असोज २८, काठमाडौँ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
पोखराको गोस्टेघाट खेल मैदानमा आज आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको हो ।आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गर्नुभयो ।
लुम्बिनीका चेतन थारुले एक गोल फर्काउनुभयो । महिला फुटबलमा भने गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । स्याङ्जाको वालिङमा जारी प्रतियोगिता अन्तर्गत आज गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।