गौतमसहित तीन जना सिफारिस – Kanika Khabar
Thursday, April 18Nepali News Portal

गौतमसहित तीन जना सिफारिस

    मा प्रकाशित

दाङ, १० माघ ।

लुम्बिनीमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको माघ २५ गते हुने उप निर्वाचनका लागि नेपाली कांग्रेसले तीनजना नेताको नाम सिफारिस गरेको छ । नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । कांग्रेसबाट दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश राठौरको नाम सिफारिस भएको छ । गौतम र आचार्य पुर्वजिल्ला सभापति हुन् ।

आचार्य २०६४ सालमा हालका प्रधानमन्त्री प्रचण्डसँग संविधानसभा चुनावमा प्रतिस्पर्धी हुन् । बर्दियाका राठौर पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् । उनीहरूमध्येबाट १ जना उम्मेदवार बन्नेछन् । माघ ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका प्रदेश निर्वाचन कार्यालय दाङले सार्वजनिक गरेको छ । नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले प्रदेशका १२ वटै जिल्लाबाट नाम संकलन गरेर तीमध्ये ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको जानकारी दिए ।

‘तीन जनामध्ये पार्टीमा गरेको योगदान, क्रियाशीलता र वरिष्ठताको आधारमा केन्द्रले एकजनालाई उम्मेदवार बनाउँछ’, सभापति पुनले भने । नेकपा एमालेले भने उम्मेदवारको टुंगो लगाउन बाँकी छ । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी केन्द्रसँग समन्वय गरेर सहमतिमै उम्मेदवारको टुंगो लगाउने बताए । ‘ प्रदेश तहमा सामान्य छलफल भएको छ तर केन्द्रीय नेतृत्वबाट आउने राय सुझाव र निर्देशनका आधारमा उम्मेदवार टुंगो लाग्छ’–कंडेलले भने । प्रदेशका १ सय ९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २–२ तथा राप्रपा र जनता प्रगतिशीलले १–१ स्थानमा जितेका छन् ।

यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा,नागरिक उन्मुक्तिले ४–४, जसपा,लोसपा,जनमतले ३–३, जनमोर्चा र नेकपा एसले १–१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्ने पाउने व्यवस्था रहेको छ । लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरूको स्पष्ट बहुमत छ । माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने उपनिर्वाचनका लागि माघ ८ गते मतदाता नामावली प्रकाशन भइसकेको छ ।

त्यसैगरी माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । उपनिर्वाचनबाट निर्वाचित सदस्यको कार्यकाल करिब १ वर्षमात्रै हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्