चित्रकार मिठ्ठु थारूको चित्रकला तथा मूर्तिकला मोह – Kanika Khabar
Friday, April 19Nepali News Portal

चित्रकार मिठ्ठु थारूको चित्रकला तथा मूर्तिकला मोह

    मा प्रकाशित

लिलाधर वली
दाङ, २० फागुन ।

चित्रकार मिठ्ठु थारूको चित्रकला तथा मूर्तिकलामोह लोभलाग्दो छ । ३४ वर्षीय मिठ्ठुले हिडडुल गर्दा कुनै अवस्था अथवा दृश्यले छोयो भने त्यसलाई दुरुस्त चित्रमा उतारिदिन्छन् । उनमा भएको त्यही कलाको खुवीले चित्रकला तथा मूर्तिकलामा लागेको छोटो समयमै सयौँ चित्र तथा मूर्तिहरू बनाउनुका साथै रहरमा सिकेको सीपबाट राम्रो आम्दानी लिने गर्दै आएका छन् ।

थारू कला, संस्कृति र जीवनशैलीमा आधारित चित्र तथा मूर्तिकलामा विशेष दख्खल राख्ने कैलाली जिल्ला जानकी नगरपालिका–३ भगतपुर निवासी मिठ्ठु पश्चिम तराईका जिल्लामा लोकप्रिय चित्रकारका रूपमा चिनिन्छन् । घरको कमजोर आर्थिक अवस्थाका कारण १२÷१३ वर्षको उमेरमा भक्तपुरमा साहुको घरमा कामदारका रूपमा बसेर अध्ययन गरेका उनले चित्र तथा मूर्तिकलासम्बन्धी धेरै ज्ञान त्यही सिकेका हुन् ।

सानैदेखि चित्रकलामा रुचि राख्ने मिठ्ठुलाई सुरुमा घरपरिवार र आफन्तको साथ भने भएन । जसले गर्दा २०६४ मा एलएलसी पास भएपछि उनी चित्रकलासम्बन्धी अध्ययन गर्न चाहे पनि कमर्श पढ्न थाले । दुई वर्ष कमर्श अध्ययन गरे पनि १२ पास गर्न सकेनन् । पटक–पटक व्याक विषयको जाँच दिए पनि नकटेपछि करिब ७ वर्ष पढाइ छुट्न पुग्यो । त्यो खाली समयमा उनले चित्रकलामा ध्यान दिए । घरको काम सकेपछि साँझ–बिहान फुर्सदको समयमा चित्र बनाउनेदेखि केही नयाँ सिक्नका लागि घरनजिकै रहेको आर्ट ग्यालरीमा पुग्ने गरेको बताउँछन् ।

त्यहाँ अरूले बनाएका चित्रहरू हेर्ने र घरमा आएर आपूmले पनि चित्रहरू बनाउने गरेको बताउँछन् तर घरमा चित्र बनाउनका लागि न भनेजस्तोे कलर हुन्थ्यो न राम्रो कागज । त्यसैले खाली कागजमा पेन्सिलले स्केच कोरेर कतिपटक भाँडा माझ्ने निलो तथा हरियो रँगका सावुनलाई भिजाएर चित्रहरूमा रँग भर्ने गरे । एक दिन ती आफैले बनाएका चित्रहरू भक्तपुरकै एउटा ग्यालरीमा विक्री भएपछि थप हौसला बढेको उनी बताउँछन् । उनले बनाएका तीनवटा चित्रहरू पहिलो पटक हिमाली दृश्यको ठूलो चित्र चार हजार र साना चित्रहरू दुई–दुई हजार रूपैयाँमा विक्री भएका थिए ।

‘चित्रकला बनाए पनि कतै देखाउने अवसर पाएको थिएन । ग्यालरीमा चित्रहरू बनाउने र किनबेच हुने गरेको देखेको थिएँ’, उनले भने, ‘त्यही कारण मैले बनाएका चित्रहरू त्यहाँ लगेर देखाए । मालिकलाई मन परेछ, चित्रहरू किनिदिनुभयो ।’ पहिलो पटक विक्री भएका चित्रहरूले उनलाई कमाई मात्रै दिएनन्, चित्रकला अध्ययनसँगै अघि बढ्नका लागि थप हौसला दिएको उनी बताउँछन् । त्यसपछि चित्रकला अध्ययनका लागि विजेश्वरी फाइन आर्टमा कक्षा ११ र १२ पढ्े । त्यहाँ चित्रकलासँगै मूर्तिकलासम्बन्धी ज्ञान सिकेको उनले बताए ।

