दाङ, १ जेठ ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रष्ठिानमा सुत्केरी महिलाको मृत्यु भएपछि उत्पन्न विवादको टुङ्गो लागेको छ । जिल्लाको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।
गएको बिहीबार दिउँसो १ बजेतिर घोराही उपमहानगरपालिका–८ सौडीकी २८ वर्षीया मधु बुढाथोकी केसीको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा थिए । प्रतिष्ठानले बच्चा जन्मिएपछि स्वास्थ्यमा अनपेक्षित जटिलता आई केसीको निधन भएको बताइएको छ ।
सुत्केरीपश्चात् पाठेघर खुम्चिई बन्द हुनुपर्नेमा रक्तस्राव बन्द नभएकाले औषधिको प्रयोग तथा अन्य विधि र प्रक्रियाद्वारा उपचार गरिएको भए पनि रक्तस्राव बन्द नभएपछि आफन्तको स्वीकृतिमा शल्यक्रिया गरी पाठेघर निकालिएको प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ । तर पनि रक्तस्राव नरोकिएकाले मृत्यु भएको प्रतिष्ठानको भनाइ छ ।
उपचारमा संलग्न चिकित्सक र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराएको र बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरुले आइसियुमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएको समेत आरोप लगाएका छन् ।
आइतबार दुवै पक्ष र सरोकारवालाबीचको छलफलले घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाउने सहमति भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चार दिन अघि मृत्यु भएकी सुत्केरीको शब परिवारले हिजो आइतबार बझुेका छन् । प्रतिष्ठानमा भएको छलफल पछि पीडित परिवारजन शव बुझ्न राजी भएका हुन् ।
मृतका दुई सन्तानलाई घोराही उपमहानगरपालिकाले पढाइ दिने, प्रतिष्ठानमा दुई सन्तानको निशुल्क उपचार गरिदिने सहमती भएको छ ।


