‘शिक्षण सिकाइमा अबको आवश्यकता मन्टेस्वरी विधि मात्र नभई बालड्रोफ विधि पनि हो’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

‘शिक्षण सिकाइमा अबको आवश्यकता मन्टेस्वरी विधि मात्र नभई बालड्रोफ विधि पनि हो’

    मा प्रकाशित

पछिल्लो चरणमा शिक्ष प्रतिस्पर्धाको क्षेत्र बन्दै आएको छ । प्रविधिसँगै भित्रिएका नवीन आयामले शिक्षालाई स्वस्थ प्रतिस्पर्धाको क्षेत्र बनाएको छ । हिजोको शैक्षिक प्रणाली आज अबश्य बदलिएको छ । बिगतका कक्षकोठा बदलिएका छन् । स्रोत साधन थपिएका छन् । सिकाइको प्रणाली पनि बदलिएको छ । दाङकै सन्दर्भमा भन्ने हो भने पनि हिजो प्रविधिमैत्री तथा विश्व परिवेशको शिक्षाका लागि राजधानी तथा छिमेकी देशमा पुग्नुपर्ने समस्या अहिले टरेको छ । जिल्लामा रहेका विद्यालयहरुमा आएको व्यवस्थापकीय परिवर्तन, शिक्षण सिकाइ, स्रोत साधनको उपयोगले जिल्लाको शिक्षा गर्व लाग्ने बन्दै गएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा समयानुकुल शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको विद्यालय हो — राजविद्या पाठशाला । प्रस्तुत छ यसै विद्यालयको विविध पक्षमा आधारित रहेर कनिका खबरले विद्यालयका प्रिन्सिपल टिकाजंग बि.केसँग गरेको कुराकानीको सारसङ्क्षेप (सम्पादक)

राज्यले विभिन्न शैक्षिक योजना अन्तरगत आकर्षक एवम् निःशूल्क पुस्तक लगायत ल्याटप सहितका योजना समेत ल्याएको छ, थुप्रै संस्थागत विद्यालयहरू बन्द हुने अवस्था सृजना भएको देखिन्छ, राजविद्या कुन उद्देश्य बोकेर यो संस्थागत विद्यालयहरूको भीडमा उत्रेको छ ?

योजनाहरू आउनु राम्रो हो भने कार्यनवयन हुन अझ राम्रो, संस्थागत विद्यालयहरूले शैक्षणिक गुणस्तर , व्यवस्थापन चुस्त दुरूस्त र विद्यार्थीमा प्रवाह गरिने असल संस्कार कायम राखिरहने हो भने अवश्य पनि संस्थागत र सामूदायिक विद्यालयहरूको प्रतिस्पर्धा समानान्तर भएरैै अघि बढ्ला तर एक अर्कामा ठोकिन जाने समस्या देखिदैन होला ।
हो, यावत कारणहरूले गर्दा आफ्नो गुणस्तर खस्काइरहँदा भने केही अभिभावकहरूको पहिलो रोजाई बाध्यात्मक रूपमा सामुदायिक विद्यालयहरू हुनेमा दुईमत नहोला र हालको झैं धेरै भन्दा धेरै संस्थागत विद्यालयहरू लकडाउन पछि धरापमा पर्ने मर्ज हुने वा बिक्री हुने स्थिति पनि नदेखिएको होइन , यस्तो अवस्था आउनुका केही सीमित कारणहरू छन जसमा लगानी सुरक्षित नदेखिनु, अस्थाई मुनाफामा रमाउनु , दिगो व्यावस्थापनका योजना नबनाउनु , दक्ष जनशक्तिको अभाव , संस्थागत विद्यालयप्रति राज्यको दृष्टिकोण आदि । देशभरमै शिक्षामा विभिन्न प्रकारको प्रणाली लागु भईरहेको बेलामा हाम्रो प्रदेशको दाङ जिल्लामा सेमी रेसिडेन्सियल मोडल स्कूलको बुझाई अझै पनि प्रष्ट नभई रहेको अवस्था हो । सरल भाषामा भन्नुपर्दा एउटा बालकको स्पष्ट निर्धारित भविष्यका लागि शैक्षिक, सामाजिक, तथा भौतिक विकासमा काम गर्नु , बच्चाको सोचको दायरा फराकिलो बनाउदै उसको प्रतिभालाई प्रष्फुटन गर्नुका साथै हरेक विद्यार्थीले आफूमा नेत्तृत्व क्षमताको विकास गर्न अवसर बनोस अनि विद्यालय कसैको लागि पनि कर नभई रहर बनोस , यस्तो विद्यालयको आवश्यकता पर्दछ, जुन सोच र योजना मूताविक आज राजविद्या पाठशाला यहाँहरू माझ प्रस्तुत भएकोछ ।

