२०७० को संविधानसभा निर्वाचनमा दाङबाट निर्वाचित कांग्रेसका राजु खनाल अहिले प्रदेशसभा निर्वाचनमा भिडेका छन् । दाङ क्षेत्र नं. २(१) बाट प्रदेशसभा निर्वाचनमा भिडेका खनालले गठबन्धनको बलियो शक्ति रहेको यो क्षेत्रमा आफ्नो जित सहज दाबी गरेका छन् । मूलतः मतदातामा अघिल्ला जनप्रतनिधिबाट हुन नसकेका कामहरुको विश्लेषण भइरहेको भन्दै खनालले मतदाताको आधारभूत आवश्यकता प्रदान गर्ने सामथ्र्य आफूमा रहेको दाबी गर्छन् । उनै उम्मेदवार राजु खनालसँग सञ्चारकर्मी देवेन्द्र बस्नेतले उनको चुनावी एजेण्डा र चुनाव जित्ने आधार के छन् भन्ने विषयमा केन्द्रित भइ गरेको कुराकानीको सार संक्षेप ।
मतदाताको मनोभाव कस्तो पाउनुभयो ?
मेरो चुनावी क्षेत्र अन्तर्गत बंगलाचुली गााउँपालिकाका केही स्थानमा केही दिन अघिको वर्षाका कारण क्षति पुगेको छ । कतै पहिरोले बाटो बन्द भएको अवस्था, कतै घर भत्किएको/चर्किएको अवस्था छ । यसर्थ त्यहाँ चुनावमा भन्दा पनि आफ्नै व्यवस्थापनको चिन्ता छ । समग्रमा मेरो चुनावी दौडका क्रममा मैले बुझेको र सत्य कुरा के हो भने यो भन्दा अगाडि पनि नेतृत्वमा पु¥यायौँ, काम भएनन् ।
विकासका समस्या छन् । सडकको, खानेपानीको समस्या यथावत छ । विद्यालयको समस्या छ । स्वास्थ्य सेवा प्रभावकारी छैनन् भन्ने खालका गुनासा छन् र यी गुनासाहरू नयाँ होनन्, हिँजो जुन खालका गुनासा थिए अहिले पनि उनै माग राखिरहेको अवस्था छ । मैले पनि यी विषयका सन्दर्भमा प्रष्ट पार्ने, ती काम पूरा गर्ने प्रतिबद्धता पनि गरिरहेको छु । यी काम गर्न सकिन्छ पनि, ममा त्यो सक्षमता छ । मैले मतदाताका यिनै माग सुन्न, गुनासा सुन्न भेटघाटलाई तीव्र बनाएको छु र ती समस्या समाधानका लागि कसरी काम गर्न सकिन्छ भन्ने निक्र्यौल गरिरहेको छु ।
राजनीतिप्रति मतदाताको दृष्टिकोण कस्तो छ ?
विगतमा पनि हामीले तपाईलाई सधैँ साथ दिँदै आयौँ तर जुन स्थिरताको कल्पना भएको थियो त्यो भएन भन्ने गुनासो छ । यो गुनासो समग्र राजनीतिप्रतिको गुनासो हो । राजनीतिक दलहरू स्थिरताको पक्षमा लाग्नुहोला, हामीलाई सुखसुविधा प्रदान होला भन्ने आशा गरेका थियौँ भनेर मतदाताले गुनासो राख्नुहुन्छ । त्यसमा पनि संविधान निर्माण पछिको अवस्थाबाट मतदाता अझ बढी आशावादी भएको मैले पाएँ तर त्यो आशा पूरा भएन भन्ने नै मतदाताको गुनासो छ ।
देश पुनः राजनीतिक द्वन्द्वमा जस्तै परेको अहिलेको अवस्थाले मतदातामा थप निराशा पैदा भएको छ । यसर्थ राजनीतिक नेतृत्वप्रतिको आक्रोश छ, दलहरूले केही गर्न सकेनन् भन्ने गुनासो स्वाभाविक पनि छ तर यसलाई हामी राजनीतिकर्मीले गम्भीर ढङ्गबाट मनन् गर्नुपर्छ । संविधान निर्माणपछि राजनीतिक स्थिरताको परिकल्पना हामीले पनि गरेका थियौँ र पाँच वर्षसम्मै स्थिर सरकार बन्छ र यसले जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न भन्ने लागेको थियो तर त्यो हुन सकेन ।
भएका उपलब्धिलाई समेत भत्काउने प्रयास पनि भए । त्यसैले आम नागरिकमा निराशा छ । तैपनि यसको निकासका लागि फेरि राजनीतक दलले नै दिने हो । हामीले भएका उपलब्धिको रक्षा र आधारभूत आवश्यकता सम्बोधनका लागि गठबन्धन गरेर अगाडि बढेका छौँ भनेर मतदातालाई भनिरहेका छौँ, मतदातालाई बुझाउने प्रयत्न गरिरहेका छौँ ।
मतदाताको गुनासो सम्बोधन गर्ने तपाईका ठोस एजेण्डा ?
