निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको साझा संगठन प्याब्सन घोराही नगर कमिटीले नेपालमै पहिलो पटक दाङमा रनिङ सिल्ड प्रतियोगता आयोजना गरेको छ । घोराही नगर प्याब्सनको आयोजनामा बिहिबारदेखि सुरु भएको यो प्रतियोगिता आज शनिबारसम्म चल्ने छ । यसअघि प्याब्सनले यस्तो रनिङ सिल्ड नेपालभर गरेको थिएन । दाङमा गरिएको प्रतियोगितामा विभिन्न विधाका खेलहरुमा सहभागी हुन ३६ विद्यालयहरुले सहभागिता जनाएका छन् । अध्ययनसँगै विद्यार्थीहरुमा खेल संस्कृतिको विकास गर्न यो प्रतियोगिता गरिएको प्याब्सन घोराहीका अध्यक्ष बीरेन्द्र चन्द बताउँछन् । अध्यक्ष चन्दसँग यो प्रतियोगिताको उदेश्य र निजी विद्यालयहरुको शैक्षिक गुणस्तरका बिषयमा केन्द्रित रहेर गरिएको कुराकानी ।
प्याब्सन रनिङ सिल्ड प्रतियोगिताको उदेश्य के हो ?
हाम्रो सामान्य बुझाई के हो भने एउटा बच्चाले हुर्कँदाखेरि फिजिकल, मेन्टल र सोसल तिनवटा विकास क्रमलाई सँगसँगै लैजानु पर्छ । पढ्दाखेरि उसको मानसिक विकास भैरहेको हुन्छ भने खेलले दुईवटा कुराको थप विकास गरिरहेको हुन्छ । एउटा उसको सामाजिक र उसको शारीरिक विकास भएको हुन्छ । यसर्थ एउटा बच्चाको तिनवटा विकास क्रमलाई सँगसँगै लैजानका लागि खेल अपरिहार्य हो र यसैका लागि हामीहरुले यो रनिङ सिल्ड प्रतियोगिता आयोजना गरेका हौँ । खेल बालबालिकाका लागि अपरिहार्य हो भन्ने बुझाई हाम्रो हो । यसले अर्को राम्रो काम के गरेको छ भने संस्थागत विद्यालयका विद्यार्थीलाई पनि एकै ठाउँमा ल्याईदिएको छ । यसले विद्यार्थीहरुका विचमा पनि भावनात्मक एकताको वातावरण बनेको छ ।
नेपालमै पहिलो कार्यक्रम गर्नुभयो, यसको योजना कसरी तयार भयो ?
यसअघि विभिन्न चरणहरुमा छलफल नभएका हैनन् । यो कार्यक्रम आयोजना बारे यस क्षेत्रका अग्रज शिक्षकहरुसँग कुराकानी भएका थिए । विभिन्न शैक्षिक बिmयाकलापहरु भए । कहिले हाजिरीजवाफ, वक्तृत्वकला लगायतका प्रतियोगिताहरु मासिक रुपमा नभएका हैनन् । त्यो बिचमा यतिसम्म चाहिँ भयो, अब खेलसँग पनि विद्यार्थीहरुलाई जोड्नु पर्छ कि भन्ने छलफल भयो । जतिबेला म अघिल्लो मेरो पहिलो अध्यक्ष कार्यकालमा थिएँ । हामीले दुई बर्ष अगाडी पनि यो प्रतियोगीता गर्ने योजना बनायौँ, तर कोभिडका कारण गर्न सकेनौँ । र यो अहिले सहि समय भयो । खेल र शिक्षाका कार्यक्रमलाई सँगसँगै लैजानु पर्छ भन्ने निर्णयमा पुग्यौँ र दुई वर्षको तयारी पश्चात कार्यक्रम गर्न सफल भयौँ ।
तपाईका लागि प्रतियोगिता चुनौती पूर्ण छ कि उत्साहप्रद ?
