दाङ, २८ मंसिर ।
निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तीम मत परिणाम घोषणा गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको निर्वाचनको परिणाम घोषणा गरेको हो ।
जस अनुसार प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० गरी ८२५ जना निर्वाचित भएको घोषणा गरिएको छ । प्रतिनिधिसभातर्फ पुरुष १८४ (६६.९० प्रतिशत) र महिला ९१ (३३.१० प्रतिशत) जना निर्वाचित भएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ पुरुष ३५० (६३.६४ प्रतिशत) र महिला २०० (३६.३६ प्रतिशत) जना निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार मंसिर ४ गतेको निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवार धरौटी रकम जफत भएको छ । निर्वाचन आयोगले बुधबार गरेको पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचनमा ४ हजार २८५ जनाको धरौटी जफत भएको जानकारी दिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।
जसअनुसार प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जना तथा प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जना गरी जम्मा ४ हजार २८५ जना (७६ दशमलव शून्य ४ प्रतिशत) उम्मेदवारहरूको धरौटी रकम जफत भएको आयोगले जनाएको छ ।
त्यसैगरी, समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ । प्रतिनिधि सभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दल र प्रदेश सभातर्फ प्रदेश नं. १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ ।