दाङ, २१ कार्तिक ।
सिंगो परिवारमा ‘बिपी सिद्धान्त’ प्रेरित राजनीतिक छलफल चल्थे । जिल्लामा कांग्रेसको संगठनलाई कसरी मजबुत बनाउने भन्ने पारिवारीक चिन्तनले ‘बाल्य मानसपटल’ मा पनि ‘कांग्रेस चिन्तन’ को छाप बस्दै जान थाल्यो । मुलुकको सर्वांगिण बिकासको ‘पर्याय’ कांग्रेस मात्रै हो भन्ने निष्कर्षमा पुगेको त्यो बेलाको ‘बाल्य संकल्प’ अन्ततः पारिवारीक राजनीतिक यात्राको मार्गमा कुद्न सफल भयो , ‘अबिराम’ राजनीतिक यात्रामा रहने अठोटमा पुग्यो ।
त्यहि अठोटले अहिले उनलाई जनप्रतिनिधि बनेर नागरिकको सेवक बन्ने दौडमा कुदाईरहेको छ । प्रचण्ड विक्रम न्यौपाने ‘गुन्टु’ । स्कुले जीवनमा अध्ययनसंगै राजनीति प्रति पलाएको अधिक मोहले जसलाई ‘काबिल’ कांग्रेसी बनायो । अनि यहि कांग्रेसको मार्गले अहिले प्रदेशसभा सदस्य बन्ने सम्भावनाको नजिक पुर्याईदिएको छ । गुन्टु दाङ २ ख बाट प्रदेशसभा सदस्यका लागि भिडेका छन् । यो क्षेत्रमा अघिल्लो निर्वाचनमा गुन्टुका बाबु भरतबहादुर न्यौपाने प्रदेशसभा सदस्यका लागि भिडेका थिए ।
२०१५ को पहिलो संसदीय निर्वाचन । जुन निर्वाचनबाट निर्वाचित भएर महामानव बिपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । त्यहि बेलाको निर्वाचनमा दाङका जुद्धबहादुर न्यौपानेले पनि चुनाव जिते । नेपालका पहिलो जननिर्वाचित मध्यका एक सांसद न्यौपाने २०५० सालमा पुनः राष्ट्रियसभा सदस्य निर्वाचित हुँदा उनका नाती प्रचण्ड बिक्रम न्यौपाने स्कुल पढ्थे । बाजेको राजनीति प्रतिको लगाव/लगानीले गुन्टुका बाबु भरतबहादुर न्यौपानेलाई पनि कांग्रेस राजनीतिप्रति पुरापुर प्रेरित गरिसकेको थियो ।
बाजे कांग्रेसका पुराना नेता तथा सांसद, बाबु भरतबहादुर कांग्रेसका क्षेत्रीय सभापति अनि जिल्ला विकास समितिको सदस्य । गुन्टुको परिवारीक वातावरण कांग्रेसमय बन्थ्यो । घरमा चल्ने कांग्रेस राजनीति र नागरिकलाई प्रदान गरिनु पर्ने मौलिक अधिकारका दिनहुँका बहस सुन्थे स्कुले बालक गुन्टुले । अनि राजनीति प्रतिको चरम उत्साहले उत्तेजित बनाउँथ्यो ।
‘पारिवारमा पुरै राजनीतिक वातावरण बन्यो,’ उनी सम्झन्छन् ‘मलाई पनि घरमा चल्ने राजनीतिक बहस, छलफलले राजनीति प्रतिको मोह बढाउँदै लग्यो ।’ राजनीति प्रतिको मोहले गुन्टुलाई नेपाल विद्यार्थी संघको ईकाईमा रहेर काम गर्ने ईच्छा जाग्यो । उनी स्कुल पढ्दा विद्यालयको नेविसंघको इकाई समितिको अध्यक्ष बनेर राजनीतिक मार्गमा औपचारिक रुपमा पहिलो पाईला टेके । नेविसंघको इकाईको अध्यक्षको जिम्मेवारी । कांग्रेस निर्माणका लागि ‘खम्बा’ बन्नु पर्छ भन्ने उत्साहप्रद भाषणले गुन्टुलाई लाग्दै गयो ‘अब जीवनलाई राजनीतिमै समर्पण गर्नु पर्छ ।’
बाबु÷बाजेबाट विपीको सिद्धान्त पढेका र सुनेका गुन्टु अब नेविसंघको संगठन निर्माणका क्रममा विपीको सिद्धान्त सुनाउने जिम्मेवारीमा थिए । ‘कसरी नेविसंघलाई संगठित र मजबुत बनाउनु पर्छ भन्ने थियो,’ उनले भने ‘बिपीका सिद्धान्तलाई अनुशरण गरेका हामीहरु उहाँकै सिद्धान्त अगाडी सारेर युवा पुस्तालाई संगठन प्रति आकर्षित गथ्र्यौँ ।’ यो बेला उनी पटक पटक विद्यार्थीसंघको क्षेत्रीय प्रतिनिधि चयन पनि भए ।
