लुम्बिनी प्रदेशको नेतृत्व खोज्दै काङ्ग्रेस – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

लुम्बिनी प्रदेशको नेतृत्व खोज्दै काङ्ग्रेस

    मा प्रकाशित

दाङ, ११ चैत्र ।

वर्तमान सरकारमा कांग्रेस सहभागी हुने भएपछि लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउने सम्भावना देखिएको छ। कांग्रेस यही सम्भावना सफल बनाउन लागिपरेको छ। नेतृत्व लिने पहल थालिरहेको छ। कांग्रेसले सत्ताको नेतृत्व पाए डिल्ली बहादुर चौधरी मुख्यमन्त्री बन्ने छन्। उनी कांग्रेस संसदीय दलका नेता हुन्।

माओवादी र कांग्रेस बिच सरकारको नेतृत्वमा दाबी रहने देखिएको यो प्रदेशमा कांग्रेसले ‘अघिल्लो सरकारको कार्यकाल’ आफूले नेतृत्व पाउनु पर्ने प्रमुख आधार बनाएको छ। तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्व सरकार ढाल्दा कांग्रेस र माओवादी बिच भएको मौखिक सहमतिलाई आधार मानेर सरकारको नेतृत्व आफूले पाउनु पर्ने अडानमा कांग्रेस छ।

त्यो बेला माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने भन्ने मौखिक सहमति भएको थियो। तर यो सहमतिलाई कार्यान्वयन नगरेर सरकारको पुरै कार्यकाल माओवादीले नै चलाउने भन्ने निचोडमा यी दुई दल पुगेका थिए।

‘अघिल्लो सरकारको बचेको कार्यकाल माओवादी र कांग्रेसले आधा/आधा चलाउने भन्ने सहमति हो नि,’ कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले भने, ‘तर हामीहरुले माओवादीकै मुख्यमन्त्रीलाई पुरै अवधि चलाउनुस् भनेर छोडेका हौँ, अब त्यो बेला हामीहरुले माओवादीलाई पुरै सरकार चलाउन अवसर दिएकाले अहिले स्वतः सरकारको नेतृत्व कांग्रेसले नै पाउनु पर्छ।’

कांग्रेस र माओेवादी बिच अहिले पनि कार्यकालको आधा/आधा अवधि सरकार चलाउने भन्ने सहमति हुने र सुरुवाती चरणमा कांग्रेसले सरकारको नेतृत्व लिने कांग्रेस संसदीय दलका नेता चौधरीले बताए।

‘अहिले पनि सरकार आधा÷आधा चलाउने भन्ने नै सहमति हुन्छ,’ उनले भने ‘सुरुमा कांग्रेसले र बचेको आधा अवधि माओवादीले सरकारको नेतृत्व गर्ने गरी सहमति बन्छ।’

सोही अनुसार प्याकेजमा सहमति गर्न कांग्रेस लुम्बिनीले केन्द्रलाई सुझाईरहेको छ। ‘हामीहरुले हाम्रो पार्टीको नेतृत्वलाई सुरुमा कांग्रेसले सरकारको नेतृत्व गर्ने गरी सहमति  गरिनुपर्छ भनेर सुझाव दिएका छौँ,’ चौधरीले भने ‘गठबन्धनको उपल्लो तहमा हुने प्याकेजको सहमति यो प्रदेशको नेतृत्व कांग्रेसकै हुने गरी बन्छ।’

यससँगै कांग्रेसले गठबन्धनको ठुलो दलको हैसियतले पनि सरकारको सुरुवाती नेतृत्व आफ्नो रहनु पर्ने दाबी गरेको छ। ‘हामीहरु गठबन्धनको ठुलो दल हौँ, तसर्थ पनि सरकारको सुरुवाती नेतृत्व हामीले गर्न पाउनुपर्छ भन्ने हो,’ चौधरी भन्छन्, ‘त्यससँगै एमालेको नेतृत्व रहेको यो सरकारको नयाँ नेतृत्व कांग्रेसले पाउनुपर्छ भन्ने तर्क पनि रहन्छ।’

यता माओवादीले सत्ताको नेतृत्वका विषयमा भने केही बोलेको छैन। लुम्बिनी प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्छ भन्ने मनसायमा माओवादी रहेको भए पनि सरकारको नेतृत्वका लागि सशक्त दाबी भने उसले गरेको छैन। उसले पार्टी केन्द्रको निर्देशन कुरेर बसेको छ।

‘अहिले हामीहरु यो त्यो भन्दा पनि हाम्रो पार्टीको केन्द्रीय समितिको निर्देशनलाई कुरेर बसेका छौँ,’ भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका माओवादी सांसद ईन्द्रजीत चौधरीले भने, ‘प्याकेजमा हुने सहमतिका आधारमा हामीहरु अघि बढ्छौँ।’

यसै गरी वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने विषय पनि केन्द्र तहमा हुने प्याकेजको सहमतिले निर्धारण गर्ने बताए। ‘सरकारको नेतृत्व कसले गर्ने भनेर प्याकेजमा सहमति भयो भने सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ,’ मन्त्री चौधरीले भने, ‘अहिले नै फिर्ता लिएर के नै अर्थ रहन्छ र?’

यता गठबन्धनमा आबद्ध केही साना दलहरुले समेत अबको सत्ताको नेतृत्व कांग्रेसको भाग पर्ने सम्भावना देखेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले गठबन्धनको ठुलो दलका हैसियतले कांग्रेसले सरकारको नेतृत्व पाउने बताए।

‘अबको नयाँ सरकार कांग्रेसकै नेतृत्वमा रहन सक्ने सम्भावना मैले देखेको छु,’ उनले भने।

अर्को सानो दल नागरिक उन्मुक्ति पार्टीले पनि सरकारको नेतृत्वको प्रमुख दाबेदार कांग्रेस नै रहेको बताउँछ। तर आफ्नो पार्टीले समेत कुनै एक प्रदेशको सरकारको नेतृत्व पाउनु पर्ने माग राखेको यो पार्टीले लुम्बिनी प्रदेशको नेतृत्व आफ्नो दलले पाउन सक्ने सम्भावना पनि रहने यो दलको भनाई छ। ‘हामीहरुले सुदूर पश्चिम प्रदेश पनि छोड्यौँ,’ नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्मराज चौधरीले भने ‘हामीहरुलाई पनि कुनै न कुनै प्रदेशमा सरकारको नेतृत्व त चाहियो, लुम्बिनी हाम्रो भागमा पर्न पनि सक्छ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्