तुलसीपुरको बजेट १ अर्ब ७९ करोड ४५ लाख ६९ हजार ७ सय ५० (पूर्ण पाठसहित) – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

तुलसीपुरको बजेट १ अर्ब ७९ करोड ४५ लाख ६९ हजार ७ सय ५० (पूर्ण पाठसहित)

    मा प्रकाशित

तुलसीपुर, १० असार ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट आज आइतवार सार्वजनिक गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको तर्फबाट प्रवक्ता माधव वलीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै यस आर्थिक बर्षको कुल वजेट रु. १ अर्ब ७९ करोड ४५ लाख ६९ हजार ७ सय ५० अनुमान गरिएको बताए ।

बजेटको पूर्ण पाठ

‘समृद्ध तुलसीपुरः सबैका लागि, सँधैका लागि’

तुलसीपुर उपमहानगरपालिकाको तर्फबाट

१३ औ नगरसभाको दोस्रो वैठकमा

उप प्रमुख श्री स्यानी चौधरीको तर्फबाट

नगर प्रवक्ता श्री माधव वलीद्धारा प्रस्तुत

आ.व. २०८०/८१ को

विनियोजन बजेट वक्तव्य

२०८० असार १० गते

सम्मानितनगर सभाका अध्यक्षज्यू,

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापनासँगै स्थानीय तहको सार्वभौमसत्ता जनताले अनुमोदन गरि पठाएका जनप्रतिनिधिका हैसियतले सम्मानित नगरसभा समक्ष आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्न उपस्थित भएको छु । यस महत्वपूर्ण अवसरमा लोकतन्त्र प्राप्ति तथा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि समय–समयमा भएका राजनीतिक आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

तुलसीपुर उपमहानगरपालिकाको विकास, समुन्नति र समृद्धि नै हाम्रो मुख्य गन्तव्य हो । हामीले नेतृत्व गरेको अवका ४ वर्षमा हामी हाम्रा चुनावी प्रतिवद्धता र समय सान्दर्भिक जनताको चाहना नजिक नजिक पुग्ने प्रयास गर्नेछौ र जनताले अनुमोदन गरेका हाम्रा चुनावी प्रतिवद्धताहरु नै हाम्रा मार्गनिर्देशन हुन् ।

मुलुकसंगै यसपालिकाको अर्थतन्त्रमा देखिएका समस्या एंव चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल उच्च पार्ने रदिगो एंव फराकिलो आर्थिक वृद्धि सहितको सबल अर्थतन्त्र निर्माण गर्ने तर्फ आगामी आर्थिक वर्षको बजेट निर्देशित गरेको छु। आमजनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने तथा सीमान्तकृत तथा पछाडि परेका वर्ग,क्षेत्र,लिङ्ग र समुदायलाई आर्थिक लाभको पहुँचमा पुर्‍याउने तर्फ बजेट तथा कार्यक्रम लक्षित गरेको छु ।

बजेट निर्माण गर्दा नेपालको संविधान, संघ तथा प्रदेशको  नीति तथा कार्यक्रम, यस पालिकाको २५ बर्षिय दिर्घकालिन रणनीतिक योजना तथा आबधिक योजनामा, मध्यमकालिन खर्च संरचना, दिगो विकास लक्ष्य, स्थानिय तहसंस्थागत क्षमता स्वमूल्याङन(LISA), वित्तिय सुशासन जोखिम मूल्याङ्कन(FRA)र यस पालिकाको नीति तथा कार्यक्रम उपर छलफल भएका सुझावलाई मार्गदर्शनको रुपमा लिएको छु। साथै राजनीतिक दल, संघ संस्था, विद्धतवर्ग, आम नागरिक, नागरिक समाज, निजी क्षेत्र, सञ्चार जगत लगायत सबैबाट प्राप्त सुझावलाई समेत आधार बनाएको छु।

मैले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका अप्ठेराहरुलाई हटाई जनतामा आशा  र भरोसाको सञ्चार गर्ने जिम्मेवारी बोध गरेको छु। राजनीतिक दल, जनप्रतिनिधि, सार्वनजिक प्रशासन, संघ संस्था, निजी क्षेत्र, नागरिक समाज, विकास साझेदार, सञ्चार जगत र आम नागरिकको सहयोग र ऐक्यवद्धताबाट अर्थतन्त्रमा देखिएका विद्यमान चुनौतीलाई सामना गर्दै बजेटले लिएका लक्ष्य हासिल गर्न सकिने विश्वास लिएको छु ।

