२६ क्षेत्र जहाँ यसअघि २००० भन्दा कम मतले भएको थियो हारजित, के छ स्थानीय निर्वाचनको परिणाम ? – Kanika Khabar
Thursday, March 28Nepali News Portal

२६ क्षेत्र जहाँ यसअघि २००० भन्दा कम मतले भएको थियो हारजित, के छ स्थानीय निर्वाचनको परिणाम ?

    मा प्रकाशित

प्रेम गौतम
काठमाडौँ, २५ कार्तिक । 

०७४ को संघीय र गत स्थानीय चुनावमा वडाध्यक्षको मत हेरेर दलहरू जोडघटाउमा छन्, तर साना दल र स्वतन्त्रले पनि परिणाममा फेरबदल ल्याइदिन सक्छन्

०७४ को प्रतिनिधिसभा निर्वाचनमा थोरै मतले हारजित भएका क्षेत्रमा अहिले प्रतिस्पर्धीको धेरै चासो छ । त्यतिखेर २६ सिट यस्ता थिए जहा“ दुई हजारभन्दा कम मतान्तरले हारजित भएको थियो ।

तत्कालीन वाम गठबन्धनका १३, कांग्रेसका आठ, मधेसी मोर्चाका चार र एक स्वतन्त्र उम्मेदवारले त्यतिवेला दुई हजारभन्दा थोरै मतको अन्तरले जितेका थिए । हुम्लाबाट स्वतन्त्र उम्मेदवार बनेका छक्कबहादुर लामा सबैभन्दा कम ४७ मतान्तरले विजयी भएका थिए ।

०७४ मा ६ क्षेत्रमा पाँच सयभन्दा थोरै मतले हारजित भएको थियो । पाँच सयदेखि एक हजार मतान्तरले मात्रै सातजनाले जित हात पारेका थिए । त्यस्तै, एक हजारभन्दा बढी र दुई हजारभन्दा थोरै मतान्तरले १३ सांसद विजयी भएका थिए ।

यसपटक अघिल्लो निर्वाचनको भन्दा दलीय समीकरण बदलिएको छ र गत वैशाखमा भएको स्थानीय निर्वाचनको परिणाम दलहरूका लागि हिसाबकिताबको पछिल्लो आधार बनेको छ । तैपनि ०७४ मा थोरै मतान्तर भएका क्षेत्र कब्जा गर्न दल र उम्मेदवारहरू सम्पूर्ण शक्तिसहित मैदानमा छन् ।

अघिल्लोपटक एमाले–माओवादी र जनमोर्चाले वाम गठबन्धन, कांग्रेस–राप्रपा गठबन्धन (केही ठाउँमा) तथा संघीय फोरम र राजपा मधेसी मोर्चा बनाएर चुनावी मैदानमा  उत्रिएका थिए । राप्रपाका राजेन्द्र लिङ्देन र तत्कालीन राजपाका राजेन्द्र महतोलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।

यसपटक कांग्रेस, माओवादी, एमालेबाट विभाजित भएको एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धन छ । मधेस प्रदेशमा सत्तागठबन्धन र लोसपाले तालमेल गरेका छन् । एमालेले मधेस प्रदेशसहित अन्य केही क्षेत्रमा जसपासँग र केही क्षेत्रमा राप्रपा, राप्रपा नेपाल, कांग्रेस विपीसँग तालमेल गरेको छ ।

०७४ मा प्रतिनिधिसभाका प्रत्यक्षका एक सय ६५ क्षेत्रमध्ये एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, तत्कालीन राजपाले ११, तत्कालीन फोरमले १०, नयाँ शक्ति, नेमकिपा, जनमोर्चा, राप्रपा र स्वतन्त्रले एक–एक क्षेत्र जितेका थिए ।

एक हजारदेखि पाँच हजारसम्मको मतान्तर 

संखुवासभा : संखुवासभामा एमालेका राजेन्द्र गौतमले कांग्रेसका दीपक खड्कालाई एक हजार एक सय ३० मतान्तरले पराजित गरे । गौतमले ३२ हजार सात सय ६९ र खड्काले ३१ हजार ६ सय ३९ मत ल्याएका थिए ।

स्थानीय चुनावको परिणाम : यसपटकको निर्वाचनमा पनि गौतम र खड्का नै उम्मेदवार छन् । सत्तारूढ गठबन्धनको तर्फबाट वडाध्यक्षहरूले प्राप्त गरेको मत कांग्रेसको ३० हजार आठ सय ४९, माओवादीको सात हजार एक सय २२ र एकीकृत समाजवादीको एक हजार एक सय एक मत छ । यस्तै, एमालेको ३२ हजार नौ सय ११ र जसपाको चार सय ७१ मत छ ।

मोरङ ३ : मोरङ ३ मा एमालेका भानुभक्त ढकालले कांग्रेसका सुनील शर्मालाई एक हजार नौ सय सात मतले पराजित गरेका थिए । ढकालले ४२ हजार चार सय १३ र शर्माले ४० हजार पाँच सय ६ मत ल्याएका थिए ।

स्थानीय चुनावको परिणाम :  यसपटकको निर्वाचनमा पनि ढकाल र शर्मा नै प्रतिस्पर्धामा छन् । राप्रपाकी रेखा थापाले पनि आफूलाई दाबेदारको रूपमा अघि सारेकी छिन् । स्थानीय तहमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको ३६ हजार नौ सय १६, माओवादीको सात हजार तीन सय ७३ र एकीकृत समाजवादीको एक हजार आठ सय ५५ मत छ । एमालेको ३७ हजार चार सय १०, राप्रपाको दुई हजार एक सय २१ र जसपाको चार सय ६३ मत छ ।

ललितपुर ३ : ललितपुर ३ मा माओवादीकी पम्फा भुसालले अघिल्लो निर्वाचनमा कांग्रेसका मदन अमात्यलाई एक हजार सात सय आठ मतान्तरले पराजित गरेकी थिइन् । भुसालले २४ हजार ३६ र अमात्यले २२ हजा तीन सय २८ मत ल्याएका थिए ।

स्थानीय चुनावको परिणाम :  यसपटकको निर्वाचनमा पनि माओवादीले भुसाललाई नै उम्मेदवार बनाएको छ । अघिल्लोपटक प्रतिस्पर्धी रहेको कांग्रेसको साथ पनि भुसाललाई नै छ । यस क्षेत्रमा पर्ने वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको १८ हजार पाँच सय ४५, माओवादीको सात हजार सात सय २७ र एकीकृत समाजवादीको पाँच हजार एक सय २९ मत छ । एमालेको १७ हजार सात सय नौ र राप्रपाको चार हजार तीन सय ४२ मत छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पनि आफूलाई दाबेदारको रूपमा अघि सारेकी छिन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)  ः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ मा अघिल्लो निर्वाचनमा एमालेका तिलबहादुर महतले कांग्रेसका विष्णुकुमार कार्कीलाई एक हजार तीन सय ३३ मतान्तरले पराजित गरेका थिए । महतले ३९ हजार ५३ र कार्कीले ३७ हजार सात सय २० मत ल्याएका थिए ।

अहिलेको अवस्था : यसपटकको निर्वाचनमा पनि महत र कार्की नै प्रतिस्पर्धामा छन् । गठबन्धन मात्र फेरिएको छ । गत स्थानीय तहमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको ३८ हजार ६ सय १९, माओवादीको एक हजार सात सय ४२ र एकीकृत समाजवादीको दुई सय १४ मत छ । एमालेको ४१ हजार सात सय ९८ र जसपाको तीन सय तीन मत छ ।

डोटी : डोटीमा अघिल्लो निर्वाचनमा एमाले (हाल एकीकृत समाजवादी)का प्रेमबहादुर आलेले कांग्रेसका वीरबहादुर बलायरलाई एक हजार ६ सय ३२ मतान्तरले जितेको थिए । आलेले ३२ हजार पाँच सय १० र बलायरले ३० हजार आठ सय ७८ मत ल्याएका थिए ।

स्थानीय चुनावको परिणाम :  यो निर्वाचनमा पनि आले चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा प्रतिस्पर्धी रहेको बलायरको पार्टी कांग्रेसको साथ यसपटक आलेलाई छ । एमालेले यो क्षेत्रमा गौरी ओलीलाई उम्मेदवार बनाएको छ । डोटीमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको ३४ हजार ४७, माओवादीको सात हजार सात सय८९ र एकीकृत समाजवादीको तीन हजार दुई सय पाँच मत छ । एमालेको २४ हजार नौ सय १६ र राप्रपाको नौ सय ८७ मत छ ।

कैलाली २ : कैलाली २ मा एमालेका झपट रावलले कांग्रेसका मोहनसिंह राठौरलाई एक हजार आठ सय ४४ मतान्तरले पराजित गरेका थिए । रावलले २५ हजार एक सय ५७ र राठौरले २३ हजार तीन सय १३ मत ल्याएका थिए ।

स्थानीय चुनावको परिणाम :  यसपटक पनि एमालेले रावललाई नै दोहोर्‍याएको छ । माओवादीबाट भगतबहादुर बडुवाल उम्मेदवार छन् । गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार सत्तारूढ गठबन्धनमा कांग्रेसको १३ हजार आठ सय २०, माओवादीको आठ हजार सात सय २४ र एकीकृत समाजवादीको दुई हजार दुई सय ६ मत छ । यस्तै, एमालेको १७ हजार आठ सय ३४, नागरिक उन्मुक्ति पार्टीको पाँच हजार दुई सय ४३ र राप्रपाको दुई हजार चार सय सात मत छ ।

मोरङ २ : मोरङ २ मा अघिल्लो निर्वाचनमा कांग्रेसका मीनेन्द्र रिजालले एमालेका ऋषिकेश पोखरेललाई एक हजार आठ सय पाँच मतान्तरले पराजित गरेका थिए । रिजालले ३५ हजार आठ सय १९ र पोखरेलले ३४ हजार १४ मत ल्याएका थिए ।

स्थानीय चुनावको परिणाम :  यसपटक कांग्रेसले सुजाता कोइरालालाई अघि सारेको छ । एमालेले भने पोखरेललाई नै उम्मेदवार बनाएको छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको २८ हजार ६ सय १७, माओवादीको सात हजार दुई सय ७१, लोसपाको पाँच सय ६६ र एकीकृत समाजवादीको एक सय ८० मत छ । एमालेको ३१ हजार तीन सय ३० मत छ । राप्रपाको दुई हजार ६९ मत छ ।

सर्लाही ४ : सर्लाही ४ मा अघिल्लो निर्वाचनमा अमरेशकुमार सिंहले राजपाका राजेशकुमार मिश्रलाई एक हजार पाँच सय ३९ मतान्तरले पराजित गरेका थिए । सिंहले २९ हजार ६ सय ७५ र मिश्रले २८ हजार एक सय ३६ मत ल्याएका थिए ।

स्थानीय चुनावको परिणाम :  यस निर्वाचनमा कांग्रेसले नागेन्द्र कुमारलाई उठाएको छ । टिकट नपाएपछि सिंहले बागी उम्मेदवारी दिएका छन् । जसपाबाट राजेशकुमार मिश्र उम्मेदवार छन् । लोसपासहित सत्तारूढ गठबन्धनले कुमारलाई साथ दिएका छन् भने एमालेले मिश्रलाई समर्थन गरेको छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कुमारको पक्षमा कांग्रेसको २३ हजार एक सय ३१, माओवादीको १८ हजार ६ सय १५, लोसपाको १४ हजार सात सय ३१ र एकीकृत समाजवादीको ६ सय नौ मत छ । मिश्रको पक्षमा एमालेको ११ हजार ६ सय ७४ र जसपाको ६ हजार चार सय ३३ मत छ । जनमत पार्टीको दुई हजार ६ सय १२ र राप्रपाको तीन सय ९७ मत छ ।

रौतहट २ : रौतहट २ मा कांग्रेसका मोहम्मद अफ्ताब आलमले संघीय फोरमका किरणकुमार साहलाई एक हजार नौ सय ६९ मतान्तरले पराजित गरेका थिए । आलमले १८ हजार आठ सय ३३ र साहले १६ हजार आठ सय ६५ मत ल्याएका थिए ।

स्थानीय चुनावको परिणाम :  कांग्रेसले यसपटक रौतहट २ मा आलमका छोरा मो. फिर्दोष आलमलाई उम्मेदवार बनाएको छ । जसपाका शैलेन्द्र साह उम्मेदवार छन् । आलमलाई लोसपासहित सत्तारूढ गठबन्धनको साथ छ भने साहलाई एमालेले पनि समर्थन गरेको छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको २० हजार चार सय सात, एकीकृत समाजवादीको १० हजार दुई सय ६७, माओवादीको आठ हजार दुई सय २३ र लोसपाको पाँच हजार दुई सय ७३ मत छ । यस्तै, एमालेको १६ हजार एक सय ५९ र जसपाको ११ हजार पाँच सय २४ मत छ । जनमत पार्टीको एक हजार दुई सय सात मत छ ।

