फुटवलको महाकुम्भ विश्वकप आजदेखि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

फुटवलको महाकुम्भ विश्वकप आजदेखि

    मा प्रकाशित

दाङ, ४ मंसिर ।

चार वर्षको प्रतीक्षापछि विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडी आइतबारदेखि फुटबलको महाकुम्भ मेलामा कतारमा भेला हुँदै छन् । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२औँ संस्करण सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थिति देखाउने प्रयत्नमा हुनेछन् ।

कतार विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ । अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहने भएको छ । मध्यपूर्वी तथा अरब देशमा आयोजना भएको यो पहिलो विश्वकप हो । सन् १९९४ मा साउदी अरबले विश्वकपमा सहभागिता जनाएपछि अरब देशका लागि कतार विश्वकपको आयोजना सबैभन्दा ठूलो उपलब्धि हो । यसैगरी एसियामा हुने यो दोस्रो विश्वकप हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकप आयोजना गरेको थियो । ३२ टिमले २९ दिनमा कुल ६४ खेल खेलेपछि विश्वकपको समापन लुसैल रङ्गशालामा हुनेछ ।

यस संस्करणलाई यस पुस्ताका दुई सर्वश्रेष्ठ खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको अन्तिम विश्वकपका रूपमा पनि लिइएको छ । अब यी दुई खेलाडीलाई विश्वकपको मैदानमा पुनः नदेखिने प्रायः पक्का छ । रोनाल्डो र मेसी मात्र होइन, रोबर्ट लेवान्डोस्की, लुइस सुवारेज, लुका मोड्रिच, डानी अल्भेज, म्यानुअर नुअर र थोमस मुलरजस्ता विश्वप्रसिद्ध फुटबलरको पनि अन्तिम विश्वकपका रूपमा हेरिँदै छ ।

त्यसो त विश्वकप फुटबलजस्तो ठूलो प्रतियोगितामा उपाधि विजेताको ठोकुवा गर्न सकिँदैन । तर विश्वकपको मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि ब्राजिल र अर्जेन्टिनालाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । त्यसपछि फ्रान्स, इङ्ग्ल्यान्ड र स्पेनलाई पनि विश्वकप जित्न सक्ने टिमका रूपमा आकलन गरिएको छ । प्रसिद्धि कमाउने र आपूmलाई महान् बनाउने ठूलो मञ्चमा नेयमार, किलियन एमबापे, केभिन डी बु्रयन, करिम बेन्जामा, रोबर्ट लेवान्डोस्की, हेरी केनजस्ता उत्कृष्ट खेलाडी चम्किने अपेक्षा गरिएको छ ।

आयोजक कतारको भने घरेलु मैदानमा प्रमुख लक्ष्य नकआउट चरणमा पुग्ने हुनेछ । कतारको अर्को लक्ष्य सफल आयोजना गरेर विश्वको मन जित्नु हो । अहिलेसम्मका विश्वकपमा एक मात्र आयोजक राष्ट्र समूह चरण पार गर्न असफल भएको छ । सन् २०१० मा दक्षिण अफ्रिका घरेलु मैदानमा खेलेर पनि समूह चरणबाट अघि बढ्न सकेको थिएन ।

विश्वकप सुरु हुनुअघि आयोजक राष्ट्र कतार विवादमा छ । मानवअधिकार हनन, समलैङ्गिकताप्रति घृणा र श्रम कानुनजस्ता केही विषय छन्, जसले सुरु हुनुअघि नै कतार विश्वकपमा केही दाग लगाइदिएको छ । यद्यपि अहिले कतारले विश्वकपको सफल आयोजना गरेर विश्वमा आफ्नो उदार र सहिष्णु छवि पेस गर्न खोज्दै छ ।

यसपटकको विश्वकपमा कतिपय उत्कृष्ट खेलाडी भने चोटका कारण अभागी साबित भएका छन् । फ्रान्सका पल पोग्बा, एन्गोलो कान्टे, अर्जेन्टिनाका पाउलो डिबाला, अस्ट्रियाका डेभिड अलाबा, पोर्चुगलका डिएगो जोटा, जर्मनीका टिमो वेर्नर, इङ्ग्ल्यान्डका रिस जेम्स र सेनेगलका साडियो माने भने विश्वकपका लागि आफ्नो टिममा चयन भएर पनि प्रशिक्षणक्रममै घाइते हुँदा मैदानबाहिर रहनेछन् । नर्वेका इर्लिङ हालान्ड, इजिप्टका मोहम्मद सलाह, इटालीका गियान्लुगी डोनारुमा र कोलम्बियाका लुइस डियाजजस्ता खेलाडी आफ्नो टिममा चयन नहुँदा मैदानबाहिर रहने छन् । एसियाका सर्वश्रेष्ठ फुटबल खेलाडी दक्षिण कोरियाका सन हिउङ मिन पनि चोटका कारण विश्वकप खेल्नेमा शङ्का छ ।

फुटबलप्रति अत्यधिक आकर्षण रहेको नेपालमा पनि विश्वकपको माहोल बनिसकेको छ । विश्वकपकै दिन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भए पनि फुटबलपे्रमीको ध्यान विश्वकपले आकर्षित गर्ने पक्का छ । यतिबेला नेपाली फुटबलपे्रमी आफ्नो समर्थनको देशको पक्षमा सामाजिक सञ्जाल र सार्वजनिक छलफलमा बहस गरिरहेका भेटिन्छन् । कतिपय नेपाली समर्थक भने कतार रङ्गशालामै पुगेर महाकुम्भको अनुभव गर्ने तयारीमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्