चालु आ.व. २०७९/०८० संघीय सरकार र  प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजश्व बाडफाडबाट प्राप्त  र यस पालिकाको आन्तरिक आय अनुमान कम प्राप्त भएका कारण चालु आ.व. का योजनामा भूक्तानी दिने नसक्ने अबस्था भएकाले आगामी आ.व. मा भुक्तानी व्यवस्था मिलाएकोछु।

तुलसीपुर उपमहानगरपालिकाले आ.व. २०८०/०८१को बजेट कार्यन्वयन सवालमा “विकासमा जनसहभागिता नगद तथा श्रमदान” लाई उच्च प्राथमिकता दिईनेछ।

सम्मानित नगर सभाका अध्यक्षज्यू,

अब म यो सम्मानित नगर सभा समक्ष  यस पालिकाको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षसम्म यस पालिकाबाट भएका महत्वपुर्ण काम र बजेट कार्यान्वयनको समीक्षा सङ्क्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

  • तुलसीपुर बहुउद्धेश्यीय भवन (तुलसी ट्रेड टावर) नगर विकास कोष र नगरपालिकाको साझेदारीमा बेशमेन्ट सहित ७ तले व्यापारिक भवनको मिति २०८१।१२।२९ सम्म कार्य सम्पन्न गर्ने गरि समझौता भई निर्माण व्यवसायीबाट २५प्रतिशत कार्य सम्पन्न भएको छ ।
  • तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) भवनको ३ तला २६ कोठाको कार्य सम्पन्न अन्तिम चरणमा रहेको छ ।
  • तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित भिमसेन शहरी स्वास्थ्य प्रवर्द्धन(मेट्रो अस्पताल) भवनको २ तला ३२ कोठाको कार्य सम्पन्न अन्तिम चरणमा रहेको छ ।
  • वडा नं. १ र ३ जोड्ने भमके खोला ठाटीगाउँमा पक्की पुल (२०मी.)निर्माण सम्पन्न भई यातायातमा सहजता भएकोछ ।
  • वडा नं. ९ मा रहेको माध्यामिक विद्यालय दोधरेको (३ तला २१ कोठा) भवनको कार्य अन्तिम चरणमा रहेको छ ।
  • तुलसीपुर उपमहानगरपालिकामा रहेका श्री जनश्रम मा.वि.खाद्रे, श्री ज्ञानज्योति आ.वि सुन्द रनगर, श्री महेन्द्र मा.वि. तुलसीपुर, श्री बालमितेरी मा.वि. भोजपुर र श्री शहिद स्मृति आवासिय माध्यामिक विद्यालय मानपुर को ४ कोठे पक्की भवन को निर्माण कार्य अन्तिम अवस्थामा रहेको छ ।
  • छाया नेपालको साझेदारीमा मा.वि प्रतापकोटको ८ कोठे पक्कि भवन निर्माण सम्पन्न भएकोछ।
  • तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरुमा तुलसीपुर विकास प्राधिकरण अन्तर्गत जम्मा १७.१३८ किलो मिटर सडक कालोपत्रे र पक्की नाला ३६५० मिटर सम्पन्न भएका छन ।
  • वडा नं. ४, १३ र १९ का वडा कार्यालयहरु को कार्यालय भवनको मिति २०८०।७।३० सम्म कार्य सम्मन्न गर्ने गरि निर्माण व्यवसायी  सँग ठेक्क सम्म्झौता भएको छ ।
  • नयाँ प्रशासनीक भवन सम्पन्न भई कार्यालय संचालनमा रहेको छ ।
  • भुमिहिन दलित,भुमिहिन सुकुम्वासी, र अव्यवस्थित बसोबासीका लगत फारमहरुको अनलाईन प्रविष्टि अन्तिम चरणमा रहेको तथा वडा नं. ६ बाट जग्गा नापजाचको कार्य प्रारम्भ समेत भैसकेको साथै अव निकट भविष्यमा लालपुर्जा वितरणको कार्य प्रारम्भ गरिनेछ ।
  • लामो समय देखी थाति रहेको प्राधानाध्यापक व्यवस्थापनको कार्य सम्पन्न गरिएको छ ।
  • USAID G2G (कृषि पकेट क्षेत्र) कार्यक्रम४ करोड बराबरको प्रस्तावना स्वीकृतीको अन्तिम चरणमा रहेको छ ।
  • कर्मचारी र जनप्रतिनिधिहरुका लागि केन्द्रियस्तरका प्रशिक्षकबाट उत्प्रेरण तथा सकारात्मक सोच र कानुन निर्माण तथा बजेट निर्माण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
  • वडा  नं. १६ र १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ।
  • तुलसीपुर उपमहानगरपालिकाले दिर्घकालिन फोहोरमैला व्यवस्थापनको कार्य अगाडि बढाइएको छ। फोहोरमैला बर्गीकरण गरी कुहिने फोहोरमैलाको जौविक मल उत्पादन गरी विक्रि कार्य प्रारम्भ गरिएको छ।
  • तुलसीपुर उपमहानगरपालिकामा रहेका १० वटा सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरुलाई वैज्ञानिक गोठ व्यवस्थापन र २०० घरधुरीमा Bio Gas Plant निशुल्क रुपमा जडान गर्ने कार्य प्रारम्भ गरिएको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेटका उद्धेश्य देहाय बमोजिक रहेका छनः

