कुनै पनि बहानामा प्रेस स्वतन्त्रता नियन्त्रण अमान्य : अध्यक्ष पोख्रेल – Kanika Khabar
Saturday, July 12Nepali News Portal

कुनै पनि बहानामा प्रेस स्वतन्त्रता नियन्त्रण अमान्य : अध्यक्ष पोख्रेल

    मा प्रकाशित

काठमाडौँ, २३ कात्तिक ।

नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकार र सञ्चार माध्यमलाई आचारसंहीता वा कुनै पनि बहानामा नियन्त्रण गर्न नहुने बताएका छन् । ‘प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताको उच्चतम अभ्यासले मात्रै निर्वाचन स्वच्छ, र सफलता पूर्वक सम्पन्न हुन सक्छ’ पोख्रेलले भने ।

उनले निर्वाचनलाई सफल बनाउन अहम् भूमिका खेल्ने सञ्चार क्षेत्रलाई सबैले बुझ्न सक्नु पर्ने समेत बताए । नेपाल प्रेस इन्ष्टिच्युटले आयोजना गरेको ‘निर्वाचन आचार संहिता तथा मिडिया को भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष पोख्रेलले सञ्चार माध्यमको सहयोग बिना कुनै पनि अभियान सम्पन्न नहुने भन्दै निर्वाचन सफल बनाउन पनि सञ्चार क्षेत्रको अहम् भुमिका रहने बताए ।

‘पत्रकार र सञ्चार माध्यमलाई आचारसंहीताको नाममा नियन्त्रण गर्न खोजिएको छ, यो राम्रो हैन,’ अध्यक्ष पोख्रेलले भने ‘निर्वाचनलाई सफल बनाउन पत्रकार र सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरा बुझ्न आग्रह गर्दछु ।’ निर्वाचनको मुखमा उम्मेदवार तथा उनीहरुको एजेण्डाहरु माथि ब्यापक अन्तरकृया हुनु पर्नेमा निर्वाचन आयोगले त्यस्तो अन्तरकृयालाई निरुत्साहित गर्न खोजेको भन्दै पोख्रेलले आपत्ति समेत जनाए । ‘निर्वाचनको मुखमा नै उम्मेदवारहरु र उनीहरुको एजेण्डा माथि छलफल हुनु पर्छ,त्यस्तो छलफल निर्वाचन पछि भएमा त्यसको कुनै अर्थ रहँदैन’ पोख्रेलले भने ।

कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जथाभावी खर्च र तडक भडक देखाउने उमेदवारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निगरानी राख्नुपर्नेमा जोड दिए ।
आयोगले तोकिदिएको सीमाभन्दा बढी खर्च गर्ने उमेदवारको निगरानी अख्तियारबाट समेत हुनुपर्ने बताए । ‘मंसीर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन स्वच्छ निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउन सबै क्षेत्रको भूमिका आवश्यक छ’– थपलियाले भने – ‘निर्वाचन सम्पन्न गर्न सबैको सहयोग खोजिएको हो, अनावश्यक खर्च गर्ने उमेदवारको निगरानी गर्न अख्तियारले पनि ध्यान दिनुपर्छ ।’

नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहीता र निर्वाचन आचारसंहीता उल्लंघनको बिषयमा काउन्सिलले छापा तथा विद्युतीय सञ्चार माध्यमहरुको अनुगमन गरिरहेको जानकारी दिदै उल्लंघनको अवस्था अनुसार कार्वाही हुने प्रतिबद्धता ब्यक्त गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्