राप्ती साहित्य परिषद् दाङको १५ औं साधारणसभा – Kanika Khabar
Thursday, April 18Nepali News Portal

राप्ती साहित्य परिषद् दाङको १५ औं साधारणसभा

    मा प्रकाशित

घोराही । राप्ती साहित्य परिषद् दाङ शाखाको १५ औं वार्षिक साधारणसभा शनिबार घोराहीमा सम्पन्न भएको छ ।

परिषद्का अध्यक्ष दीपक शर्मा (समिर) को अध्यक्षता एवं भाषा आयोगका सदस्य डा. अमर गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्रष्टा सम्मान तथा काव्य उत्सव पनि भएको थियो । ‘परिषद्ले प्रतिभाको उचित छनोट र उहाँहरुको योगदानको कदर गरेको छ’– प्रमुख अतिथि डा. गिरीले भन्नुभयो– ‘भनसुनका आधारमा पुरस्कार दिनेको नेपालमा कमी छैन । परिषद् त्यसबाट बच्दै आएको छ ।’ उहाँले नेपालका कला, संस्कृति, मौलिकतामा बाहिरबाट डरलाग्दो हस्तक्षेप भइरहेको बताउनुभयो । लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रताका पक्षमा अविचलित लागेको परिषद् अब वैदेशिक हस्तक्षेपका विरुद्ध लाग्नुपर्ने उहाँको भनाइ थियो । कोरोनाकालमा समेत भर्चुअल कार्यक्रम गरेर साहित्यक गतिविधिमा निरन्तरता दिएको भन्दै उहाँले परिषद्को प्रशंसा गर्नुभएको थियो ।

सो अवसरमा वरिष्ठ साहित्यकार गणेश विषम, परिषद् दाङ शाखाका पूर्वअध्यक्ष डा. लोकराज पराजुली, सल्लाहकार नगेन्द्रकुमार आचार्य (नगेन्द्र गुरु) लाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार साहित्यकार सुशील गौतम (हापुर), देवबहादुर जयश्वरी रावत स्मृति पुरस्कार साहित्यकार छविकिरण वलीलाई प्रदान गरिएको थियो । सो अवसरमा प्रज्ञासभा सदस्य उत्तमकृष्ण मज्गैयाँ, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेल, लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङका अध्यक्ष नीमबहादुर थापा, नेपाली लेखक संघ कर्णाली प्रदेश अध्यक्ष डा. कृष्णराज डिसी, लेखक संघका कोषाध्यक्ष सन्ध्या रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै रचना वाचन गर्नुभएको थियो ।

कक्षा पाँचमा अध्ययनरत आरोग्य मज्गैयाँ, लघु कथा रचनाकार वसन्तु अनुभव, प्रख्यात गजलकार एवं गायक नारायण नेपालसहित धेरैले आफ्ना कविता, गजल वाचन गरेर सुनाएका थिए । परिषद्का उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सचिव प्रकाश केसीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष एम रेग्मीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्