अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता – Kanika Khabar
Monday, February 16Nepali News Portal

अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता

    मा प्रकाशित

तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन् । तीनै जनाको जन्मदर्ता बनेको छैन । सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनको भनाइ छ । ‘विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन’, सुनिताले भनिन्, ‘अहिले घर न घाटको भएकी छु । श्रीमानलाई घरपरिवारले अन्यत्र भगाएका छन् । आफूलाई भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ ।’

सुनिता अहिले राँझास्थित आफ्नो दिदीसँग बस्दै आएकी छन् । ‘श्रीमानले घर छाडेपछि म दिदीसँगै बस्दै आएकी छु । उहाँसँगै मिलेर काम गर्छु । सुख–दुःख पोख्ने गर्छु ।’ विवाह दर्ता भएको भए विदेश गएर पनि कमाउन सकिन्थ्यो तर विवाह दर्ता बनाउन श्रीमान र घरपरिवार राजी छैनन् । पाएको काम पनि गर्न सकिएको छैन ।’

अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताइन् । ‘वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हारेस खाइसकेँ कतैबाट आश्वासन आएन’, उनले भनिन्, ‘जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने ।’

सुनिताकी आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाइन् । ‘बिहे गरेदेखि नै छोरीको दुःख देखेर घरमा शान्तिको महसुस कहिल्यै भएन ।’ उनले भनिन्, ‘छोरीको पीडा देखेर उराठ लाग्छ, सधैँ चिन्ताले सताइरहन्छ । यसको विवाह दर्ता बन्यो र नातिनातिनीहरूको जन्मदर्ता बनेको हेर्न इच्छा छ ।’

सुनिताले बिहे गरेदेखि सुनिताका श्रीमान् र सासु–ससुराले विवादमात्र सिर्जना गरेको आमा विष्णुले बताइन् ।

बैजनाथ वडा नं ४ का वडासचिव तिलक खत्री नागरिकता र विवाहदर्ताका लागि श्रीमान् स्वयं उपस्थित हुनुपर्ने बताउँछन् । बालबच्चाको जन्मदर्ता बनाउन सचिवले नै बालबालिकाको आफन्त र गाउँ समाजलाई साक्षी राखेर बनाउन सकिने उनको भनाइ छ ।

वडासचिव खत्रीका अनुसार रामबहादुर थापालाई वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरेपछि आफूहरूले सबै प्रक्रिया पुर्याएर विवाह दर्ता र नागरिकता सिफारिसका साथै जन्मदर्ता बनाउन मद्दत गर्ने बताए ।

श्रीमान नभएको खण्डमा विवाहदर्ता र नागरिकताका लागि अदालतबाट नाता प्रमाणित कायम गरेको प्रमाणका आधारमा पनि बनाउन सकिने वडासचिव खत्रीले बताए ।रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्