काठमाडौँ, १२ कार्तिक ।
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारविरुद्ध सामाजिक सञ्जालबाट सङ्गठित रुपमा मिथ्या सूचना र दुष्प्रचार गर्न नपाइने बताएको छ ।आयोगले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा भइरहेको गतिविधिको अनुगमन गरिरहेको बताएको हो ।
आयोगले सर्वसाधारण मतदाताले आफ्ना सामाजिक सञ्जालबाट दल र उम्मेदवारका पक्ष वाविपक्षमा अभिव्यक्ति दिन पाउने तर सङ्गठित रुपमा दुष्प्रचार गर्न नपाइने स्पष्ट पारेको छ ।
सङ्गठित रूपबाट सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्ताबाट फेसबुक पेज र गु्रपहरूबाट दल तथा उम्मेदवारहरूका विषयमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति श्रव्यदृश्य सामग्री प्रकाशन गर्नु अन्तर्राष्ट्रिय मूल्य, मान्यता, प्रचलित कानून र निर्वाचन आचारसंहिता प्रतिकूल रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उहाँका अनुसार आयोगले पहिचान नखुलेका निहित राजनीतिक उद्देश्यबाट प्रेरित भई निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने पेजहरू सञ्चालन नगर्न तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा ध्यान दिन भनेको हो ।
आयोगले सामाजिक सदाचारमा खलल पार्न सक्ने, भेदभाव र दुरुत्साहनलाई प्रोत्साहन गर्ने, एक अर्कालाई गाली बेइज्जती गर्ने, सामाजिक र सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमका शब्द, शैलीलाई मात्र निरुत्साहित गर्न खोजिएको स्पष्टीकरण दिएको छ ।