पढेर जागिर होईन उद्यमी बन्ने हो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पढेर जागिर होईन उद्यमी बन्ने हो

    मा प्रकाशित

दाङ, २० माघ ।

दिपेन्द्र मावि कक्षा १० मा पढ्ने जुना परियारलाई उद्यमशिलतामा निकै चासो थियो । पढेर फुर्सदको समयमा उनी घरमा केही न केही उद्यम गरिरहेकी हुन्थिन् । पढेर राम्रो उद्यमी बन्ने उनको सपना पनि थियो । तुलसीपुर मेट्रो कलेज र ग्रिन फाउन्डेसनको सहयोगमा सञ्चालित उद्यमशिलता कार्यक्रममा सहभागी भएपछि उनको सपना थप मजबुद भएको छ । “ मलाई पढेर जागिर खाने भन्दा पनि आफुले केही उद्यम गर्ने कुरामा धेरै चासो छ, तालिम पाएपछि धेरै गर्न सकिन्छ जस्तो लागेको छ” उनले भनिन् । कृषिमा आधारित उद्यम गर्ने उनको सोच रहेको छ ।
माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको कक्षा १० मा अध्ययरत विद्यार्थी लेखराज देवकोटालाई पनि उद्यमशिलताका बारेमा जानकारी लिन पाउँदा निकै खुसी लागेको छ । आफ्नै गाउँठाउँमा बसेर काम गर्ने चाहना बोकेका देवकोटालाई सीप सिकेर स्थानीयस्तरमै काम गर्ने रहर छ । “मलाई त सानोतिनो केही काम भएपनि आफ्नै ठाउँमा गर्न मन लागेको छ , तालिम पाएपछि झनै आँट बलियो भएको छ” देवकोटाले खुसी हुँदै सुनाए ।
विक र देवकोटाजस्ता सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई ग्रीन फाउन्डेशनको सहकार्यमा तुलसीपुर मेट्रो कलेजले उद्यमशिलता, पढ्दै कमाउँदै र वातावरण संरक्षणका बारेमा विभिन्न कुराहरु सिकाइरहेको छ । सानैदेखि विद्यार्थीहरुलाई उद्यमशिलताका बारेमा सिकाउँनका लािग यस्तो अभियान सञ्चालन गरिएको ग्रिन फाउन्डेशनका सुरेश रावतले जानकारी दिए । उनले विभिन्न ६ वटा सामुदायिक विद्यालयहरुमा करिब ५ सय विद्यार्थीहरुलाई यस्तो अभियानका बारेमा जानकारी गराएको बताए । “हामीले केही नमुना विद्यालय छनोट गरेर पहिलो चरणको अभियान सम्पन्न गरेका छौ, विस्तारै अन्य विद्यालयहरुमा पनि पुग्ने योजना रहेको छ । ” रावतले भने ।
रावतले हरेक विद्यालयमा उद्यमशिल समुह गठन गरिएको र उद्यमशिलता कार्यक्रम सञ्चालनका लागि समुहका विद्यार्थीहरुलाई परिचालन गरिने पनि उनको भनाई थियो ।
उद्यमशिलताको तालिमसँगै आवश्यकताअनुसार विभिन्न सीपमुलक तालिम पनि सञ्चालन गर्ने तयारी गरिरहेको तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले जानकारी दिए । “हामीले उद्यमशिलता तालिम लिएकाहरुको रुचि, चाहना र आवश्यकताका आधारमा विभिन्न तालिमहरु पनि दिनेछौ” कलेज प्रमुख आचार्यले भने । उनले तुलसीपुरलाई उद्यमीहरुको सहरकारुपमा विकास गर्नका लागि कलेजले विभिन्न उद्यमशिलताका कार्यक्रम पनि सञ्चालन गरिरहेको जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्