व्याजको विरोधमा उद्योगी व्यवसायी बैंकमा धर्ना – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

व्याजको विरोधमा उद्योगी व्यवसायी बैंकमा धर्ना

    मा प्रकाशित

दाङ, २५ कार्तिक ।

राष्ट्र बैंकले वृद्धि गरेको बैंक ब्याजको विरुद्धमा दाङका उद्योगी व्यवसायीहरुले बैंकमा धर्ना दिएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा नेपाल बैंकको घोराही शाखामा धर्ना दिएका हुन् ।

बैंकमा शान्तिपूर्ण रुपमा १ घण्टा धर्ना दिएका थिए । निजी क्षेत्रलाई धरासायी बनाउने गरी बैंक तथा वित्तीय संस्थाहरुले महिनैपिच्छे बढाइरहेको कर्जा ब्याजदरको विषयलाई लिएर निजी क्षेत्र आन्दोलित बनेका हुन् । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गनिर्देशन २०७५ र त्यही मार्ग निर्देशनका आडमा आर्थिक मन्दीको अवसर छोपेर नेपालको निजी क्षेत्रलाई धरासायी बनाउने गरी बैंकहरुले गरेको ब्याजदर वृद्धिप्रति विरोध जनाउँदै आन्दोलन सुरु गरेका छन् ।

चर्को ब्याज दरको विषयमा प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नरलगायतका सरोकारवाला पक्षहरुलाई ज्ञापनपत्रमार्फत बढाएको ब्याजदर फिर्ता र बढाउँदै गरेको ब्याजदर तत्काल रोक्न अनुरोध गर्दै आए पनि संघको अनुरोधलाई बेवास्ता गर्दै बैंकहरुबाट निरन्तर महिनैपिच्छे मनपरी ढंगले ब्याज बढाउने, सेवा शुल्कको नाममा अनेकौँ शुल्क लिई थप आर्थिक भार थप्ने, ब्याज किस्ताको लागि तारन्तार मानसिक दबाव दिनेलगायत कार्यहरु बैंकिङ क्षेत्रबाट लगातार भइरहेकोले यस प्रकारको गलत कदमविरुद्ध आन्दोलन गर्दै आएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकीले बताए ।

संघले एक अंकको ब्याजदर कायम हुनुपर्ने, बैंकहरुले विभिन्न शीर्षकमार्फत लिने सेवा शुल्कलगायतका कुनै पनि शुल्क लिन नपाउने माग राखिएको संघका अध्यक्ष बुढाथोकीले जानकारी दिए । पुरानो चालु पुँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिकरुपले लागू गर्नुपर्ने, कर्जाको ब्याजदर पुनः संरचना गर्न दिनुपर्ने, बैंकहरुले अगाडि बढाएका लिलामी प्रक्रियाहरु तत्काल स्थगित गर्नुपर्नेलगायत माग रहेको अध्यक्ष बुढाथोकीले बताए । संघले १६ कार्तिकमा पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

पहिलो चरणको आन्दोलनका कार्यक्रम सकिएको र थप आन्दोलनका कार्यक्रम संघको बैठक बसेर घोषणा गरिने उनले बताए । धर्नापछि आयोजित कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य रामदयाल गुप्ताले बैंक व्याज फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्नुपर्ने बताए । व्याज वृद्धिले उद्योगी, व्यवसायी तथा आम नागरिकलाई समस्या पारेको बताए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले पनि चर्को व्याजदरका विरुद्ध तुलसीपुर क्षेत्रका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंकलगायतका बंैक तथा वित्तीय संस्थामा पुगेर यसलाई तत्कालै पुर्नविचार गर्न आग्रह गरेको छ । बैंकमा केही समय तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुले धर्ना समेत दिएका थिए । सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, उपाध्यक्ष मीनराज भण्डारी तथा ललितजंग शाह, महासचिव विनिल केसी, कोषाध्यक्ष देवबहादुर केसीलगायतका पदाधिकारी एवं पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्