अन्य विद्यालयहरू पनि छन, जुन सबैको नारा उस्तै उस्तै छन ,संस्कारका कुरा अनि रंगिन भवनका साथ , कसरी राजविद्यालाई फरक भन्नुहुन्छ ?

विद्यालयहरू सबैको नारा उस्तै उस्तै हुन्छन, तर शिक्षण शैली विगतमा झै परम्परागत, जुन हालसम्म पनि परिवर्तन नभइरहेको अवस्था छ । भवन , भौतिक संरचना लगायतका कुराहरू पनि छन ,पाठ्यक्रम पनि उनै हुन जुन सबैले लागु गरेका छन ,त्यही भएर विगतमा झै अपनाइएको प्रणाली आजसम्म लागु गर्दा सकारात्मक भन्दा नकारात्मक परिवर्तन भएको हो । जसरी, महिनै पिच्छे टेक्नोलोजीमा नमुना परिवर्तन भइरहेको छ , तपाईं हाम्रो चाहनामा पनि परिवर्तन भईरहेकोछ ,यो बुझ्न जरूरी छ । जसरी हामी ले नयाँ मोडलको गाडीमा पुरानो पुर्जा फिट गर्न सक्दैनौ, कुरा बुझ्नुहोला… ओल्ड वाईन इन न्यू बोटल … त्यसै गरी यो पिंढीका केटाकेटीलाई दिईने शिक्षामा प्रणलीको खाँचो छ, रंगिनको कुरा दोस्रो आवश्यकता मात्र हो । व्यावस्थामा परिवर्तन ल्याउन आवश्यक देखिएको छ । हामीले नेपाल सरकारको शिक्षा मन्त्रालयले लागु गरेको पाठ्यक्रमका साथ साथै स्थानीय र हाम्रो पाठ्यक्रमलाई विशेष महत्व दिन्छौं र हरेक सिकाइलाई अन्तराष्ट्रिय पाठ्यक्रमसँग मिलान गर्दै शिक्षण क्रियाकलापमा सहभागी गराउँदछौं । हाम्रो मान्यता प्रविधिलाई आत्मसात् गर्नु र हरेक गृहकार्यलाई परियोजना कार्यमा परिनत गर्न सके शिक्षण र सिकाइको प्रकृतिमा बदलाव ल्याउन सकिन्छ भन्ने हो । समयसँगै वालमस्तिष्कको क्षमताको विकास फरक ढङ्गले हुँदै गर्दा नयाँ खोजका साथ मूलुक अघि बढी रहेको छ । हामी आज पनि पुरानै शैलीमा शिक्षण गछौें भने अवश्य पनि शिक्षित बेरोजगार उत्पादन गर्नेे उद्योग झै हुनेछन विद्यालयहरू । हाम्रो विद्यालयमा पूर्व प्रा.वि कक्षाहरूमा मन्टेस्वरी सँगसँगै वालड्रोफ तथा रेगियो एप्रोचको विधि समेत प्रयोगमा ल्याइएको छ । वालवालिकाको मनोभाव , पौष्टिक आहार, रूचि तथा क्षमता अनुरूप सिकाई क्रियाकलाप अगाडि बढाइन्छ भने, महत्वपूर्ण कुरा ः हामी वालवालिकाको शिक्षक शिक्षिका नभई सहपाठी, मित्र तथा वातावरण निर्माता हौं, अझ सरल रूपमा भन्नु पर्दा सहयोगी हौं , त्यसकारण राजविद्यामा अध्ययनका लागि आउने वालवालिका फरक तरिकाले सिक्न सक्ने र दिगो सिकाइका लागि लाभान्वित हुने वातावरण भएकोले हामी फरकभन्दा पनि हाम्रो शिक्षण प्रणालीमा उत्कृष्टता छ । आम विद्यालयले जे दिन्छ त्यो शिक्षा हो, राजविद्याले दिने सफल र असल जीवन हो, भएन त फरक ?