अब हिँजोको सोँचले होइन जनताप्रति केन्द्रित हुनैपर्छ । जनताप्रति उत्तरदायी भएर कार्यक्रम, नीति निर्माण गर्न अत्यन्त जरुरी छ । विगतमा पनि तपार्इँहरूले सुन्नुभयो, रेल कुदाउने आश्वासन समेत दिइयो । त्यस्तै पानीजहाजमा घुमाउने आश्वासन दिइयो । खानेपानीको सुविधा दिनसकेका बेला पाइपबाट ग्यास उपलब्ध गराउने सपना बाँडियो ।
यस्ता फगत सपनाहरू पूरा हुने अवस्था नरहेका आश्वासन थिए । यसले आम मतदातामा ठूलो भ्रम पैदा भयो, राजनीतिक दलहरूले झुठो बोल्छन् भन्ने प्रमाणित भयो । यसर्थ अहिले हामीले के भनिरहेका छौँ भने जे गर्न सक्छौँ त्यो मात्रै बोल्छौँ । तत्कालीन रूपमा सबै ठाउँमा सहज यातायात सेवा उपलब्ध हुन सकोस् । सहज रूपमा हाम्रा सन्ततीले गुणस्तरीय शिक्षा आर्जन गर्न सकून् । हरेक नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच कायम होस् ।
कृषकले समयमै मल तथा बिउ पाउन सकून् र दिन सकिने राहतका कार्यक्रहरू तयार पारेर अघि बढ्ने मेरो योजना हो । प्राकृतिक स्रोत र साधनको संरक्षण र प्रबद्र्धन गरेर रोजगारीको सिर्जना गरिनु अहिलेको आवश्यकता हो । त्यही आवश्यकता परिपूर्ति गर्नतर्फ म लागिपरेको छु, लाग्ने छु र यसको सकारात्मक नतिजाका लागि सफल पनि हुनेछु । म उम्मेदवार भएकोले पनि यही एजेण्डामा केन्द्रित छु ।
संसद विघटनको ‘राजनीतिक प्रयास’ ले मतदाताको मनोभाव कस्तो बनेको छ ?
यसले धेरै निराशा बढायो नि । चुनावका बेलामा झूठ बोल्छन् र अल्मल्याउँछन् अनि काम पनि उल्टो गर्छन् भन्ने आम बुझाइ छ । बुद्धिजीवीमा पनि राजनीतिक नेतृत्वप्रति आक्रोश छ । त्यसबाट हामीले गल्ती महसुस गरेर अब आउने पुस्ताले मतदाताको त्यो भावनालाई समेटेर गल्ती नगर्ने चेष्टा गर्नुपर्छ । यदि हामीले यसलाई करेक्सन गरेर जान सकेनौँ भने अझ बढी आक्रोश बढ्छ, यथार्थलाई स्वीकार्नु पर्छ ।
यहाँले भनेजस्तो संविधान मास्ने प्रयास जसरी कुनै एक दल विशेष एमालेले गर्न खोज्यो त्यो गलत कदमले एमालेलाई त सबैभन्दा बढी असर त पर्ने नै भयो । त्यससँगै अन्य दललाई पनि त्यो कार्यकलापको असर पुग्ने देखिन्छ । पाँच वर्षसम्मको म्याण्डेट सहित स्थिर सरकारको परिकल्पना हामीले ग¥यौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आशा देखाएको सरकारको नेतृत्व गरेको दलबाट ठिक उल्टो भयो । सविधान मास्न खोज्ने हर्कत हुनुलाई आम मतदाताले सही कि गलत भनेर सहजै बुझ्ने कुरा हो ।
स्थिर भनेर परिकल्पना गरिएको सरकारका पालामा भएको अनियमितता, प्रेस माथिको अधिकार कुण्ठित गरिनु आमनागरिकको हित अनुकूलका काम भएनन् । तत्कालीन प्रधानमन्त्रीबाट हरेक शक्तिलाई आफूमाथि केन्द्रित गरेर सर्वसत्तावादी शासक बनेर राज्यसत्ता सञ्चालन गर्न थलियो । कोरोना संक्रमणका बेला नागरिक छटपटाएर बस्नु परेको जर्जर अवस्था थियो । यो बेलामा नागरिकलाई राज्यको सहारा चाहिएको थियो तर त्यही बेला नागरिकका लागि खरिद भएका स्वास्थ्य सामग्रीमा भएका घोटालाले आम नागरिकलाई तत्कालीन राज्य संयन्त्रप्रति झनै बढी क्रुद्ध बनाएको हामीले देख्यौँ ।
मुलुकको मूल कानुनलाई च्यात्ने प्रयत्न कतिसम्म जायज भन्ने प्रश्न आम रूपमा उठ्यो । एउटा प्रधानमन्त्री आफू अल्पमतमा पर्छु कि भन्ने त्रासमा संसदै विघटनसम्मको हर्कत पनि भए । यी समग्र गलत कामका कारण पनि जनतामा निराशा उच्चतम् रूपमा पैदा भयो र मतदाताले प्रत्येक झुठको हिसाब राखेका छन् । हामी अहिले तिनै गलत कदमको विरोधी शक्ति मिलेर गठबन्धनमा छौँ । हाम्रो अहिलेको अजेण्डा पनि के हो त भन्दा मुलुकमा भएका उपलब्धिहरूको रक्षा हाम्रो पहिलो प्राथमिकता हो । त्यसपछि जनताको सेवा सुविधाका लागि हाम्रो अर्को मूल प्रतिबद्धता हो ।
पछिल्लो समयमा राजनीति तर्फ आज जनताको वितृष्णा बढ्दै गएको छ । नेताहरुले चुनावी नाराका रुपमा लिइएका एजेन्डालाई पूरा नगर्नुका कारण पनि वितृष्णा पैदा भएको हो, जुन स्वभाविकै हो । राजीतिमा आम नागरिकको बढ्दै गएको वितृष्णालाई अन्त्य गर्दै राजनीतिलाई आशाको केन्द्र र सम्भावनाको विन्दु महसुस गराउने गरी काम गर्न म प्रतिवद्ध छु । राजनीतिप्रति वितृष्णा नभई आकर्षण बढाउने गरी काम गर्नेछु ।
तपाईले गठबन्धनको कुरा गर्नुभयो, चुनावमा यसको कार्यान्वयनको पाटोलाई कति मजबुत देख्नुहुन्छ ?
आउँदो निर्वाचनमा अझ कस्सिएर जान्छ । हिँजो स्थानीय तहको चुनावमा गठबन्धन कार्यान्वयनको पहिलो अभ्यास भयो । एउटा पार्टीको चुनाव चिह्नमा अर्को पार्टीका मतदाताले मत हाल्ने अभ्यासको सुरुवात हिँजो भयो । यसको कार्यान्वयनमा केही सामान्य कमजोरी भए होलान् । अर्को कुरा मतदानका क्रममा देखिएको मतपत्रको उल्झनका कारण बदर मतको संख्या बढेर गयो र घोराही उपमहानगरको परिणाम हाम्रो अनुकूल हुन सकेन तर अहिले मतदाता सबै सचेत हुनुहुन्छ ।
मतपत्रको उल्झन पनि अहिले त्यस्तो जटिल छैन र गठबन्धनलाई मजबुत बनाएर राष्ट्रहितका पक्षमा सबै अडिग रहनुपर्छ भन्ने बुझाइ आम मतदातामा परेको छ । यसले पनि गठबन्धन कार्यान्वयनको पाटो बलियो बनेर आगामी निर्वाचनमा गठबन्धनको सहज जित प्रष्टै देखिएको छ । समस्या हामी गठबन्धनभित्र छैन तर यसमा एमालेले फरक दलको चुनाव चिह्नमा किन मत हाल्ने ? भनेर गठबन्धनका मतदातालाई भड्काउन खोजिरहेको अवस्था चाहिँ छ ।
एमालेले मतदातासम्म लैजाने एजेण्डा त कुनै पनि छैन अनि कांग्रेसीको घरमा गएर माओवादीलाई किन भोट हाल्नुहुन्छ ? माओवादीको घरमा गएर कांग्रेसले माओवादीलाई भोटै हाल्दैन, तपाईँहरूले किन हाल्ने ? भनेर यस्ता खालका गठबन्धनका बीचमा भिडाउने खालका भ्रमहरू फैलाउने खालका कामहरू एमालेले गरिरहेको छ । यो भ्रमका कारण गठबन्धनको केही मत आर्जन गर्न सकिन्छ कि भन्ने एमालेको प्रयास हो तर एमालेले सोचेजस्तो समस्या गठबन्धनमा छैन । हिँजोभन्दा अझ कसिलो अवस्थामा अहिले गठबन्धन अगाडि बढेको छ । यदि हामी अहिले चुक्यौँ भने फेरि राजनीतिक अस्थिरतामा मुलुक जान्छ भन्ने चेत गठबन्धनका नेतादेखि तल्लो तहका कार्यकर्तासम्म नै छ ।
कांग्रेसले आफ्नो योगदानको जस लिन सक्दैन, अरुले लिन्छन् र चुनावी एजेण्डा बनाउँछन् भन्ने चर्चा चल्छ नि, यो सत्य हो ?
