देउखुरीमा बाढीले अर्बाैँकाे क्षति गरेकाे नागरिक समाजकाे प्रारम्भिक ठहर – Kanika Khabar
Sunday, September 15Nepali News Portal

देउखुरीमा बाढीले अर्बाैँकाे क्षति गरेकाे नागरिक समाजकाे प्रारम्भिक ठहर

    मा प्रकाशित

घोराही, २५ असोज । वर्षापछि आएकाे बाढीले देउखुरीका चार पालिकामा ठूलो मात्रामा भौतिक क्षति गरेकाे नागरिक समाज दाङले ठहर गरेको छ । वर्षाका कारण घर र खेतबारीमा बाढी पस्दा क्षति भएको ५ दिन बितिसक्दा पनि स्थानीय पालिकाले अहिलेसम्म पीडितको लगत संकलन गर्न नसकेको हुँदा उद्धारपछिको राहत सहयोगमा पनि ढिलाई भएको पाईएको समाजले जनाएको छ । बाढीका कारण भएको क्षति बारे स्थलगत रुपमा पीडितका आवाज सुन्न र यथार्थ बस्तुस्थिति बारे जानकारी लिन मंगलबार समाजका जिल्ला संयोजक केबी मसालको नेतृत्वमा देउखुरीका चार वटै पालिकामा पुगेको टोलीले ठूलो मात्रामा भौतिक क्षति व्यहोरेकाे ठहर गरेको हो । समाजका अनुसार, देउखुरीमा मात्रै १० हजारभन्दा बढी नागरिक प्रभावित हुनुका साथै अर्बौको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । असाेजकाे १९, २० र २१ गतेकाे वर्षापछि आएकाे बाढीले जिल्लाको लमही, राजपुर, गढवा र राप्ती गाउँपालिकाका विभिन्न वडामा गरेकाे क्षति बारे जानकारी लिन पुगेकाे टाेलीले पालिका स्तरबाट भईरहेको पछिल्लो प्रयासका बारेमा पनि समाजले चासो लिएको थियो । सो अवसरमा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति यादवले पालिका स्तरमा लगत संकलनका काम भईरहेको बताउनुभयो । उहाँले केही सामाजिक संघसंस्थाको पहलमा अति आवश्यक भएकाहरुलाई केही सहयोग गर्नु बाहेक थप सहयोग गर्न नसकेको हुँदा माथिल्लो तहबाट सहयोगको अपेक्षा गर्नुभयो । उहाँका अनुसार, बाढीबाट बढी मात्रा प्रभावित भएकाहरु पालिकाको पहलमा सामुदायिक विद्यालयमा स्थानान्तरण गरिएका छन् ।
तत्काल खाने बस्ने व्यवस्था पालिकाले मिलाएको बताउँदै उहाँले गंगदी र जंग्रहवा स्कुलमा बाढी पीडितलाई बसालिएको बताउनुभयो । राजपुरमा ६ सय घरपरिवार प्रत्यक्ष प्रभावित भएको जानकारी गराउँदै उहाँले उद्धारपछिको राहत वितरण गर्ने श्रोतको समस्या भएको बताउनुभयो ।
यस्तै, गढवा गाउँपालिकाको वडा नम्बर २ र ५ का स्थानीय पनि बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । सो वडाका नागरिकको बस्ने खाने समेत समस्या भएपछि तत्कालका लागि सामुहिक मेस चलाएको गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले बताउनुभयो । उहाँका अनुसार लोखरपुरुवाका ९५ जना, महदेवा र डाँडागाउँमा २ सय जनालाई मेस चलाएर खाने व्यवस्था मिलाएको बताउनुभयो । यस्तै, बाढीका कारण नमुना प्रावि पचहिया र प्रावि महदेवाको भौतिक संरचना पूर्ण रुपमा क्षति भएकाले पठनपाठन कसरी संचालन गर्ने भन्ने समस्या थपिएको बताउनुभयो ।
सबै वडा बाढीबाट प्रभावित भएपनि कति घरपरिवार प्रभावित भएका छन् भन्ने बारे यकिन विवरण संकलन भई नसकेको भएपनि ठूलो मात्रामा सहयोग आवश्यक पर्ने हुँदा पालिका एक्लैले धान्न नसक्ने उहाँले बताउनुभयो । धान बालीमा भएको नोक्सानी बारे लगत लिन कृषि शाखाले काम अघि बढाएको तथा पशुपंक्षीको क्षति बारे पशु शाखाले काम अघि बढाएको हुँदा क्षतिको यकिन विवरण संकलनमा ढिलाई भएको बताउनुभयो । प्रारम्भिक जानकारी अनुसार ठूला क्षतिको अुनमान गरिएकाले प्रदेश र संघ सरकार, सहयोगी दाताको अपेक्षा गरेको बताउनुभयो ।

