प्रदेश राजधानीमा स्थानीय सरकारको उत्साह : प्रवेशद्वारमा डिजिटल गेट, दशै पालिकाका भिन्न–भिन्न झाँकी – Kanika Khabar
Thursday, March 28Nepali News Portal

प्रदेश राजधानीमा स्थानीय सरकारको उत्साह : प्रवेशद्वारमा डिजिटल गेट, दशै पालिकाका भिन्न–भिन्न झाँकी

    मा प्रकाशित

खेमराज रिजाल
लालमटिया(देउखुरी), २२ मंसिर ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीको मुकाम स्थायी राजधानी तोकिएसँगै स्थानीय सरकारहरू पनि राजधानी व्यवस्थापनको सहजीकरणमा उत्साहित भएका छन् । जिल्ला समन्वय समितिको आयोजनामा राप्ती गाउँपालिकाको सभाहलमा बुधवार भएको कार्यक्रममा स्थानीय सरकारका प्रमुखहरूले राजधानी व्यवस्थापनमा आफूहरूले आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको राजधानी व्यवस्थापन सहजीकरण कार्यक्रममा पालिकाहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
अन्तत्र्रिmया कार्यक्रममा यहाँका स्थानीय सरकारहरूले प्रदेश राजधानीका मुख्य प्रवेशद्वारमा दुईवटा स्तरीय डिजिटल स्वागतगेट निर्माण गरिनेछन् । एउटा गेट भालुवाङमा निर्माण गरिनेछ भने अर्को डिजिटल गेट अमिलियामा निर्माण गरिने निर्णय भएको छ । यसैगरी सबै पालिकाहरूले आ–आफ्नो क्षेत्रमा आवश्यकताअनुसार अस्थायी वा स्थायी प्रवेशद्वार निर्माण गर्ने पनि सहमति भएको छ । साथै सपथ ग्रहण र राजधानी दाङ स्थापित भएको दिन दाङ जिल्लाका दशवटै पालिकाहरूले भिन्न–भिन्न सांस्कृतिक झाँकीहरूलाई राप्ती गाउँपालिकामा उतार्नेछन् ।

त्यसको सबै व्यवस्थापन स्वयम् पालिकाले गर्ने पनि बैठकमा निर्णय भएको छ । सम्भवतः स्थायी मुकाम औपचारिक रूपमा यही महिनाको अन्तिम सातासम्म हुन सक्नेछ । सपथ ग्रहण र झण्डोत्तोलनको काम एकैदिन प्रदेश प्रमुखबाट गरिने पनि अन्तिम तयारी भएको कार्यक्रममा अनौपचारिक जानकारी गराइएको थियो । औपचारिक कार्यक्रमलाई भव्य र सभ्य बनाउन कुन–कुन पालिकाले के–के जिम्मेवारी लिने भन्ने सन्दर्भमा चाँडै लुम्बिनी प्रदेश सरकारले पत्राचार गर्ने निर्णय भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले राप्तीमा राजधानी बनाउने कुनै नयाँ निर्णय नभएको बताउँदै यस अघि लुम्बिनी प्रदेशसभाको दुईतिहाइ बहुमतले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउन मात्रै आफू लागेको बताए । सुशासनका लागि संविधानको कार्यान्वयन अपरिहार्य भएको बताउँदै प्रदेशको स्थायी राजधानी पनि संविधानको धारावमोजिम भएकाले कसैले विरोध गर्न आवश्यक नभएको उनको अभिव्यक्ति थियो ।

‘म जहाँ बस्छु त्यही स्थायी मुकाम हो, हामीले निर्माण गरेको प्रदेशसभा भवन सातै प्रदेशमा उत्कृष्ट छ’, प्रमुख अतिथि केसीले भने । अन्य मन्त्रालयका लागि पनि सबै तयारी पूरा भइसकेकाले स्थायी राजधानी यहाँ ल्याउन कुनै समस्या नभएको अभिव्यक्ति उनले दिए । ‘हामीले अन्तिम तयारी गरिसकेका छौँ’, मुख्यमन्त्री केसीले भने । प्रदेश प्रमुखको कार्यालयको व्यवस्थापन र अन्य मन्त्रालयलाई पनि स्थानान्तरणको व्यवस्थापन सहित नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको सपथ ग्रहण यहीको प्रदेशसभा भवनमा हुने छ ।

अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती गाउँपालिकाको तेस्रो तल्लामा सञ्चालन भइसकेको छ । मन्त्रालयका सचिव, सहसचिवदेखि अन्य कर्मचारीहरू समेत यहाँ आइसकेका छन् । ‘नव निर्वाचित प्रदेशसभा सदस्यहरूको सपथ ग्रहण यहीँ हुनेछ, उहाँहरूलाई स्वागत गर्न तपाईँ स्थानीय सरकारका प्रमुख तथा पदाधिकारीहरू तयार हुनुहोला’, मुख्यमन्त्री केसीले भने ।

त्यसै अवसरमा प्रदेश सरकारले अघि सारेका चारवटा गौरवका योजना कार्यान्वयनमा पनि स्थानीय सरकारको साथ र सहयोगको अपेक्षा गरे । लुम्बिनी प्रादेशिक अस्पतालको स्तर वृद्धि, प्रदेश राजधानी जग्गा एकीकरण कार्यक्रम, पाल्पा–रोल्पा सडक कालोपत्रे, बाँके–बर्दियामा वहुप्राविधिक विश्वविद्यालयलगायतका गौरवका योजना कार्यान्वयनमा सबैको साथ र सहयोगको पनि मुख्यमन्त्री केसीले अपेक्षा गरे । साथै उनले संविधान अनुरूप तोकिएको स्थायी मुकाम कार्यान्वयनका सन्दर्भमा अनेक खालका गलत टीकाटिप्णी नगर्न पनि सञ्चार माध्यमलाई आग्रह गरे ।

सो अवसरमा लुम्बिनी प्रदेशका राजनीतिक सल्लाहकार अमर डाँगीले राजधानी संविधान अनुरूप घोषणा भइसकेकाले यसमा उत्तेजना नफैलाउन पनि सबैलाई आग्रह गरे । यहाँ राजधानी आइसकेपछि हरेक पालिकाले रचनात्मक र उत्पादनमूलक काम गर्नुपर्ने बताउँदै उनले बुटवललाई आर्थिक राजधानी बनाउन लागेको पनि बताए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाकै भवनमा एउटा मन्त्रालय र एउटा कोष तथा लेखा नियन्त्रण कार्यालय राख्न सकिने र अन्य तीनवटा वडा खाली गरी चारवटा मन्त्रालय पनि राप्ती गाउँपालिकाका वडामा राख्न आफू तयार रहेको बताए । अन्य मन्त्रालय र विभागहरूलाई पनि राप्ती प्राविधिक शिक्षालयमा स्थापित गर्न सकिने उनको अभिव्यक्ति थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले राजधानी कार्यान्वयनका विषयमा तुलसीपुरले सबैखाले सहयोग गर्न तयार रहेको बताएका थिए ।

त्यसका लागि स्वागतद्वार निर्माणदेखि झाँकी व्यवस्थापनमा पनि आफ्नो पालिका तयार रहेको उनको अभिव्यक्ति थियो । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले एक/दुईवटा मन्त्रालय लमहीले व्यवस्थापन गर्न आतुर रहेको बताएका थिए भने केही मन्त्रालय आवश्यक परे आफ्नो पालिकामा राख्न पनि आफू तयार रहेको वंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले बताएका थिए ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, राजपुर गाउँपालिकाका शरदकुमार बुढाथोकी, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, बबई गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्का, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीलगायतले राजधानी कार्यान्वयन र व्यवस्थापनका लागि प्रदेश सरकारले दिएका सबै जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै स्थानीय सरकारका प्रमुखहरूले आफूहरूले पनि राजधानी दाङ आएको खुसियालीमा आ–आफ्नै कार्यक्रमको आयोजना गर्ने पनि बताएका थिए ।

सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती, प्रदेश अर्थ सचिव नेत्र सुवेदी, सहसचिव प्रेमप्रसाद आचार्यलगायतको सहभागिता रहेको थियो । अन्य कर्मचारी राप्तीमा आउने क्रम पनि जारी छ । कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका सबै पदाधिकारीको उपस्थिति रहेको थियो ।

यसैबीच कार्यक्रममा नव निर्वाचित प्रदेशसभा सदस्य इन्द्रजित थारू, अर्थ सचिव, मुख्यमन्त्री, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार अमर डाँगीलगायतलाई माला र अविरले सम्मान गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्