असोज २२, दाङ ।
नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी एमाले नेतृ गङ्गा थारु लौरो चुनाव चिह्नबाट चुनाव लड्ने भएकी छिन् । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा दाङ क्षेत्र नं. १ बाट थारु लौरो चुनाव चिह्न लिएर उम्मेदवारी दिन लागेकी हुन् ।
अहिलेसम्म औपचारिक रुपमा पार्टी परित्याग नगरेकी थारुले टिकट नपाए लगत्तै आपत्ति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् । ‘राष्ट्र र राष्ट्रियतका पक्षमा आवाज उठाएकै कारण मैले टिकट नपाएको हुँ । संसदमा होस् या संसद बाहिर पनि राष्ट्र र राष्ट्रियताका पक्षमा म निरन्तर बोलिरहेँ । देशको विकास, राष्ट्र निर्माण सदैव मेरा मुख्य एजेन्डा बने । परिणामतः आज मैले टिकट पाएनँ । तर, म देश विकासका लागि निरन्तर लागिरहने व्यक्ति हुँ । राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज उठाउन, राष्ट्रियतालाई संरक्षण गर्न म स्वतन्त्र अभियान अन्तर्गतको लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रने छु । राष्ट्रियता संरक्षण, राष्ट्रिय अस्तित्व सुरक्षित गर्नका लागि मलार्य मतदान गर्न सबैमा अपील समेत गर्दछु । कनिका खबरसँगको संवादमा थारुले बताइन् ।
अन्तिम चरणसम्म नेकपा एमालेबाट टिकट पाउने चर्चा भएकी थारुले आफूले टिकट नपाएकोप्रति आश्चर्य व्यक्त गरिन् । उनले भनिन्, ‘पार्टीले टिकट दिने कुरा लगभग फिक्स भइसकेको थियो तर मेरो टिकट कुन शक्तिले खोस्यो म आफै आश्चर्यमा परेकी छु ।’