  • अर्थतन्त्रलाई गतिशिल बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने ,
  • गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने ,
  • नगरलाई स्वच्छ, हरियाली  तथा सुन्दर नगरीको रुपमा विकास गर्ने,
  • संघियताको सवलीकरण र सुशासन कायम गर्ने ,
  • पालिकाको स्थानिय तहसंस्थागत क्षमता स्वमूल्याङन(LISA) तथा वित्तिय सुशासन जोखिम मूल्याङ्कन(FRA)मा अभिवृद्धि गर्ने,
  • बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने,
  • स्थानीय तहलाई प्रदान भएका अधिकारको भरपुर प्रयोग गरी यस पालिकालाई आर्थिकरुपमा अब्बल बनाउने।
  • आर्थिक प्रशासनलाई चुस्त दुरुस्त बनाउदै मितव्ययी बनाईनेछ।

बजेटका प्राथमिकताहरु निम्नअनुसार रहेका छनः

  • सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि, वित्तीय क्षेत्र सुधार  रोजगारी सिर्जना र गरिबी निवारण,
  • कृषि, पशु र पर्यटन क्षेत्रको विकास,
  • सामाजिक क्षेत्रको  विकास र सामाजिक सुरक्षा,
  • गुणस्तरीय भौतिक पूर्वाधार निर्माण,
  • डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन,
  • वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन,
  • संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार,
  • सार्वजनिक वित्त प्रणालीमा सुधार,
  • लैङ्गिक तथा सामाजिक समावेशीकरणमा जोड,
  • लागत सहभागितामा बढवा।

अब म ‘समृद्ध तुलसीपुरः सबैका लागिसँधैका लागि’  भन्ने मुल अभियानका साथ आर्थिक बर्ष २०८०/०८१ को लागि विनियोजित बजेटको विवरण यो सम्मानित नगरसभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

