काठमाडौं, २४ वैशाख ।
सम्माननीय प्रधानमन्त्रीज्यू
कार्यक्रममा उपस्थित सबै अतिथि र सहभागीहरु ।
आठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा पत्रकारिता जगतलगायत सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणको अभियानमा लाग्दै गर्दा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपांगलगायत यस क्षेत्रको विकासमा योगदान गर्नेहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । पत्रकारिता क्षेत्रमा रहेर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरी वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुहुने सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु।
नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्र प्रकाशन आरम्भ भएको दिनको स्मरणमा हरेक वर्षको बैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । यो हाम्रा लागि गौरवको दिन हो । झण्डै सवा सय वर्ष लामो नेपाली पत्रकारिताको इतिहासको समीक्षा गर्दै आजको दायित्वका बारेमा छलफल गर्ने यो महत्वपूर्ण अवसर पनि हो । आजभन्दा १२२ बर्ष पहिले विसं १९५८ वैशाख २४ गते नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाश आरम्भ भएको थियो । सरकारी तहबाट समाचारमूलक पत्रिका प्रकाशन हुन थालेको झण्डै सवा सय वर्ष पुगे पनि निजी क्षेत्रबाट भने २००७ सालको क्रान्तिपछि सञ्चारमाध्यमहरु प्रकाशन/प्रसारण हुन थालेका हुन् ।
२००७ सालको क्रान्तिकै बिचबाट रेडियो प्रसारण आरम्भ गरिएको थियो भने प्रजातन्त्रको आगमनसँगै निजी क्षेत्रका पत्रपत्रिका प्रकाशन हुन थालेका हुन् । प्रजातन्त्रसँगै पत्रकारिता पनि फष्टाउन खोजिरहेकै बेला पञ्चायती व्यवस्थाका कारण पुनः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको जगजाहेर नै छ । पञ्चायतको कालरात्रीमा जनतालाई जागरुक बनाउन नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको ऐतिहासिक भूमिका हामी युगयुगसम्म सम्झिरहने छौं । विभिन्न राजनीतिक आन्दोलनका बेलामा जनतामा जागरण ल्याउन पत्रकारिता क्षेत्रले एतिहासिक भूमिका निर्वाह गर्दै आएको छ । प्रेस स्वतन्त्रता, पत्रकारिताको विकास र समग्र राजनीतिक स्वतन्त्रताका लागि कृष्णसेन इच्छुकसहित तमाम् सपुतहरुले बलिदान गरिसक्नुभएको छ ।
बहुदलीय प्रजातन्त्रको पुनर्वहालीसँगै नेपाली पत्रकारिता क्षेत्रले ठूलो फड्को मार्यो भने गणतान्त्रिक संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता समावेश गरिएपछि प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने गरी स्थापित भइसकेको छ । मैले यी सन्दर्भ किन पनि उल्लेख गर्न खोजेको हुँ भने राजनीतिक परिवर्तन र पत्रकारिताको विकासक्रम एकआपसमा जोडिएका छन् । राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि पत्रकारिता क्षेत्रले ऐतिहासिक भूमिका निर्वाह गरेको छ भने राजनीतिक स्वतन्त्रताभित्र मात्रै प्रेस स्वतन्त्रता संभव हुन्छ र प्रेस स्वतन्त्रता भयो भने मात्रै पत्रकारिताको विकास संभव हुन्छ भन्ने तथ्य पनि पुष्टि भइसकेको छ ।
हिजोको तुलनामा आज पत्रकारिताका आयाममा ठूलो परिवर्तन आएको छ तर पत्रकारिताको विकासको आधारभूत शर्त प्रेस स्वतन्त्रता हो र त्यसको आधारभूत जग राजनीतिक स्वतन्त्रता हो भन्ने यथार्थ आज मात्र होइन, भोलिसम्म पनि कायम रहनेछ । राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुबै क्षेत्रको दायित्व हो ।