पढाइका क्रममा उनमा भएको चित्रकला तथा मूर्तिकलासम्बन्धी सीपलाई गुरुहरू अनील महर्जन र रविन महर्जनले चित्रकला र पूर्णकाजी शाक्यले मूर्तिकलासम्बन्धी धेरै सिक्ने अवसर दिए । त्यही सीपका कारण पछिल्लो समय विभिन्न ठाउँहरूमा चित्र तथा मूर्तिहरू बनाउने गरेको बताउँछन् । उनकाअनुसार लुम्बिनी तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूका पार्क, होमस्टे, मन्दिर, दरबार, ठूला होटेलहरूलगायतका विभिन्न पर्यटकीय ठाउँहरूमा चित्र तथा मूर्ति बनाउँदै आएका छन् ।

चित्रकलासम्बन्धी नेपाल ललितकला क्याम्पसमा स्नातक तह अध्ययन गरिरहेका मिठ्ठु आफूलाई मन लागेको विषय अध्ययन गरे सफल भइने बताउँछन् । ‘मलाई पढ्न मन चित्रकला थियो तर सुरुमा कमर्श विषयमा प्लस–टु पढेँ तर पास गर्न सकिनँ’, उनले भने, ‘पछि चित्रकला पढ्न थालेँे, त्यहाँ फेल नै नभएर स्नातक तहको अन्तिम तयारीमा छु ।’ नवयुग आर्ट स्टुडियो कैलालीमा खोलेका उनले पढाइसँगै व्यावसायिक रूपमा चित्रकला तथा मूर्तिकलामा अघि बढ्ेका हुन् ।

चित्र तथा मूर्तिहरू बनाउनका लागि विभिन्न ठाउँबाट मागसँगै पैसा समेत कमाउन थालेपछि घरपरिवार पनि अहिले सन्तुष्ट रहेको उनी बताउँछन् । ‘सुरुमा घरपरिवारबाटै यस्तो काम गर्नुहुन्न । चित्रकलामा भविष्य छैन भन्नुहन्थ्यो’, विगत सम्झँदै उनी भन्छन्, ‘अहिले चित्रहरू बनाउन देशका विभिन्न ठाउँबाट बोलाउँदा खुसी हुनुहन्छ ।’

चित्रकला तथा मूर्तिकलामा आर्थिक आम्दानीसँगै रमाइरहेका मिठ्ठुले चखौरामा दंगीशरण राजाको मूर्ति पहिलो पटक आपूmले बनाएको बताउँछन् । ‘दंगीशरण राजाको चर्चा सुनेको थिएँ तर कतै फोटो समेत रहेनछ । मलाई चखौरामा उहाँको मूर्ति बनाउने अवसर प्राप्त भयो’, उनले भने्, ‘तर उहाँको मूर्ति बनाउनका लागि हेर्ने एउटा फोटो पनि थिएन । त्यसैले थारू समुदायका अग्रजहरूको कुरा सुनेर दंगीशरण राजाको जीवनशैली बारेमा अध्ययन गरेर मूर्ति बनाएको हुँ । पछि धेरै मन पराइदिनुभयो ।’

उनले २०७३ सालमा तत्कालीन थारू राजा दंगीशरणको मूर्तिसँगै संग्रहालयमा चित्रहरूसँगै अन्य मूर्तिहरू समेत बनाउँछन् । चखौरासँगै मुख्य रूपमा पाल्पाको रानी महल दरबार, बाँकेको गाभर होमस्टे, बर्दिया बर्काभौँरा र बाँसगढीचोक र कैलालीको थापापुरलगायतका विभिन्न ठाउँमा २ सय ५० बढी चित्र तथा करिब एक सयको हाराहारीमा मूर्तिहरू निर्माण गरिसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्