मैले यो प्रतियोगितालाई उत्साहप्रद रुपमा लिएको छु, मैले कुनै पनि चुनौती महशसुस गरेको छैन । हरेक विद्यालयको उत्साहपूर्ण सहभागिता, विद्यालयका शिक्षकहरुको दरिलो साथले मलाई उत्साह थपेको छ । मलाई राम्रै सहभागिता हुन्छ भन्ने त थियो तर यति धेरै उत्साहप्रद सहभागिता होला भन्ने चाहिँ लागेको थिएन । अहिले सहभागितासँगै विद्यार्थी, शिक्षकहरुको जुन उत्साह देखियो यसले मलाई धेरै उत्साहित बनाएको छ र यस्ता कार्यक्रमहरु अपरिहार्य रहेछन् भन्ने महसुस पनि गराईदिएको छ ।
सुरुमा चुनौति थियो होला नि ?
मलाई यो कार्यक्रमको रुपरेखा कोर्दा देखिनै यो कार्यक्रम गर्दा गाह्रो हुन्छ कि भन्ने महसुस भएन । किनकी म भन्दा अग्रज शिक्षकहरुले मलाई त्यो खालको आड भरोसा दिलाईरहनु भएको थियो । आर्थिक समस्याले कार्यक्रमलाई प्रभावित पार्छ कि भन्ने थोरै आशंकाहरु थिए । र यसको व्यवस्थापन पनि सहज हुनेमा म विश्वस्त छु । यसका पाटाहरु पनि छन् र यो कार्यक्रमलाई भव्य र सभ्य तवरबाट सम्पन्न गर्नका लागि हामी सक्षम हुनेमा ढुक्क छौँ । यसर्थ मैले यो प्रतियोगितालाई सुरुदेखिनै चुनौतिका रुपमा लिएन , मैले यसलाई अवसरका रुपमा लिएँ । किनकि नेपालमै पहिलो पटक यो कार्यक्रम गर्ने अवसर मेरा लागि आयो ।
विद्यालयमा पनि खेल संस्कृतिको विकास गर्ला त यो प्रतियोगिताले ?
अहिले विद्यालयहरुमा खेल संस्कृतिको विकास उति सारो भएको छैन । यो च्यालेन्जको विषय हो । हामीले विद्यार्थीहरुलाई खेलको अवसर दिएका रहेनछौँ है भन्ने हामीलाई अहिले लागेको छ । अहिले रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्दै गर्दा अहिले विद्यालयहरुमा ड्रम बज्न सुरु गरे, विद्यार्थीहरु दौड्न सुरु गरे, उनीहरुले भलीबल खेल्न सुरु गरे । किनकि यो प्रतियोगिताको तयारीमा उनीहरु लागे । यद्यपि हामीले यो प्रतियोगिताबाट कति खेलाडी उत्पादन गर्न सक्छौँ, यो चाहिँ थाहा छैन । तर म यति दाबीका साथ भन्न सक्छु अर्को बर्ष हामीहरुले राम्रो संख्यामा सक्षम खेलाडीहरु उत्पादन गर्न सक्छौँ । जुन खेलाडीहरु जिल्लाका लागि, राष्ट्रका लागि खेल्न योग्य बन्ने छन् । यो प्रतियोगिताले अब विद्यालयहरुमा पनि खेल संस्कृतिको विकासका लागि वातावरण निर्माण गरिदिएको छ । विद्यार्थीहरुको खेलप्रतिको रुचिलाई विद्यालयहरुले सम्बोधन गर्ने चुनौति विद्यालयहरुलाई यो प्रतियोगिताले दिएको छ । यसर्थ अब हरेक विद्यालयमा खेलकुदका कार्यक्रमहरु आयोजना हुनेछन् । हामी विश्वस्त छौँ ।
विद्यार्थीलाई खेल संस्कृतिमा अभ्यस्त गराउन मात्रै यो प्रतियोगिता भएको हो कि कुनै ठूलो प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने लक्ष पनि हो ?