अब म यहाँहरु समक्ष आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय र व्यय विवरण प्रस्तुत गर्न चाहन्छु । यस आर्थिक बर्षको कुल बजेटरु. १ अरव ७९ करोड ४५ लाख ६९ हजार ७ सय ५० अनुमान गरिएको छ ।जसमा आन्तरिक श्रोतबाट रु. २१ करोड, स्थानीय तह राजश्व वाडफाड मालपोत रजिष्टेशनवाट रु. १२ करोड, ढुंगा गिट्टि दहत्तर बहत्तरवाट प्राप्त रु. ३ करोड र विज्ञापन कर रु. १५ लाख गरि कुल आन्तरिक आम्दानी रु. ३६ करोड १५ लाख अनुमान गरिएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानिकरण अनुदान रु. २९ करोड ८ लाख, सशर्त अनुदान रु. ६५ करोड १३ लाख, समपुरक अनुदान रु. ७५ लाख, विशेष अनुदान रु. १ करोड  र राजश्व बाँडफाड संघ रु २३ करोड २ लाख ७१ हजार, खानी र वन रोयल्टी रु. १५ लाख  गरि कुल रु. १ अरब १९ करोड १३ लाख ७१ हजार प्राप्त हुनेछ । त्यसै गरि प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानिकरण अनुदान रु. २ करोड २३ लाख, ४१ हजार सशर्त अनुदान रु. २ करोड ३६ लाख, ५० हजार समपुरक अनुदान रु. २ करोड, राजश्व बाँडफाड प्रदेश रु २ करोड ११ लाख ३० हजार ७ सय ५०कुल ८ करोड ७१ लाख २१ हजार ७ सय ५० मात्रर अन्य संघ संस्था अनुदानमा नगरविकास कोष ऋण रु.११ करोड,युनिसेफअनुदान रु. ४५ लाख र सडक वोर्ड नेपाल रु. १ करोड, यु.एस.आइ.डी.  G2G रु.३ करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान गरि कुल आम्दानी बजेट अनुमान गरिएकोमा व्यय तर्फ कार्यालय संचालन र प्रशासनिक खर्च रु. २६ करोड ७४ लाख ९१ हजार ४ सय ९१, नगर विकास कोष सावा व्याज किस्ता भुक्तानी रु १ करोड ५० लाख, सवै महाशाखा र शाखाहरुको प्रशासनिक र कार्यक्रम खर्च रु.१९ करोड ३७ लाख ५० हजार, वडा स्तरीय प्रशासनिक,योजना तथा कार्यक्रम खर्च रु.६ करोड ७२ लाख, नगर स्तरीय योजना तथा कार्यक्रम खर्च रु रु.४ करोड ८१ लाख १ हजार २ सय ५९ ,संघ प्रदेस र अन्य म्याचिङ रु ४ करोड ६० लाख नगर विकास कोष म्याचिङ रु २ करोड  गत आ.व.भुक्तानी वाकि खर्च रु.२७ करोड, संघीय सरकार सशर्त योजना तथा  कार्यक्रम खर्च रु.६५ करोड १३ लाख, संघीय सरकार समपुरक अनुदान योजनाहरु रु ७५ लाख , संघीय सरकार विशेष अनुदान योजना तथा कार्यक्रमहरुको खर्च रु. १ करोड, प्रदेश सरकार सशर्त योजना तथा कार्यक्रमहरुको खर्च २ करोड ३६ लाख ५० हजार,प्रदेश सरकार समपुरक योजना तथा कार्यक्रम खर्च रु. २ करोड, तुलसी ट्रेड टावर रु. ११ करोड, वास कार्यक्रम संचालन रु. ४५ लाख,सडक वोर्डका योजना तथा कार्यक्रम खर्च रु. १ करोड,यु.एस.आइ.डी.  G2G कार्यक्रम खर्च रु. ३ करोड ७७ हजार  गरि कुल बजेट खर्च रु. १ अरव ७९ करोड ४५ लाख ६९ हजार ७ सय ५०अनुमान गरिएको छ ।

यसैगरि आर्थिक वर्ष २०८०/८१ मा चालु तर्फका कार्यक्रमहरु,प्रशासनिक खर्च र कार्यालय संचालन तर्फ कुल खर्च रु. ४७ करोड ७ लाख १८ हजार ४ सय ९१ अर्थात कुल बजेट खर्चको  २६.२३ प्रतिशत रहेको छ, विकास र शसक्तिकरणका कार्यक्रमहरु, सशर्तका कार्यक्रमहरु तर्फ कुल खर्च रु.१ अरव ३० करोड ८८ लाख ५१ हजार२ सय ५९  कुल बजेट खर्चको ७२.९३ प्रतिशत हुनेछ ।  यसै गरि वित्तिय खर्च तर्फ १ करोड ५० लाख  विनियोजन गरिएको छ जुन कुल बजेट खर्च अनुमानको ०.८४  प्रतिशत हुन आउछ ।

