अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा – Kanika Khabar
Saturday, June 14Nepali News Portal

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

    मा प्रकाशित

शुक्रबार राति भएको खेलको निर्धारित र अतिरिक्त समयमा २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले गोल गरे। उसका लागि एन्जो फर्नान्डेज पेनाल्टीमा चुके।

नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे पनि भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके।

 

रोचक बनेको खेलमा २-० को अग्रता गुमाएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो। उसका लागि नहुएल मोलिनाले गोल गरेका थिए। यो उनको विश्वकपकै पहिलो गोल हो। उनलाई मेस्सीले पास मिलाएका थिए।

खेलको ७३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेसीले दोस्रो गोल गरेका थिए। मेस्सीको गोलसँगै अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो।

खेलको ८३ औं मिनेटमा नेदरल्यान्ड्सका वोउट वेघोर्स्टले गोल गर्दै खेललाई २-१ मा फर्काएका थिए। खेलको इन्जुरी समयमा उनै वेघोस्र्टले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा फर्काएका हुन्।

निर्धारित समयमा २-२ को बराबरी भएपछि थपिएको ३० मिनेटमासमेत गोल हुन सकेन। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेर सकिएको हो।

उता ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा पुगिसकेको छ। अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ। शुक्रबारको खेलसँगै ब्राजिल र नेदरल्यान्ड्स भने विश्वकपबाट बाहिरिएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्