असोज २२, दाङ ।
आज वडादसैंको चौथो दिन अर्थात् आश्विनशुक्ल त्रयोदशी रहेको छ । आज पनि नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम जारी रहेको छ ।
नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नपाएकाहरु तेस्रो दिन दिउँसो १ बजेसम्म भने राजधानीमा आकाश खुलेकाले निर्धक्क भएर हिँड्न पाएका थिए । तेस्रो दिन शुक्रबार दिउँसो फेरि सुरु भएको वर्षाले आशीर्वाद लिन हिँड्नेहरुलाई असर परेको थियो ।
पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा कुनै बाधा नरहेको बताउनुहुन्छ ।