कनिका खबर
असार १३, दाङ ।
हरेक असार १५ गतेलाई नेपालमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रुपमा मनाउने गरिएको छ । पर्सि सोमबार १७ औँ राष्ट्रिय धान दिवस परेको छ ।
यस वर्ष कोरोना महामारीको समय भएको हुनाले सङ्क्रमण फैलन नदिनका लागि कृषि विभागले रोपाइँ महोत्सव प्रोटोकल तयार पारेको छ । विभागले तयार पारेको प्रोटोकलमा हिलो छ्याप्न र खेल्न नपाइने बताइएको छ ।
‘रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने आदि) गतिविधि नगर्ने’ कृषि विभागले तयार पारेको प्रोटोकलमा छ ।
कोरोना रोग संक्रमण सुरक्षा मापदण्ड अपनाएर सामाजिक र भौतिक दुरी कायम राख्दै रोपाइँ महोत्वस गर्ने तयारी विभागले गरेको छ । सामान्यतया रोपाइँ महोत्सवमा धान रोप्न ठिक्क पारेको खेतमा एक अर्कामा हिलो छ्यापेर रमाइलो गर्ने गरिन्छ । तर यसवर्ष सकेसम्म २५ जनामात्र सहभागी हुने र २५ भन्दा बढी सहभागी भए सहभागीबीच न्युनतम ६ फिट (२ मिटर) दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ ।
सम्भव भएसम्म सहभागीको ज्वरो नापेर १०० दशमलव४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम देखिएमा प्रवेश नदिने पनि रोपाइँ महोत्सव प्रोटोकलमा उल्लेख छ ।
महोत्सवमा प्रवेश गर्नुअघि मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर लगाउनुपर्नेछ । खाजा वा चिया खाने बेला, आवतजावत गर्दा कम्तीमा ६ फिटको दुरी कायम राख्ने, व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने नियम पनि सरकारले बनाएको छ ।
रोपाइँ महोत्सवमा सम्भव भएसम्म सामूहिक खाजा निरुत्साहित गर्ने, कम श्रम लाग्ने प्रविधि वा मेसिन प्रयोग गर्ने, रोपाइँपछि साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर लगाउने कृषि विभागले नियम बनाएको छ ।