यस वर्षको अनुमानित आय व्ययको विवरण अनुसुची १ मा संलग्न गरिएको छ ।

सम्मानित नगर सभाका अध्यक्षज्यु,

अब म यहाँहरु समक्ष यस तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको तर्फबाट आर्थिक वर्ष २०८०/०८१ का लागि नगरसभाको प्रथम वैठकले पारित गरेको नीति तथा कार्यक्रम, दीगो विकासको लक्ष्य, नेपाल सरकारको विकास लक्ष्य प्राप्तीमा सहयोग पुर्‍याउन र नेपालको संविधानले अङ्गिकार गरेका मौलिक हक, नागरिकका कर्तव्य र नीति तथा कार्यक्रमहरुका साथै तुलसीपुर उपमहानगरपापिलकाको २५ बर्षे दिर्घकालिन रणनीतिक योजना तथा आबधिक योजनामा समावेश गरिएको समृद्ध तुलसीपुर: सबैका लागिसँधैका लागिबनाउनका लागि विनियोजित बजेट प्रस्तुत गर्न चाहन्छु । साथै कार्यक्रम र विनियोजित बजेटको विस्तृत विवरण स्थानीय रातो कितावमा समावेश गरिने व्यहोरा अवगत गराउँछु ।

पूर्वाधार विकासः

भवनआवास तथा सहरी विकासः

  • तुलसीपुर विकास प्राधिकरणमार्फत विकास निर्माणका लागि रु.१ करोड बजेट विनियोजन गरेको छु ।
  • वडा नं. ३,५,६,७,८,९,१०,१५ र १७ को  वडा कार्यालय भवन निर्माणका लागि रु. १ करोड ५० लाख बजेट विनियोजन गरेको छु।
  • वडा नं. ५, जनयुद्धको सम्मान तथा समाजबाद अध्ययन केन्द्रको बहुउद्देश्य भवन निर्माणका लागि रु. २५ लाख बजेट विनियोजन गरिएको छ।
  • तुलसीपुर ट्रेड टावर भवन निर्माणका लागि रु. ११ करोड बजेट विनियोजन गरेको छु।
  • मा.वि. दोघरे स्कुल, मेट्रो कलेज, मेट्रो हस्पिटलको भवन निर्माण यसै वर्ष सम्पन्न गर्ने गरि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • भवन नक्सा पास प्रक्रियामा विद्युतिय प्रणाली अवलम्बन गरी छिटो छरितो सेवा प्रवाह गर्दै पुराना मिसिलहरुलाई विद्युतिय अभिलेखिकरण गर्ने कार्यको सुरुवातका लागि बजेट विनियोजन गरेको छु ।
  • स्मार्ट सिटी, मेगासिटी परियोजना, सघन शहरी विकास कार्यक्रम, स्पोर्ट सिटी कार्यक्रम, नगर गुरुयोजना अनुसारका परियोजनाहरु समेटेर परियोजना पुस्तिका तयार गरिनेछ । उपरोक्त आयोजनाहरु संघ तथा प्रदेश सरकारको सहयोग, निजी, सहकारी तथा समुदायको सहकार्यमा सञ्चालन गर्न बजेट विनियोजन गरेको छु ।
  • मेयर सुरक्षित आवास कार्यक्रमलाई निरन्तरता दिन खरको छानो विस्थापनका लागि आवश्यक पर्ने बजेट विनियोजन गरेको छु ।
  • तुलसीपुर नगर गौरवका योजनाको लागि रु.५ करोडबजेट विनियोजन गरेको छु।

