दाङ, १०, कार्तिक ।
आज तिहारको मुख्य दिनभाइटिका मनाईएको छ । दिदि बहिनीले आफ्ना दाजुभाईलाई सप्तरङ्गी टीका लगाएर भाइटिका मनाईएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको भएपनि अहिले पनि भाइटिका चलिरहेको छ । आआफ्नो समयको अनुकुलतामा मानिसहरूले टीका लगाएका छन् ।
माइतीतर्फ जुठो परेकाले यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले भने भाइटिका नलगाउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस वर्षको भाइटिका ग्रहण गर्नुभएन ।
भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटिका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिदीबहिनीको हाताबाट भाइटीका लगाउनुभएको छ । भक्तपुरको बालकोटस्थित निवासमा ११ बजेर ३७ मिनेटको साइतमा ओलीलाई विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेल भाइटीका लगाइदिएका हुन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि भाइटिका लगाउनुभएको छ । टीका ग्रहणपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले भाइटिकाले संयुक्त परिवारमा उल्लास थपेको प्रतिक्रिया दिनुभएको छ ।
काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भने दाजु भाइ तथा दिदि बहिनी नहुनेहरू पुगेर भाइटिका लगाउने तथा पूज ागर्ने गरेका छन् । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने चलन रहेको छ । यो मन्दिर हरेक वर्ष भाइटिकाको दिन मात्र खुल्ने गरेको छ ।