छविलाल कोपिला
कविता – समय
जब घण्टाघरले
समयको अङ्क ठोक्छ
तब मात्र मैले
समयको गति चाल पाउँछु
घडीको सुई
दिन–रात, महिना, गते र बार सधैं दोहोरिने प्रक्रिया हो
भित्तामा पात्रो झुन्ड्याइयो
पोहोर पनि र परार पनि
र, यसपालि पनि टाँगियो उसैगरी
र भनियो नयाँ वर्षको नयाँ पात्रो
त्यसो त
पोहोरको पात्रो पनि नयाँ भनियो
परारको पनि नयाँ नै भनियो
यसपालिको पात्रो त नयाँ हुने नै भयो
तर, म देखिरहेछु
आगत र बिगतका सबै पात्रोहरूका पात्रहरू
उही पुरानै छन्
हामीले समय बदलियो भन्यौँ
युग फेरियो पनि भन्यौं
तर,
घण्टाघरले हरदम भनिरहेछ कि
सिंहदरबार खुलेआम देश लुटिरहेछ
र, हामी रमितेहरू बेखबर रमिता हेरिरहेछौँ
रंग फेरिए होलान् समयको
तर, समय फेरिएको अनुभूति छैन
किन कि रात हिजो पनि थियो आज पनि छ
दिन हिजो पनि थियो, आज पनि छ
महिना, बार, गते हिजो जस्तै आज पनि छन्
सब सब उही भएपछि
नयाँ र पुरानो म कसरी छुट्याउँ ?
हामीसँग केही भ्रमहरू जरुर छन्
चप्पलहरू दरबार छिरेपछि जुत्ता भएर फर्किन्छन्
झुपडीहरू दरबार छिरेपछि महल भएर ठडिन्छन्
यो क्रम हिजो पनि थियो
यो आज पनि छ
बस् ! सम्झिनुस्
यहाँ रंग फेरिएको हो
युग फेरिएको होइन ।
भित्ते–पात्रोका अंक तालिका झैं
मेरो देशको पात्र तालिका पनि उस्तै लाग्छ
किन कि शासन फेरिन्छ
तर, शासक फेरिदैनन्,
उही पात्र, उहीँ आचरण, उही व्यवहार
यसरी हाम्रो भित्ताले हरेक वर्ष पात्रो फेर्छ
तर, पात्र फेर्दैन
घण्टाघर अझै जाग्राम छ
र, ठोक्छ घण्टा डङडङ
हामी समय फेरियो भन्छौँ
समय गतिशील छ भन्छौँ
तर, समय सूचक
उही पुरानो चक्रमा घुमिरहेछ ।