मन्टेस्वरी भन्ने नाम धेरै जसो अभिभावकको चासोको विषय पनि हो, यहाँले पनि मन्टेस्वरी भन्नुभयो, यसमा र अन्य विद्यालयहरूमा के फरक छ ?

धन्यवाद, महत्वपूर्ण मुद्दा उठान गर्नु भएकोमा, सर्वप्रथमतः मन्टेस्वरी भनेर चर्चा अनि प्रचार प्रसार गर्ने अहिलेका विद्यालयहरूको प्रमुख विषय नै बनेको छ । के हो त मन्टेस्वरी भनी सोध्दा ः विद्यालयमै खाजा खुवाउने अनि सभ्य भाषा प्रयोग गर्ने र गाडीको सुविधा दिने भन्ने गरेको सुनिन्छ । यत्तिकैमा पनि सबै पूर्व प्राथमीक विद्यालयहरूले आफूलाई मन्टेस्वरी स्कुल भन्न रूचाएको प्रवृत्ति पनि नदेखिएको होइन । “मन्टेस्वरी” स्कुल वा विद्यालयकोे पर्यायवाची शब्द होइन, यो त केवल विधि हो , यो विधि अपनाएर अध्ययन अध्यापन गर्दा विभिन्न स्तरका वालमष्तिष्कसँग सजिलै प्रभाव पार्न सकिने हुँदा, उक्त खोज पश्चात डा. मारिया मन्टेस्वरीले सन १९०७ तिर प्रतिपादन गरेको विधि भनी बुझ्नु पर्ने हुन्छ । संसारमा विभिन्न विधिहरू छन् जस मध्येमा अहिले यो विधिको आकर्षण बढेको पक्कै हो । फरक भन्नु पर्दा अन्य विद्यालय र मन्टेस्वरी नाम गरेका विद्यालय एकै हुन , मन्टेस्वरी विधि मात्र हो र जसलाई प्रयोगमा ल्याउन दक्ष जनशक्ति, उपयुक्त कक्षाकोठा , खेल सामग्रीहरू र आधारभूत सेवा सुविधाको व्यापस्थापन जरूरी हुन्छ । सङ्क्षेपमा भन्नुपर्दा मन्टेस्वरी सुविधा होइन विधि हो ।
राजविद्याको कुरा गर्नु पर्दा पूर्व प्रा.विमा हाम्रो विद्यालयमा शिक्षण सिकाइमा मन्टेस्वरी विधि मात्र नभई हामीले बालड्रोफ विधि पनि अपनाउने गरेका छौं ।

सुविधाका नाममा शुल्क महङ्गो भयो भन्छन , यस्तो प्रकृतिको विद्यालय सञ्चालन गर्न लागिरहनुभएको छ , के यस विद्यालयको स्थापना वास्तममै आवश्यक थियो कि अरू केही भन्नुहुन्छ ?

