काठमाडौँ, १५ वैशाख ।
आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले माओवादी केन्द्रका नेतृत्वलाई लक्षित गर्दै ९५ करोड रुपियाँमाथि जिज्ञासा उठाएका छन् । सचेतक गिरीले लडाकुको नाममा लिएको ९५ करोड रुपैयाँबारे माओवादी नेतृत्वसँग जिज्ञासा राखेका हुन् ।
पूर्व लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोध गर्दै सचेतक गिरीले सेना समायोजनताका लडाकुको नाममा माओवादी नेतृत्वले लिएका ९५ करोड रुपैयाँ कहाँ गएको भन्दै प्रश्न गरेका हुन् ।
अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकुहरुलाई अहिले दुई दुई २—२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्नुपर्ने माग गर्दै उनले अनमिनले पुनः प्रमाणीकरण गर्दा यकिन नभएका २ हजार ४५१ जना लडाकुको नामा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको बताए । उनले सो रकम कहाँ गएको प्रश्न गरे ।
प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आर्थिक संकटमा रहेकाले वृत्तभत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेको सरकारले ४,८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको उनले बताए ।