लमही नगरपालिकाको विभिन्न वडामा पुगेर बाढीले पारेको प्रभाव बारे जानकारी लिनुका साथै उद्धार र राहतमा अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी लिईएको थियो । सो अवसरमा, लमही नगरपालिका वडा नम्बर ७ हसनापुरका सत्यनारायण चौधरीले गाउँमा बाढी पस्दा ठुलो क्षति भएको बताउनुभयो । उहाँले काट्नका लागि तयार भएको करीव २० विगाहाभन्दा बढी धान काट्न नमिल्ने भएको छ । सो गाउँका गणेशराम चौधरी, लिला श्रेष्ठ, जयप्रकाश चौधरी, हरिप्रसाद चौधरी, रामबीर चौधरीलगायतको घरमा बाढी पस्दा भत्किएको छ ।
सो पालिकाको वडा नम्बर ८ सतबरीयाका छेदिराम चौधरीको घर डुब्दा सबै क्षति भएको छ । वर्षापछि आएको बाढीले घरमा रहेका सबै बगाएको लग्नुका साथै खानेकुरा पनि नभएपछि छिमेकीले दिएको चाउचाउ, बिस्कुट खाएर बस्नु परेको उहाँले बताउनुभयो ।
गंगाराम चौधरीले २०१८ सालपछिको ठूलो बाढी आएको बताउनुभयो । आफ्नो जीवन कालमा यति ठूलो बाढी पहिलो पटक देखेको बताउनुभयो ।
राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदीकी रानु चौधरीले पनि आफ्नो कच्ची घरमा बाढी पसेपछि केही बचाउन नसकेको बताउनुभयो । धानले भरिएको डेहरी फुटेर धान बगाईदिएको, खानेकुरा लगायत केही नबचेपछि अहिले विद्यालयमा आएर पालिकाको हरण लिएको बताउनुभयो ।
यस्तै, गढवा गाउँपालिका वडा नम्बर २ महदेवाका रामगोपाल चौधरीले घरमा भएको अन्न लत्ता कपडा मात्रै नभई खोरमा बाँधिएका चौपाया समेत बगाएर लगिदिएको बताउनुभयो । अहिले उहाँको खोर रित्तै छ ।
बाढीले पुर्याएको क्षतिको अवस्था बारे जानकारी लिँदै नागरिक समाजले स्थानीय सरकारलाई पीडितहरुको पीडामा मलम लगाउने काममा ढिलाई नगर्न सचेत गराएको छ ।

यस्तै, स्थानीय पालिकालाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर व्यवस्थित बस्ती विकासको काममा जुट्न अपिल पनि गरेको छ ।
स्थगलगत अनुगमनमा नागरिक समाजका देउखुरी संयोजक निमबहादुर थापा, देउखुरी सचिव बालमुकुन्द शर्मा यस्तै, जिल्लाका सदस्यहरु हरिप्रसाद पाण्डेय, पद्मप्रसाद शर्मा, छबिलाल कोपिला, दामोदर भण्डारी जानुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्