कनिका डेस्क
असोज ३०, दाङ ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति आउन अब ३५ मात्र बाँकी छ । १ महिना ५ दिन मात्र समय रहेको बेला चुनावी गतिविधि तथा प्रचार प्रसार बाक्लिदै जान थालेको छ । उम्मेदवारहरुको चुनावी सभा तथा घरदैलो कार्यक्रमले पनि तीव्र रुप लिइरहेको छ ।
केही नयाँ अनुहार त बढी पुरानै अनुहार फेरि चुनावी मैदानमा उत्रिएका छन् । एकातिर सत्तारुढ गठबन्धन अर्कोतर्फ प्रतिपक्षी नेकपा एमालेसहितका अन्य दलहरुको गठबन्धनका उम्मेदवार चुनावी रेसमा छन् । सत्तारुढ दलको गठबन्धन देशव्यापी रुपमा रहेको छ । यद्यपि केही स्थानमा बागी उम्मेदवारको चुनौति पनि सत्तारुढ दलले खेप्नुपर्ने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आवश्यकता बमोजिम गठबन्धन गरेको छ । त्यसो त एमालेलेभित्र पनि विवाद नभएको होइन, कतिपय ‘हेभी वेट’ का नेतालाई समेत टिकट नदिदा पार्टीभित्र बढेको तिक्ततालाई खेप्न एमालेका लागि पनि त्यति सहज भने छैन ।
अहिले मुलुक दुई संविधासभाको निर्वाचनसहित आठौं संसदीय निर्वाचनमा होमिएको छ । २०१५, २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ का निर्वाचन सम्पन्न गरिसकेको मुलुक यतिबेला दुई संविधासभाको निर्वाचनसहित आठौँ संसदीय दलको निर्वाचनको सँघारमा रहेको छ । २०१५ पछिका निर्वाचन नेपालमा बहुदलीय शासन व्यवस्थाको प्रारम्भपश्चात भएका विनर्वाचन हुन् । २०६४ बाटका निर्वाचन नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र लागू भएपछिका निर्वाचन हुन् । २०४८ देखिका निर्वाचनलाई हेर्ने हो भने दल र उम्मेदवारको चुनावी शैलीमा त्यति धेरै भिन्नता पाइँदैन । साल फेरिएका छन्, निर्वाचन मिति फरक छन्, केही उम्मेदवार फरक छन्, केही नारा परिमार्जन भए तर चुनावी शैलीमा भने परिवर्तन आउन सकेन ।
गालीगलौज र आरोप प्रत्यारोप
राजनीतिक दल तथा उम्मेदवारहरुले राखेका चुनावी सभा तथा कोणसभामा कुनै नवीनपन भने पाइँदैन । प्रायः प्रचारप्रसार अवधिभर उम्मेदवारहरुले गर्ने भाषण एकै प्रकारको हुन्छ । अब त जनताले पनि सजिलै आँकलन गर्न सक्ने भइसकेका छन् कुन नेता तथा उम्मेदवारको भाषण कस्तो हुन्छ, के बोलिन्छ र के भनिन्छ ? आफ्नो उम्मेदवारी किन र के का लागि भन्ने भन्दा बढी एक दलले विपक्षी दललाई गाली गलौज गर्ने तथा आरोप प्रत्यारोप गर्ने भन्दा अर्को कुनै नवीन शैली भने पाइदैन । समय, सन्दर्भ र शासन व्यवस्थामा आएको परिवर्तनका कारण भाषणमा केही शब्द, शब्दावली तथा एजेन्डा फेरिएका होलान् त्यो भन्दा बढी केही परिवर्तन भने पाइदैन । आफूले गर्ने काम, आफ्ना योजना र एजेन्डाका कारण आफूलाई ‘बोल्ड’ उम्मेदवारमा दर्ज गर्नुभन्दा विपक्षी उम्मेदवार र दललाई सत्तोसराप गरेर आफूलाई अब्बल उम्मेदवार बनाउने रोग नेता तथा उम्मेदवारमा कायमै रहेको पाइन्छ । विपक्षीलाई गाली गर्दा बज्ने आफन्तीका तालीले आफू बलियो भइँदैन, आफ्ना योजना एजेन्डाले विपक्षीलाई आकर्षण गर्दा आफू बलियो भइन्छ भन्ने सोचलाई उम्मेदवारहरुले कार्यान्वयन गर्न जरुरी छ । चुनावी गतिविधिमा देखिएको यो आरोप प्रत्यारोप र गालीगलौजको शैली कहिलेसम्म ? उम्मेदवारहरुले एक अर्कालाई गरेको गाली जनताले कहिलेसम्म सुनिदिने ? यो सोचनीय कुरा हो ।
परिवर्तनका नाममा उदाएका स्वतन्त्र, निर्वाचन शैली उस्तै
स्थानीय निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवारहरुले केही स्थानमा विजय प्र्राप्त गरेपछि बढेको स्वतन्त्रको ‘क्रेज’ लाई ‘क्याच’ गर्न अहिले देशव्यापि रुपमा ठूलो लहर छ । देशभर प्रतिनिधिसभा निर्वाचनका लागि ९४३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यो सङ्ख्या स्वतन्त्रका नाममा सूचिकृत भएका दलहरुबाहेकको हो । स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुको सङ्ख्या सबैभन्दा बढी भएको निर्वाचन आयोगले बताएको छ । राजनीतिक दलबाट परिवर्तन भएन, अब परिवर्तन आवश्यक छ भन्ने मनसायका साथ उदाएका स्वतन्त्र उम्मेदवारहरुको शैली पनि राजनीतिक दलकै उम्मेदवारभन्दा फरक हुन सकेको छैन । राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा जनताका साथमा रहँदा विपक्षी दलहरुलाई आरोप लगाउने गर्छन् भने स्वतन्त्र उम्मेदवारहरु सबै राजनीतिक दललाई गाली गलौज तथा विकासमा आएको गतिरोध, जनताका समस्या, राष्ट्रिय अफ्ठ्याराको आरोप लगाउँदछन् । अर्कोलाई गाली नगरी, आरोप नलगाई आफू ठिक सावित भइँदैन, जनताबाट अनुमोदित भइँदैन भन्ने मानसिकताबाट स्वतन्त्र उम्मेदवारहरु पनि अछुतो रहन सकेका छैनन् । स्वतन्त्र उम्मेदवारको यो शैलीले पनि मतदाता अलमलमा परेका छन् । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको चुनावी शैलीमा फरक नपाइनुका कारण पनि जनतामा त्यस्तो आशा जाग्न सकेको छैन ।
जनतालाई विकासको ‘ललिपप’
चुनावी प्रचार प्रसार र गतिविधिमा मात्र विकासका नारा बोकेर गाउँ जाने राजनीतिक प्रवृत्ति यसपालि पनि उत्तिकै बाक्लो रुपमा देखिएको छ । निर्वाचनपश्चात चुनाव जितेका र हारेक दुबै पक्ष उम्मेदवार जनतासँग बढेको दूरी घटाउन चुनावका बेला मरिमेटेका हुन्छन् । उम्मेदवपारलाई जनताका सामु पुग्ने सजिलो अस्त्र भनेको विकासे एजेन्डा हुन् । विकासका ‘ललिपप’ लगेर आश्वासनको राजनीति गर्ने दलीय प्रवृत्तिमा कुनै परिवर्तन भने आउन सकेको छैन । वर्षाैँसम्म विकास कुरेर पर्खेका बाटोघाटो, विद्युत, सिंचाइ, यातायात चुनाका बेला पुनः राजनीतिक दलका लागि बलिया एजेन्डा बनेका छन् । अझ सुकुम्वासीका लागि जग्गा धनी पुर्जाको आश्वासन निकै मिठो ‘ललिपप’ बन्ने गरेको छ । चाहे चुनावी मैदानमा देखिएका पुराना अनुहार होऊन् चाहे नयाँ अनुहार यी एजेन्डाभन्दा माथि उठ्न सकेका छैनन् ।
सर्तको राजनीति
चुनावका बेला उम्मेदवार तथा राजनीतिक दलहरुले जनतासँग सर्त राख्ने क्रम निरन्तर चल्दै आएको छ । चुनावको सँघारमा आएर गरिने विकासे काम पनि त्यत्तिकै बढ्दै गएको पाइन्छ । चाहे ससाना विकासका काम गरिदिएर जनतालाई आश्वासन दिने, अब त केही गर्छन् कि भन्ने भ्रम पाल्ने प्रवृत्तिबाट चुनावी शैली माथि उठ्न सकेको छैन । कहीँ केही विकासको आवश्यक रहेछ भने आफूलाई जिताए यो काम पक्कै गरिदिने प्रतिवद्धता व्यक्त गर्ने पुरानो शैली अझै उही रुपमा प्रचलनमा रहेको छ । कहीँ कतै सामान्य विकासका लागि पनि जनताले चुनाव कुरेर बस्नुपर्ने बाध्यता अद्यापि छँदै छ । प्रतिवद्धता, प्रतीज्ञामै चुनावी गतिविधि अगाडि बढिरहेका छन् । जिताउने र विकास गरिदिने सर्तको राजनीति, सर्तको चुनावी गतिविधिबाट जनता अझै मुक्त हुन सकेका छैनन् ।
प्रविधिको प्रयोग
चुनावी शैलीमा थपिएको नयाँ शैली हो – प्रविधिको प्रयोग । सामाजिक सञ्जालको प्रयोगसँगै चुनावी शैलीलाई पनि प्रविधिमैत्री बनाउन थालिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फतको प्रचारलाईलाई तीव्रता दिएका छन् । आआफ्नो निर्वाचन क्षेत्रको घरदैलो तथा सभा समारोहमा सहभागी हुने क्रम नरोकिए पनि सामाजिक सञ्जालबाट मतदातासम्म पुग्ने अभियान गत वैशाखको अन्तिममा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यसपाली बढ्ने देखिएको छ । फेसबुक, टिकटक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा उम्मेदवारहरूले आफ्नो एजेण्डा प्रस्तुत गर्ने, आफूलाई भोट दिन अनुरोध गर्ने तथा भोट माग्न कता जान लागेको भन्ने बारेमा जानकारी दिन थालेका विभिन्न सामग्री देख्न सकिन्छ ।
हरेक निर्वाचनमा नेपाली जनता र उम्मेदवारका बिच यस्तै लुकामारी चल्दै आएको छ , उम्मेदवारको चुनावी प्रचार प्रसारको शैलीमा कुनै परिवर्तन आउन सकेको छैन । आश्ववासन र प्रतिवद्धता चल्दै आएको चुनावी गतिविधि र राजनीतिले देश र जनताको भविष्यलाई कुन विन्दुमा उभ्याउने हो भन्ने विषय दिनानुदिन संवेदनशील बन्दै आएको छ ।