कार्तिक ७, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताउनुभएको छ ।
हरेक सफल क्रान्तिपछिका १०–१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा जनताको आर्थिक अवस्था र सुशासन दिन नसक्नु प्रमुख कारण रहेको उहाँको भनाइ रहेको थियो । अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको भन्दै राजनीतिक दलहरूले जनताका एजेन्डालाई प्रमुख बनाउन नसक्दा सुशासन कायम हुन नसकेको धारणा राख्नुभयो ।
ठूला परिवर्तन भएको १०÷१५ वर्षपछि राजनीतिक परिवर्तन र राजनीतिक एजेण्डाहरू बिस्तारै कमजोर हुँदै जाने खतरा देखा पर्दै आएको प्रचण्डको भनाइ रहेको थियो । अहिले पनि एकथरी मानिसहरूले राजनीतिक दल र नेताहरूलाई गाली गर्दै आइरहेको भन्दै उनीहरू देशलाई पुनः अन्धकारको सुरुङतिर लैजान लागिपरेको प्रचण्डको भनाइ रहेको थियो ।
राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन एवं सुशासनको प्रत्याभूति जनतालाई दिलाउन नसक्नुले देश अस्थिरतामा गइरहेको जिकिर उहाँको थियो ।