काठमाडौँ, ८ कार्तिक ।
आइतवार बिहानसम्म नेपाली काँग्रेसले साँझ ५ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने तय थियो । तर साँझमा एकाएक कार्यक्रम स्थगित गरेर सोमवार बिहान साढे १० बजेका लागि सा¥यो । तर सोमवार बिहान घोषणापत्र सार्वजनिक कार्यक्रम तिहारपछिका लागि सरेको विज्ञप्ती आएको थियो ।
नेकपा एमालेले पनि आइतवार वा सोमवार सार्वजनिक गर्ने बताए पनि आइतवार साँझ भने नेताहरूले तिहारपछि मात्र घोषणापत्र ल्याउने सूचना सञ्चार माध्यमहरुलाई दिएको थियो ।
काँग्रेसले आइतवार नै घोषणापत्र सार्वजनिक गर्ने तयारी पूरा गरेको थियो । तर काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराउनुभयो । अब ढिलोमा १२ गतेसम्म सार्वजनिक गर्ने घोषणापत्र लेखन समिति सदस्य सहमहामन्त्री जीवन परियारको भनाइ छ ।
एमाले नेताहरुका अनुसार घोषणापत्रबारे प्राप्त सुझावहरू अझै अध्ययनकै क्रममा छन् । धेरै सुझाव आएकाले घोषणापत्र सार्वजनिक गर्नमा ढिलाइ हुन गएको प्रष्टीकरण दिइरहेका छन् ।
नेताहरूका अनुसार २९ असोजमै एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रलाई अन्तिम रुप दिनुभएको थियो । तर त्यसपछि आएका सुझावलाई पनि समेट्न खोजिएको नेताहरूको भनाइ छ ।
नेकपा माओवादी केन्द्र पनि काँग्रेस र एमालेको घोषणापत्र कहिले आउँछ भनेर पर्खिरहेको छ । उनीहरूको घोषणापत्र सार्वजनिक भएपछि जनस्तरबाट आउने टिप्पणीलाई समेत नियालेर आफ्नो घोषणापत्र ल्याउने तयारी माओवादी केन्द्रको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घोषणापत्र लेखन समितिका सदस्यहरूले नै यहि सुझाव दिएको स्वयम् नेताहरू बताउँछन् । गठबन्धन गरेपछि बहुमत ल्याएर सरकार बनाए के गर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको गठबन्धन दुवैै मौन छन् ।