डा. राजु अधिकारीको उपन्यास सत्यहरण विमोचित – Kanika Khabar
Friday, April 19Nepali News Portal

डा. राजु अधिकारीको उपन्यास सत्यहरण विमोचित

    मा प्रकाशित

दाङ, ७ माघ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा शनीबार दाङको घोराहीमा साहित्यकार डा. राजु अधिकारीको उपन्यास ‘सत्यहरण’ विमोचन गरिएको छ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ठ आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दाङका साहित्यकार तथा वुद्धिजिवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

समारोहमा पुस्तकको समिक्षा गर्दै सहित्यकार पुष्कर रिजाल ‘पुष्प’ले उपन्यासले हाम्रो समाजले भोगिरहेको एउटा जल्दोबल्दो समस्यालाई सरल तर सटिक रूपमा चित्रण गर्ने उपन्यासको रूपमा आएको बताउनु भयो ।

पूर्वीय धर्म, संस्किति, सभ्यता र दर्शनमाथि विभिन्न तरिकाले भैरहेका आक्रमणको विषयलाई मूल विषय बनाएको उपन्यासमा लेखकले नेपालको सन्दर्भमा कसले र कसरी यो काम संचालन गरिरहेको छ र यसमा पद, पैसा र अन्य व्यक्तिगत स्वार्थको लागि उच्च ओहदामा बसेका शिक्षित व्यक्तिहरू कसरी प्रयोग भैरहेका छन् भन्ने कुरालाई उजागर गर्ने प्रयास लेखकले गरेका छन्। मूल विषयसँगै लेखकले पुस्तकमा प्रेमलाई पनि स्थान दिएका कारण उपन्यास रोमाञ्चक पनि बनेको छ। उपन्यासका दुई मुख्य पात्र रक्षा र कैलाशको प्रेम उपन्यासको सुरुवात देखि अन्तसम्म नै प्रेमका अनेक वाधा अवरोध पार गर्दै अगाडि बढ्छ ।

स्वैर कल्पना र विज्ञान कथामा कलम चलाउने लेखकले यो उपन्यासमा पनि यी दुवै विधाको थोरै भएपनि प्रयोग गरेका छन् जसले गर्दा उपन्यास झन् रोचक बनेको छ। उपन्यासको मूल आकर्षण चाहिँ यसको रहस्य हो जुन कुरा उपन्यासको अन्तमा मात्र गएर खुल्छ। उपन्यासमा घटेका घटनाहरू कस्ले, किन र कसरि घटाइरहेको छ भन्ने कुरा पूरै उपन्यास नपढी कल्पना गर्न सकिदैन।

साे कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी, उपन्यासका लेखक डा राजु अधिकारी, प्रकाशक वीरिडकाे तर्फबाट राजीवधर जाेसी लगायतले पुस्तकको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
‘सत्यहरण’ नेपाल भरीका प्रमुख पुस्तक पसल र अनलाईन मार्फत उपलब्ध हुने र पुस्तकको विद्युतिय संस्करण (इ-बुक) थुप्रै डट कम मा उपलब्ध हुने प्रकाशक वीरीडले जनाएको छ । २ सय ८४ पृष्ठ को पुस्तकको मूल्य रू. ४७५ तोकिएको लेखक तथा प्रकाशक जानकारी गराएका छन् ।

परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजिकरण परिषद् दाङ शाखाका सचिव प्रकाश के सीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्