स्कुले जीवन पछि उच्च शिक्षा अध्ययनका लागि उनि काठमाडौँ हानिए । उनका लागि काठमाडौँ यात्राको लक्ष अध्ययन त थियो नै, त्यससंगै कांग्रेसको राजनीति पढ्नु र अझै सिक्नु पनि थियो । गुन्टुले बुझेका थिए ‘काठमाडौँ त्यो शहर हो, जहाँ नेविसंघका आईडल गगन थापाहरु छन् ।’
थापाहरुको राजनीतिक शहरमा पसेर आफूलाई कांग्रेस राजनीतिमा स्थापित हुने अभिलाषाले गुन्टुलाई काठमाडौँका गल्ली गल्लीबाट राजनीतिक शिक्षा आर्जन गर्नु पनि थियो । काठमाडौँ आईएको अध्ययन पुरा गर्दा सम्म उनी नेविसंघको राजनीतिका सहयात्री बने ।
तर यो एक बर्षको अवधिले उनलाई राजनीतिक अध्ययन गराईसकेको थियो, जहाँ उनी यो अध्ययनमा पनि पास हुने ल्याकत राख्थे । बिए पढ्नका लागि उनी त्रिचन्द्र क्याम्पस हानिए । अनि यो कलेजको स्ववियुको सदस्यका लागि भिडे । जिते पनि । यो उनका लागि राजनीतिको अर्को महत्वपूर्ण ईनिङ थियो ।
‘स्ववियु सदस्य निर्वाचित भएपछि मैले आफूलाई मेरो राजनीतिक यात्राको महत्वपूर्ण सफलताको सूचक ठानेँ,’ उनी भन्छन् ‘यसले मलाई राजनीति प्रति थप प्रेरित गर्यो ।’ स्ववियु सदस्यका रुपमा गगनहरुको शहरमा राजनीतिक पाईला टेकेका उनले ०६० मा झन ठूलो सफलता हात पारे ।
नेपाली कांग्रेस प्रतिको प्रतिवद्धता र सबल नेविसंघ निर्माणका लागि उनले गरेको अथक मेहनतको प्रतिफल आफूलाई स्ववियु सचिवको हैसियतामा पुर्याएका गुन्टु अब नेतृत्वमा बसेर संगठनलाई चलायमान गराउन सक्ने हैसियत राख्थे । फलतः ०६२ मा उनी स्ववियुको सभापतिको उम्मेदवार बने । तर यो निर्वाचन उनी अनुकुलको भैदिएन ।
स्ववियू सभापतिमा भोग्नु परेको पराजयले उनलाई थकाएन, गलाएन । ‘यो मेरा लागि राजनीतिमा अझ बढि मेहनत र कृयाशिल हुनुपर्छ भन्ने पाठ थियो,’ उनी सम्झन्छन् ‘मैले सिके,पढेँ तर निराश भएन,मैदान छोडेन ।’ फलतः उनी यो क्याम्पसको नेविसंघको सभापति बने । ०६२ देखि ०६५ सम्म त्रिचन्द्रको नेविसंघ सभापति बनेका गुन्टुको राजनीतिक यात्रमा त्यसयता कतै पूर्णबिराम लागेन ।
त्रिचन्द्र क्याम्पसको नेविसंघको सभापति बनेका गुन्टु अब नेविसंघको नेतृत्व तह सम्म पुग्ने हिम्मत राख्थे । यो उनी भित्रको राजनीतिक अनुभव थियो न की रहर मात्रै । ईकाई सभापतिबाट नेविसंघको केन्द्रीय सहमहामन्त्री बन्ने शाहसलाई उनले आफ्नो सक्षमता मान्थे । उनि भिडे , निर्वाचित भए पनि । जति बेला नेविसंघको नेतृत्व प्रदीप पौडेलको हातमा थियो । ‘प्रदीप दाई अध्यक्ष हुँदा म सहमहामन्त्री बनेँ,’ गुन्टु भन्छन् ।
काठमाडौँ केन्द्रीत विद्यार्थी राजनीतिक सफलताको कारण उनको मेहनत, कृयाशिलता थियो । सडकमा चल्ने हरेक आन्दोलनका सहयात्री थिए गुन्टु । मुलुकमा भएका गलत कदमको बिरोधमा आफूलाई सडकमा उतार्दा कैयन लाठी अनि कैयन बुट आफू माथि बजारिँदाको दुखाई सहनु पर्यो उनले । अनि २ महिना सम्म राज्य पक्षको नियन्त्रणमा रहेर राजनीतिक जीवनमा जेल सजाय भोग्नु परेको नमिठो घटनालाई पनि सहे उनले ।
