दाङ, २७ जेठ ।
नेपाल संस्कृत विश्वविद्यालयमा बाह्र वर्षपछि दीक्षान्त समारोह हुन लागेको छ । २०६८ सालमा विश्वविद्यालयको दीक्षान्त समारोह भएको थियो । त्यसपछि दीक्षान्त समारोह हुन सकेको थिएन । विश्वव्दिालयको दीक्षान्त समारोह प्रत्येक वर्ष हुने प्रावधान रहेको छ ।
यसपटक प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुमति दिएपछि दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताए । “विश्वविद्यालयको दीक्षान्त समारोह प्रत्येक वर्ष हुनुपर्ने हो”, उनले भने, “तर, कुलपतिले अनुमति नदिँदा लामो समयदेखि दीक्षान्त समारोह हुन सकेका थिएन, यस पटक कुलपतिले अनुमति दिएपछि समारोह गर्न लागेका छौँ ।”
विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमै उक्त समारोह हुन लागेको हो । यो पाँचौँ दीक्षान्त समारोह रहेको उनले बताए । यसअघि विसं २०६८ मा पनि १० वर्षपछि मात्रै दीक्षान्त समारोह भएको हो । विसं २०५७ पछि २०६८ मा मात्रै दीक्षान्त समारोह भएको थियो । यसपटक ३१ जेठमा दीक्षान्त समारोह हुन लागेको र सोही कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम छ ।
दीक्षान्त समारोहमा नहुँदा ‘ग्रयाजुएट’ विद्यार्थीले मूल प्रमाणपत्र पाउन सकेका छैनन् । यसपटक विसं २०७७ सम्म १० वटा शैक्षिक शत्रमा विश्वविद्यालयबाट विद्यावारिधी, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री र विएएमएस उत्तीर्ण गरेका चार हजार सात सय ७३ विद्यार्थीलाई कुलपतिले मूल प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।
यस वर्ष लामो समयपछि दीक्षान्त समारोह गरिएको भए पनि अब भने नियमित गर्ने गरी तयारी गरेको विश्वविद्यालयले जनाएको छ ।


