काङ्ग्रेस थाल्यो विपक्षी गठबन्धन बनाउने तयारी – Kanika Khabar
Friday, April 19Nepali News Portal

काङ्ग्रेस थाल्यो विपक्षी गठबन्धन बनाउने तयारी

    मा प्रकाशित

दाङ, २१ माघ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । आज बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
गृह मन्त्रालय र राष्ट्रपति चुनावको विषयमा सत्तारुढ दलहरुबीच खटपट भइरहेको बेला नेपाली कांग्रेसले विपक्षी गठबन्धन बनाउने तयारी थालेको छ । यही तयारी अनुसार कांग्रेसले आज एकीकृत समाजवादी, जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गर्दैछ ।

राष्ट्रिय सभाको उपचुनाव र राष्ट्रिय सभामै उपाध्यक्षको चुनावलगायत समसामयिक विषयमा छलफलको लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ । राष्ट्रिय सभा उपाध्यक्षको लागि भोलि उम्मेदवारी दर्ता र पर्सि २३ गते चुनाव हुने कार्यतालिका छ ।

अस्ति बिहीवार बसेको कांग्रेस संसदीय कार्यसमितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता साझेदार दल र विपक्षी मोर्चाबीच छलफल गरेर उम्मेदवारी टुङ्गो लगाउने निर्णय गरेको थियो । यस्तै २५ गते लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपचुनाव हुँदैछ । उपचुनावको लागि विपक्षी मोर्चाबाट कांग्रेसले उम्मेदवार खडा गरेको छ । उपचुनावको लागि एमालेका कुमार दसौदी, नेपाली कांग्रेसका माधव प्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका गजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका छन् ।

विपक्षी दलहरुबीच आज हुने बैठकमा राष्ट्रिय सभाको उपचुनावको तयारी र राष्ट्रिय सभा उपाध्यक्षमा पनि साझा उम्मेदवारको विषयमा कुरा हुने कांग्रेसले जनाएको छ । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि भएको सभामुख र उपसभामुख चुनावमा कांग्रेस, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा एक ठाउँ थिए ।

विपक्षी मोर्चालाई राष्ट्रपतिको चुनावसम्म लैजाने र राजनीतिक परिस्थिति हेरेर राष्ट्रपतिमा उम्मेदवार अगाडि सार्ने कांग्रेसको रणनीति छ । सत्ता गठबन्धनभित्र राष्ट्रपति एमालेलाई दिने सहमति भए पनि पछिल्लोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा साझा उम्मेदवार हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्