०५८ मा राजाले ‘कु’ गरे । मुलुकमा दिनहुँ आन्दोलन चल्न थाले । दिनहुँ सडकमा आगो बलिरहन्थे । काठमाडौँ स्थित त्रिचन्द्र कलेजमा राज्य बिरोधी आन्दोलनका रुप रेखा बुनिन्थे । ०६१ मा त्रिचन्द्र क्याम्पसका स्ववियु सचिव उनै गुन्टु नै थिए । विद्यार्थी आन्दोलनको चरम रुप देखिने त्रिचन्द्रलाई राज्यले आफ्नो निगारानीमा राखिरहेको थियो । ‘क्याम्पस भित्रै सेनाहरु छिर्थे,’ गुन्टु भन्छन् ‘शैक्षिक थलोमा सेना आर्मि हतियार सहित प्रवेश गर्न पाईन्न भनेर हामीहरु प्रतिरोध गथ्र्यौँ धरपकड हुन्थे, चोट खाईन्थ्यो,लाठी बुट बजारिन्थे ।’
तथापी आन्दोलनले हार मानेन । बरु तत्कालीन राजाको रुट नै परिवर्तन गरिदिने गरि गुन्टुहरुले आन्दोलनको स्वरुप देखाए । ‘राजाको रुट त्रिचन्द्र कलेज हुँदै हुन्थ्यो,’ उनले भने ‘एक दिनको यात्रामा हामीहरुले थाहा पायौँ र धेरै ठूलो आन्दोलन गर्यौँ, अन्ततः राजाले रुट नै चेन्ज गरेर अर्को बाटो गएका थिए ।’ दिनहुँ चर्किरहेका आन्दोलनले गुन्टुहरुलाई थप उत्तेजित र आक्रामक बनाउँदै लगिरहेको थियो ।
अनि उसैगरि राज्य पक्षको निगरानीमा उनी परिरहेका थिए । अन्ततः गुन्टु क्याम्पसबाटै गिरफ्तारीमा परे । ‘म क्याम्पसको कक्षा कोठाबाटै समातिएको थिएँ,’ उनी सम्झन्छन् ‘अनि म लगाएत अरु साथीहरुलाई हनुमान ढोका पुर्याईयो ।’ हनुमान ढोका पुर्याएको केहि दिन पछि गुन्टुलाई महेन्द्र युवालयमा राखियो । ‘हनुमान ढोकामा राखिँदा हामीहरुले शारिरिक अनि मानसिक यातना भोग्यौँ,’ उनले भने ‘तर युवालयमा पुर्याएपछि राहत महशुस भयो ।’ राज्य पक्षको गिरफ्तारीमा परेको झण्डै दुई महिना पुगिसकेको थियो ।
तर गुन्टुले तत्काल आफ्नो रिहाईको सम्भावना देखेका थिएनन् । ‘एक÷दुई बर्ष नै जेलमै बस्नु पर्छ भन्ने मनस्थिती बनाईसकेका थियौँ,’ उनले भने ‘तर कांग्रेसले बन्दी प्रत्यक्षिकरणको रिट हालेपछि हामीहरु २ महिना पछि मुक्त भयौँ ।’ त्यो रिहाई लगत्तै उनी बिए तेस्रो बर्षको परिक्षा दिन पुगेका थिए । ‘मेरो परिक्षा उसै दिन थियो,परिक्षा जेलभित्रैबाट दिने योजनामा थिएँ, तर परिक्षा सुरु हुनु अघिको आधा घण्टा मात्रै म मुक्त भएँ,’ उनले भने ‘अनि म हतार हतार पुगेर परिक्षा दिएको थिएँ ।’
आन्दोलन, संघर्ष अनि कांग्रेसको संगठन निर्माणका लागि अनेकन आरोह पार गरेका गुन्टु नेविसंघको राजनीति हुँदै पार्टी राजनीतिमा सकृय बन्ने योजनामा लागे । उनी लुम्बिनी प्रदेश कांग्रेसको सदस्यका लागि भिडे, निर्वाचित भए । अहिले उनी लुम्बिनी कांग्रेसका प्रवक्ता समेत हुन् ।
कांग्रेसको सकृय राजनीतिमा कृयाशिल उनी २९ बर्षे आफ्नो राजनीतिलाई जनप्रतिनिधिका माध्यमबाट थप साकार पार्ने योजनामा छन् । प्रदेशसभाको उम्मेदवारका रुपमा प्रस्तुत भएका गुन्टु आफ्नो पुरानै एजेण्डा स्थापित गर्न चाहन्छन् ‘हरेक नागरिकले मौलिक अधिकार पाउनु पर्छ, मौलिक हक प्रदान गर्न राज्य उत्तरदायि बन्नु पर्छ ।’