काठमाडौँ, २१ कार्तिक ।
नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज भएको छलफलमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैङ्कका देशीय निर्देशक अर्नौड काउक्विइसबीच ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
परियोजनाका लागि बैङ्कले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट एक अर्ब १७ करोड खर्च र नेपाल सरकारले करिब एक अर्ब ८८ करोड लगानी गर्नेछ । सम्झौताअनुसार, बैङ्कले साधारण पुँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब १ अर्ब ३० करोड रूपैँया अनुदान व्यहोर्ने उल्लेख छ ।
उक्त परियोजनाबाट प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवारका किसान लाभान्वित हुने बताईएको छ । सम्झौता अनुसार, जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा १० हजार हेक्टरमा लगाइनेछ ।