असोज २०, दाङ ।
लगातारको वर्षाको कारण देशभरको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न नदीहरूमा खतराको सतह पार गरेको छ । नारायणी नदीले खतराको सूचक पार गरेको छ । पूर्वी नवलपरासीको गण्डक बाँधमा ३ लाख क्यूसेक पानी पुगेपछि खतराको सूचक मानिन्छ । अहिले गण्डक ब्यारेजमा तीन लाख ४ सय क्यूसेक पानी बगिरहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

बाढीको उच्च जोखिम बढेको गण्डक ब्यारेजका भुआर्जन अधिकारी अमित खड्काले बताउनुभयो । पानीको बहाब बढेपछि आज बिहान १० बजे नै ब्यारेजको ३६ वटै ढोका खोलिएका थिए । पानीको सतह बढ्दोक्रममा रहेको र पानी पर्न नरोकिएकोले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा युनिटलाई तयारी अवस्थामा राखिएको र जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाइएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

यस्तै अविरल वर्षाका कारण बबई नदीमा आएको बाढीले गुलरिया—५ वालापुर डुबानमा परेको छ । बिहान साढे ११ बजेसम्म करिब ५० घर डुबानमा परिसकेको बताइएको छ । बबईमा जलस्तर बढ्दै गएपछि स्थानीयहरुले सुरक्षित स्थानमा रहेको विद्यालयमा आश्रय लिएका छन् । बबईको जलस्तर हाल ७ दशमलव ५ मिटरमाथि रहेको छ ।

बबईमा जलस्तर ६ मिटरमाथि पुगेपछि बाढीको सतर्कता नाघेको मानिन्छ ।प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बाढीसँगै कटानले गुलरियाको प्रयागपुर, वालापुर र हरियाली टोलमा कटान भइरहेको बताउनुभयो ।

यस्तै, वर्षाका कारण धनगढीका विभिन्न स्थान जलमग्न बनेका छन्।वर्षाका कारण धनगढीको मुख्य बजार, एलएन चोक तथा सडक क्षेत्र डुबानमा परेपछि डाइभर्सन गरिएको छ।अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्।वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका हुन्।
हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । केही दिनको अविरल वर्षासँगै मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको स्थानीयले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्