स्वाभाविकै रुपमा अब लगत्तै घोराही उपमहानगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्दैछ । अहिलेसम्म हेर्दा संस्थागत विद्यालयको उपस्थिति कम देखिन्छ । तर आगामी दिनमा संस्थागत विद्यालयको उपस्थिति पनि जवरजस्त हुनेछ र उपलब्धि पनि जवरजस्त हुनेछ भन्ने हाम्रो बिश्वास छ । यो प्रतियोगिता अहिले राष्ट्रपति रनिङ सिल्डको पूर्व तयारीका रुपमा पनि हामीले लिएका छौँ ।
थोरै फरक बिषय, नीजि विद्यालयहरुको शिक्षाको गुणस्तरलाई कसरी मापन गर्ने ?
मूल्यांकनलाई हामीले अहिले सम्म कोरा कागजमा मात्रै सिमित गरेका छौँ । एउटा विद्यार्थीले पाएको ग्रेडका आधारमा हामीहरुले उसको मूल्यांकन गरिरहेका छौँ । यो सही मूल्यांकन हैन है भन्ने हाम्रो भनाई हो । एउटा बच्चाको मूल्यांकन उसले प्राप्त गरेको ग्रेडबाट मात्रै नभई धेरै कोणबाट गरिनु पर्छ भन्ने मलाई लाग्छ । र अहिलेको मूल्यांकनको विधिलाई आधार मानेर हेर्ने हो भने अहिले घोराही क्षेत्रका विद्यालयहरुको शैक्षिक गुणस्तर राम्रो छ । तर यसको मापनलाई फराकिलो बनाउनु पर्छ । अहिले हामी एउटै आयामबाट गैरहेका छौँ । तर यसलाई बहुआयामिक तवरबाट यसको मापन हुनु जरुरी छ । यसतर्फ हाम्रा पाईलाहरु अगाडि बढिरहेका छन् ।
राज्यसंग प्याब्सनको दुरी बढिरहेको छ , समस्या कहाँनेर छ ?
उदेश्य हेर्यौँ भने राज्य र प्याब्सन एउटै बाटोमा छन् । राज्यले पनि गुणस्तरीय शिक्षा चाहन्छ हामीले पनि त्यही चाहन्छौँ । यति मात्रै हो राज्यद्वारा हामीले गरेको कामलाई वास्ता हुँदैन भन्ने हाम्रो असन्तुष्टि हो । अरु त राज्यलाई तिर्नु पर्ने कर तिरेकै छौँ, राज्यको नीति नियम मानेकै छौँ । तर राज्यबाट पाउनु पर्ने सेवा सुविधा हामीहरुले पाउन सकेका छैनौँ हाम्रो गुनासो त्यहाँ नेर हो । कुनै निम्न बर्गिय परिवारको एउटा बच्चा नीजि विद्यालयमा पढ्न चाहन्छ, उसले स्कलरसिपमा पढ्ने अवसर पायो र उसले राम्रो ग्रेड हासिल गर्छ । तर त्यो बच्चा नीजी विद्यालयमा पढेकै कारण राज्यको सेवा सुविधा पाउन बाट बञ्चित हुन्छ । हाम्रो चित्त दुखाई यहाँनेर हो ।
सबै बर्गको पहुँचमा नीजि विद्यालयहरु छन् ?
एउटा बुझाई छ , नीजी विद्यालयहरु हुनेखाने बर्गको पहुँचमा मात्रै हुन्छन् । निम्न बर्गिय परिवारका लागि नीजी विद्यालयहरुको पहुँच छैन भन्ने बुझाई छ । यो बुझाई गलत हो । तर घोराही क्षेत्रका नीजी विद्यालयमा हरेक बर्गका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । यहाँका नीजी विद्यालयहरुले आर्थिक स्तरलाई हेरेर विभेद गरेका छैनन् । हामीहरुले विभिन्न सिफारिसलाई आधार मानेर निम्न बर्गिय परिवारका बच्चाहरुलाई सहुलियतमा पढाईरहेका छौँ । यसर्थ नीजी विद्यालयहरु कसैको पहुँचमा मात्रै भएको र कसैको पहुँचमै नभएको भन्ने बुझाइ गलत हो ।