यो सत्य हो । मुलुकमा भएका हरेक उपलब्धिको जस एमालेले लिन खोजिरहेको छ । मैले उदाहरणकै रूपमा भन्छु म अहिले जुन निर्वाचन क्षेत्रमा उम्मेदवार बनेको छु यो क्षेत्रमा अघिल्लो पटक एमालेका नेता शंकर पोख्रेल निर्वाचित हुनुभयो र मुख्यमन्त्री पनि बन्नुभयो । उहाँ अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुनुहुन्छ । उहाँले हिँजो निर्वाचित भएको क्षेत्रअन्तर्गत बंगलाचुली गाउँपालिकामा के काम गर्नुभयो ? म उहाँलाई सोध्न चाहन्छु ।
म धेरै पटक त्यहाँ पुगेँ तर उहाँले मैले यसो काम गरेँ भनेर देखाउने एउटा ठाउँ छैन । उहाँकै दलका कार्यकर्ताले भने अन्य ठाउँका योजनालाई हामीले गरेका हौँ भनेर प्रस्तुत गरिरहनुभएको छ । मैले फेरि पनि प्रश्न गरेँ कि हिँजो मुख्यमन्त्री भएका शंकर पोख्रेलले गरेका काम खोई ? एउटा त देखाउनुस् । यसर्थ, उहाँहरूले आफूहरूले गलत प्रचारबाजी गरेर हरेक उपलब्धिको जस लिन खोज्नुहुन्छ, यो उहाँहरूको प्रवृत्ति नै हो । तर मतदातालाई यसरी गलत प्रचारबाजी गरेर अब अल्मल्याउन सकिने छैन । मतदाताले सत्य के हो ? भनेर बुझिसक्नुभएको छ ।
तपाईले चुनाव जित्ने आधार के छन् ?
पहिलो कुरा म संविधानसभा सदस्य हो । म यही निर्वाचन क्षेत्रबाटै निर्वाचित भएर संविधान लेखनजस्तो महत्वपूर्ण ऐतिहासिक काममा सहभागी भएँ । यससँगै मैले यहाँको विकास निर्माणका लागि मेरो अर्को प्रतिबद्धता थियो । मैले संविधान निर्माण र विकास निर्माण दुईवटै प्रतिबद्धता पूरा गरेँ । गत प्रतिनिधिसभा निर्वाचनमा पनि म उम्मेदवार बनेँ ।
त्यो बेला पनि मलाई मतदाताले माया गर्नुभयो तर त्यो बेला माओवादी र एमालेको गठबन्धनका कारण म पराजित बन्न पुगेँ र अहिले पनि मतदाताको भरोसा मप्रति छ । किनभने म हिँजो सांसद भएका बेला पनि कांग्रेस सरकारमै थियो । त्यो बेला म माथि लाञ्छना लगाउने कुनै ठाउँ मैले दिएन । यसले काम गर्न सकेन, आर्थिक हिनामिनामा जोडियो भनेर मैले कतैबाट गुनासो गर्ने ठाउँ दिएनँ । यससँगै हरेक गलत अनियमितताका कुरामा मेरो नाम जोडिएन । यसर्थ यो काम गर्ने मान्छे हो भन्ने बुझाइ मप्रति मतदाताको छ ।
त्यसमा पनि म आन्दोलनबाट आएको व्यक्ति हिँजो पञ्चचायत विरोधी आन्दोलनमा विद्यार्थी आन्दोलनबाट निरन्तर राजनीतिमा सक्रिय रहेको मान्छे हुँ । एउटा सामान्य परिवारबाट राजनीतिमा आएको मान्छे यसलाई सेवाभावले जसरी अगाडि बढाएको छु त्यही आधारबाट नै हो मलाई हेर्ने आम मतदाताको नजर । अहिले मेरो प्रदेश सभा क्षेत्र भनेको गठबन्धनको राम्रो पकड भएको क्षेत्र हो । यसर्थ, सहजतापूर्वक हामीले चुनाव जित्ने आधार छ । र मप्रतिको मतदाताको प्रेम, सद्भावले पनि म जित्छु भन्ने विश्वास छ ।