काठमाडौं ६ : काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधानले माओवादीका झक्कु सुवेदीलाई एक हजार तीन सय मतान्तरले पराजित गरेका थिए । प्रधानले १६ हजार सात सय ८५ र सुवेदीले १५ हजार चार सय ८६ मत ल्याएका थिए ।

स्थानीय चुनावको परिणाम :  यसपटकको निर्वाचनमा पनि कांग्रेसले प्रधानलाई नै अगाडि सारेको छ । सुवेदीको पार्टी माओवादीको साथ पनि कांग्रेसलाई नै छ । एमालेले पूर्वआइजिपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको १७ हजार दुई सय ७७, माओवादीको दुई हजार चार सय ६२ र एकीकृत समाजवादीको एक हजार आठ सय ५९ मत छ । एमालेको १४ हजार तीन सय तीन मत छ भने राप्रपाको मत एक हजार आठ सय १६ छ ।

बारा ४ : बारा ४ मा अघिल्लो निर्वाचनमा राजपाका एकवाल मियाँले एमालेका देवनारयण थारूलाई एक हजार ६ सय ६८ मतान्तरले पराजित गरेका थिए । मियाँले २२ हजार दुई सय ७५ र थारूले २० हजार ६ सय सात मत ल्याएका थिए ।

स्थानीय चुनावको परिणाम :  यो निर्वाचनमा मियाँ दल बदलेर एमालेबाट उम्मेदवार बनेका छन् । यो क्षेत्रमा एमालेका पूर्वनेता कृष्णकुमार श्रेष्ठ एकीकृत समाजवादीबाट चुनावी मैदानमा छन् । मियाँलाई जसपाले समर्थन गरेको छ भने श्रेष्ठलाई लोसपासहित सत्तारूढ गठबन्धनको साथ छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको १६ हजार पाँच सय ८९, लोसपाको १५ हजार ८०, माओवादीको नौ हजार १३ र एकीकृत समाजवादीको पाँच हजार १९ मत छ । एमालेको २१ हजार एक सय ६७ र जसपाको पाँच हजार ६ सय ९१ मत छ । राप्रपाको मत एक हजार एक १ सय ५४ छ ।

पर्सा २ : पर्सा २ मा अघिल्लो निर्वाचनमा तत्कालीन संघीय फोरमका विमलप्रसाद श्रीवास्तवले कांग्रेसका अजयकुमार चौरसियालाई एक हजार चार सय ६५ मतान्तरले पराजित गरेका थिए । श्रीवास्तवले २१ हजार एक सय ६९ र चौरसियाले १९ हजार सात सय चार मत ल्याएका थिए ।

स्थानीय चुनावको परिणाम :  यसपटक पनि कांग्रेसबाट चौरसिया नै उम्मेदवार छन् । जसपाबाट सरेन्द्र कुर्मी प्रतिस्पर्धामा छन् । चौरसियालाई लोसपासहित सत्तारूढ गठबन्धन र कुर्मीलाई एमालेको समर्थन छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको २० हजार आठ सय १९, लोसपाको तीन हजार तीन सय १३, एकीकृत समाजवादीको दुई हजार ९२ र माओवादीको एक हजार नौ सय ९५ मत छ । एमालेको १६ हजार नौ सय ३५ र जसपाको १५ हजार तीन सय २८ मत रहेको छ ।

पर्सा ३ : अघिल्लो निर्वाचनमा तत्कालीन संघीय फोरमका हरिनारायण रौनियारले कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई एक हजार तीन सय ६७ मतान्तरले पराजित गरेका थिए । रौनियारले १५ हजार एक सय ६८ र चौधरीले १३ हजार आठ सय एक मत ल्याएका थिए ।

स्थानीय चुनावको परिणाम :  एमाले–जसपा गठबन्धनमा यो क्षेत्र एमालेको भागमा परेको छ । एमालेबाट राजकुमार गुप्ता उम्मेदवार छन् । कांग्रेसका सुरेन्द्र चौधरी प्रतिस्पर्धामा छन् । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको २४ हजार एक सय १९, लोसपाको दुई हजार आठ सय ८७, माओवादीको दुई  हजार सात सय ८० र एकीकृत समाजवादीको एक हजार चार सय ६० मत छ । एमालेको २० हजार ६३ र जसपाको १० हजार सात सय ८७ मत छ । राप्रपाको पाँच सय १० मत छ ।नयाँपत्रिकाबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्