गज्जवको कुरा , मनासिव प्रश्न उठाई दिनुभयो । केही अभिभावकलाई लाग्न सक्ला महङ्गो भनेर, शुल्कका विषयमा भन्नु पर्दा यो आवश्यक शुल्क लिनु नै पर्ने हुन्छ जुन विद्यालय प्रशासनले निर्माण गरेको छ । अब , आवश्यक क्रियाकलापहरू विद्यालयले गर्नु पर्ने नै हुन्छ , जस्तै विद्यार्थीको हकमा आवश्यक परियोजना कार्यहरू, गाडी तथा सवारी साधन सफा र सुविधायूक्त, चमेनागृह स्वस्थकर , पोसाक पनि… यस्तै यस्तै हुन , जसको व्यावस्थापन गर्न केही आर्थिक पाटाहरू सबल बनाउनु पर्ने हुन्छ जुन अभिभावकसँग शुल्क स्वरूप लिनु पर्ने हुन्छ । अब , महङ्गो शुल्क भनिरहँदा शिक्षण शुल्क सामान्य नै छ र केही अतिरिक्त शुल्कहरू सेवा प्रदान गर्दा लिइएको छ । तुलनात्मक रूपमा जिल्लामै गुणस्तरीय सेवा दिँदै सामान्य शुल्कमा अध्ययन गराईरहेको संस्था हो राजविद्या पाठशाला ।
राजविद्याको साँच्चै आवश्यकता छ र यो स्थापना पनि भएको छ । म आफै पनि राजधानी लगायत देशको दुर्गम स्थलहरूसम्म पुगेर शिक्षाको अवस्था नियालेको व्यक्ति हुँ, जीवनको करिव दुई दशक यसैै शिक्षा क्षेत्रमा लगानी गरेको छु ,अब बाँकीको समय पनि म शिक्षा क्षेत्रमै तल्लीन हुनुपर्छ र यो मेरो रूचिको विषय पनि हो । अझ महत्वपूर्ण कुरा त दाङ जिल्लामा सेमी रेसिडेन्सियस स्कुलको नमूना र शिक्षा सुविधा पर्याप्त छैन , जुन केही व्यक्तिहरूको चाहना हुन सक्छ तर मेरो खुला आँखाले देखेको सपना हो निकट भविष्यमा जिल्लाकै नमुना रेसिडेन्सियल स्कुल राजविद्या हुने ।

राजविद्यामा कस्तो छात्रवृत्ति व्यवस्था छ ? विपन्न तथा जेहेन्दार वर्गका विद्यार्थीले पढ्न के गर्ने, कोटा कसरी प्राप्त गर्न सकिन्छ ?

सरकारले निर्धारण गरेको १० प्रतिशत छात्रवृत्ति सरकारले तोकेकै मापदण्ड अनुसार छात्रवृत्ति प्रदान गर्दै आएका छौँ । यसका अतिरिक्त ‘राजविद्या मेधावी छात्रवृत्ति’ पनि हामीले निर्धारण गरेका छौँ । विपन्न तथा जेहन्दार विद्यार्थीका लागि तय गरिएको छात्रवृत्तिका लागि हामीले शैक्षिक सत्रको सुरुवातमा परीक्षा लिने गर्छाँै जसमा कक्षा ८ मा अध्ययन गर्नका लागि परीक्षार्थीले परीक्षा दिने गर्दछन् । वैशाख महिनामा लिइने प्रवेश परीक्षामा सहभागी हुनका लागि विद्यालय दरखास्त आह्वान गर्दछ र परीक्षार्थी मध्येको उत्कृष्ट ३ छनौट हुने गर्दछन् । जेहेन्दारका लागि कम्तिमा ८५ प्रतिशत र विपन्न वर्गका लागि ८० प्रतिशत अङ्क प्राप्त गरेकै हुनुपर्ने प्रावधान रहेको छ । उत्कृष्ट ३ विद्यार्थीलाई कक्षा ८ बाटै निःशुल्क अध्ययन गराउँदै कक्षा १० सम्म शत प्रतिशत छात्रवृत्ति प्रदान गर्ने गर्दछ, जसमा विद्यार्थीको चाहनाअनुरूप दिवा वा आवासीय अध्ययनमा अभिभावकको कुनै पनि पनि खर्च नलाग्ने गरी सम्पूर्ण जिम्मेवारी विद्यालयले लिने गर्दछ । विपन्न वर्गले सम्वन्धित वडा कार्यालयबाट लिएको सिफारिसका आधारमा प्राप्ताङ्कमा १० अंक थप प्राप्त गर्न सक्छन, लगनशील तथा अध्ययनशील त हुनै प¥यो , प्रवेश परीक्षा नै मापदण्ड हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्