सरकार, सरकारी निकाय र यससँग सम्बन्धित व्यक्तिहरुबाट हुने कमी कमजोरी तथा बेथिति र विसंगतिविरुद्ध निरन्तर खबरदारी गर्दै मूलतः राजनीतिक व्यवस्थाको सुदृढीकरण, संविधान र कानुनको कार्यान्वयन तथा त्यसको माध्यमबाट जनताको जीवनमा आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण ल्याउनका लागि नेपालको पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ र यसलाई अझै बढाउँदै लैजानुपर्ने दायित्व थपिएको छ ।
समाजका हरेक क्षेत्रमा नकारात्मकताको प्रवृत्ति बढ्दै गएको छ । गलत क्रियाकलापको आलोचना स्वभाविकै भए पनि राम्रा कामलाई पनि नकारात्मक नै भन्ने प्रवृत्तिको विकास हुन थालेको छ । सहीलाई सही र गलतलाई गलत भन्ने समाचालोचनात्मक चेतभन्दा पनि कुनै एउटा क्षेत्रको बेथितिलाई लिएर समग्र क्षेत्रलाई नकारात्मक देख्ने र सोहीअनुसार धारणा बनाउने प्रवृत्ति बढ्दै जानु समाज विकासको कोणबाट पनि उपयुक्त होइन ।
.यसलाई चिर्दै आम सञ्चारका माध्यहरुले विभिन्न क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई रोडमोडलको रुपमा प्रस्तुत गर्न सके निश्चय नै समाजमा राम्रो पक्ष स्थापित हुँदै जाने छ भने नकारात्मक प्रवृत्तिलाई निरुत्साहित गर्न सकिने छ । नकारात्मक पक्षलाई सुधार्ने र सकारात्मक पक्षलाई समाजको मूल धारको रुपमा स्थापित गर्ने प्रवृत्तिको विकास गर्न पत्रकारिता क्षेत्रको महत्वपूर्ण हुन्छ भन्ने मलाई लागेको छ ।
पत्रकारिता क्षेत्रको विकासका लागि सरकारले धेरै काम गर्नुपर्ने छ । भूकम्प, कोभिड १९ जस्ता श्रृंखलाबद्ध प्रकोपका कारण सिर्जित आर्थिक समस्याले मिडिया क्षेत्र प्रभावित छ । सञ्चार संस्थाहरुको सवलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर छ । आम सञ्चारका माध्यमहरुलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रबर्धन, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धिका लागि संघ र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, एकद्वार तथा समानुपातिक विज्ञापनको कार्यान्वयन, श्रमजीवी पत्रकार कल्याण कोषको व्यवस्थापन, पत्रकार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारका लागि दुर्घटना बीमा, जेष्ठ तथा द्वन्द्वपीडित पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका एजेण्डा सरकारको प्राथमिकतामा रहेका छन् । यीमध्ये केही कार्यान्वयनमा छन् भने बाँकी क्रमशः कार्यान्वयनमा लगिने छ ।
कानुन निर्माणका सन्दर्भमा पत्रकारिता क्षेत्रकै विज्ञहरुको राय सुझावका आधारमा काम गरिरहेका छौं । भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन र आवश्यक कानुन निर्माणमार्फत पत्रकारिता क्षेत्रका समस्याहरु समाधान गर्न सरकार प्रतिबद्ध रहेको छ । पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकार र आम सञ्चारका माध्यमहरुको हकहितका लागि सम्बन्धित सबै क्षेत्रबाट आउने सकारात्मक रायसुझावका आधारमा अघि बढ्न सरकार तयार छ ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा पत्रकारिता क्षेत्रलगायत सबैमा पुनः शुभकामना दिन चाहन्छु । यस गरिमामय कार्यक्रममा उपस्थित भइ नेपाली पत्रकारिता क्षेत्रको विकासका लागि महत्वपूर्ण मार्गनिर्देशन गर्नुभएकोमा सम्मानीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दै सबै सहभागीहरुमा धन्यवाद दिन चाहन्छु । साथै कार्यक्रम यही विसर्जन भएको जानकारी गराउँदै विदा हुन्छु, धन्यवाद ।
मा प्रकाशित


