कार्तिक ७, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न नसकिने बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिले दीपावली, नेपाल संवद तथा छठ पर्वका अवसरमा सोमबार काठमाडौँमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतन्त्रको विकास र सुदृढीकरणका लागि स्वतन्त्र र निष्पक्ष सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहने बताए ।
देउवाले प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि गठबन्धन दलहरु पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै आवधिक निर्वाचनले जनतालाई राज्य शक्तिको केन्द्रमा पुर्याउने उल्लेख गरे । आगामी मङ्सिर ४ गते हुने निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले सुशासन, स्थिरता र संविधानको रक्षाका लागि सत्तारुढ दलहरुको गठबन्धन बनेको बताए । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आगामी निर्वाचनले संविधानको चिरहरण गर्ने प्रतिगामीहरुलाई अग्रगामी शक्तिहरुले पाखा लगाउने दाबी गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिहर विरही, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नागरिकका हक र अधिकार रक्षाका लागि प्रेस स्वतन्त्रता अनिवार्य रहेकोमा जोड दिंदै आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको जित आवश्यक रहेको औंल्याए । उनीहरुले लोकतन्त्र र संविधानको रक्षाका पक्षमा कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गरे । कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, युनियनका महासचिब दिलिप पौडेलले आफ्नो भनाइ राखेका थिए ।