दाङ, २९ वैशाख ।
घाेराही उपमहानगरपालिकाका उप प्रमुख हुमा डिसीले स्थानीय स्तरका कृषि उत्पादन तथा व्यवसाय बजारीकरण एवम् पर्यटन समृद्धिका लागि कृषि, पर्यटन तथा व्यापार महाेत्सव आवश्यक रहेकाे बताएकी छिन् ।
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ काे समापन कार्यक्रममा प्रमुख अतिथिकाे मन्तव्य राख्दै उप प्रमुख डिसीले कृषि उत्पादनलाई बजारीकरण गर्न महाेत्सवले सकारात्मक अभ्यास थालेकाे बताएकी हुन् ।
समापन कार्यक्रम बाेल्दै उप प्रमुख डिसीले ग्रामीण स्तरका उत्पादन, घरेलु व्यवसाय तथा व्यवसायलाई बजारीकरण मात्र नभई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेकाे बताइन् । `गाउँ गाउँमा कृषि उत्पादन तथा घरेलु व्यवसाय सञ्चालन गर्नुहाेस् बजारीकरण उपमहानगरपालिकाले गर्दछ।´ उनले थपिन्, `कृषकका उत्पादन तथा व्यवसायकाे जिम्मेवारी उपमहानगरपालिकाले लिन्छ, तपाईहरू ढुक्क हुनुहाेस् ।´
वैशाख १४ गतेदेखि सञ्चालन भएकाे कृषि, पर्यटन तथा व्यापार महोत्सव आज सम्पन्न भएकाे हाे ।
नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सव दाङकाे नारायणपुरमा १६ दिनसम्म सञ्चालन भएकाे थियाे ।
संघका अध्यक्ष अभियान बस्नेतकाे अध्यक्षतामा महाेत्सव समापन कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा विशिष्ट अतिथि तथा वाणिज्य संघ लुम्बिनी प्रदेशका काेषाध्यक्ष नारायण भुसाल, जिल्ला दाङ उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष नरेश कार्की, घाेराही उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चैतु कुमार चाैधरी, नारायणपुर खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजाैरे ( श्रवण), ग्रेट बुद्ध एकेडेमी प्रधानाध्यापक निर्मल न्याैपाने लगायतले मन्तव्य राखेका थिए ।
पाँच व्यक्ति सम्मानित
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा विभिन्न क्षेत्रमा याेगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएकाे छ । गीत संगीतकाे क्षेत्रमा याेगदान पुर्याएबवापत यागेश्वर बस्नेत, प्रकाश केसी, वसन्त राठाेर र हुमबहादुर डिसी, थारू संस्कृतिकाे संरक्षणमा याेगदान पुर्याए बापत चन्द्रप्रसाद चाैधरीलाई सम्मान गरिएकाे थियाे ।
महाेत्सवमा आयाेजित एकल लाेक नृत्य प्रतियोगितामा उत्कृष्ट हुने प्रतियाेगीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएकाे छ । प्रतियोगितामा प्रथम सन्ध्या राना , द्वितीय सरिष्मा घर्ती, तृतीय सृष्टि परियार तथा सान्त्वना चाँदनी चन्द र अञ्जु राेका भएका थिए । प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार ५ हजार रहेकाे थियाे ।
संघका निवर्तमान अध्यक्ष महेन्द्र दाहालकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण महासचिव बसन्त न्याैपानेले गरेका थिए ।

साथै महाेत्सवकाे अन्तिम दिन आज शुक्रबार गायिका प्रिती आलेकाे प्रस्तुति रहेकाे थियाे । गायिका आलेले साेल्टी राजाकाे टुमलेटमा पानी, पट्टकाेके झाेरा, नानीकाे कहाँ पर्याे घर, आयाे तेराे सर, तिमी जस्ताे बिग्रे कति बिग्रे, बामरी बामरी, मुने ल है लगायतका गीत प्रस्तुत गरेकी थिइन् । साङ्गीतिक कार्यक्रमकाे सहजीकरण गायिका राशी रिजालले गरेकी थिइन् ।