यातायात पूर्वाधार

  • तुलसी नगर बस निजि तथा साझेदारीमा संचालन गर्न आवश्यक बजेट व्यवस्थापन गरेको छु।
  • तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्रको  ख र ग लाइन सडक स्तर उन्नती गर्न रु. ६० लाख बजेट विनियोजन गरेको छु।
  • वडा नं. १८ र १९को हेमन्तापुर बैरागी चोक देखि संग्राम हुँदै गतिम्ले जोड्ने सडक निर्माणका लागि रु. ७०लाख बजेट विनियोजन गरेको छु।
  • वडा नं. २ को पहलुवा हुँदै हेकुली , वडा नं. १ को हेल्थपोष्ट देखि ठाँठीगाउ हुँदै मखनटाकुरी जाने सडक स्तरोन्नती लागि रु. ६०लाख बजेट विनियोजन गरेको छु।
  • वडा नं. ८ र ९ को हात्तिगौडा देखि कटकुइया हुँदै भट्टे कालामारे जाने सडक स्तरोन्नती  लागि रु. ७० लाख बजेट विनियोजन गरेको छु।
  • वडा नं. ३ एकता टोल हुँदै सरस्वती मा.बि.जाने सडक स्तरोन्नती लागि रु. ७० लाख बजेट विनियोजन गरेको छु।
  • वडानं. १०, ११ र १२ सिमलकाची, क्वागी, पढ्ढा हुँदै पुकार पसल जोड्ने सडक स्तरोन्नती  लागि रु. ७० लाख बजेट विनियोजन गरेको छु।
  • वडा नं.७ को नयाँबस्ती नाला निर्माण तथा कालोपत्रेका लागि रू. ३५ लाख बजेट विनियोजन गरिएको छ।
  • वडा नं. ६ (हिमाल एकेडेमी टोल)डुम्रीगाउँमा नाला मर्मतकालागि रू. १० लाख बजेट विनियोजन गरिएको छ।
  • वडा नं. ५न्यूरोड बाटो निर्माणकालागि रू. १० लाख बजेट विनियोजन गरिएको छ।
  • वडा नं. ८ दुधेनागौरीशंकरटोल सडक स्तरोन्नतीकालागि रू. ३५ लाख बजेट विनियोजन गरिएको छ।
  • वडा नं. ८कटकुइया भुयाँरथान निर्माणकालागि रू. १० लाख बजेट विनियोजन गरिएको छ।
  • वडा नं.१४भोजपुर कलभर्ट देखि पश्चिम धिताल वस्तीसम्म सनकरुवा वाटो स्तरोन्नतीका लागि रू. १५ लाख बजेट विनियोजन गरिएको छ।
  • भोजपुर घाट झो.पु. तुलसीपुर १४, मनिकापुर कुइरेपानी, पातुखोला प्रा.बि. स्कुल, मा.वि. सक्राम देखि सिमलतारा जोडने झो.पु वडा नं.१९ निर्माणका लागि रु. ३० लाख विनियोजन गरिएको छ।
  • घोराही- तुल्सीपुर सडक खण्डदेखि दक्षिणतर्फ कन्जली हुँदै बघौसी जोड्ने सडक कालोपत्रकालागि रू. ३० लाख बजेट विनियोजन गरिएको छ।
  • वडा नं. १३ तुल्सीपुर अकमी- रनियापुर – पुरानो बाख्रे सडक कालोपत्रेका लागि रू. २५ लाख बजेट विनियोजन गरिएको छ।
  • वडा नं. १७ हेमन्तपुर वनकट्टि सडकनाला सहित कालोपत्रेका लागि रू. २० लाख बजेट विनियोजन गरिएको छ ।
  • तुलसीपुर उपमहानगरपालिकाभित्र निर्माण भएका सडकहरुको लगतकट्टा गर्नेकार्यका लागि आवश्यक बजेटविनियोजन गरिएको छ ।
  • वातावरणमैत्री सडक निर्माण गरी तुलसीपुरलाई हरित शहरका रुपमा विकास गर्न बजेट विनियोजन गरेको छु ।
  • संघ तथा प्रदेश सरकारसँग समन्वय गरी समपुरक र विशेष अनुदानमा कार्यक्रम आयोजना सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

सामाजिक विकासः

स्वास्थ्य तथा पोषणः

  • नगरका जनतालाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न र आकस्मिक स्वास्थ्य सेवाको लागि नगर एम्वुलेन्सहरुको सेवालाई निरन्तरता दिन आवश्यक बजेटको ब्यवस्था गरेको छु ।
  • विपन्न परिवारलाई तुलसीपुर उपमहानगरपालिका भित्रको हस्पिटल तथा स्वास्थ्य संस्थाबाट निशुल्क उपचार गर्न आवश्यक बजेटब्यवस्था गरेको छु ।
  • एकीकृत स्वास्थ्य तथा सरसफाई कार्यक्रमहरु संचालनगर्नवडा नं. १० मा स्वास्थ्य चौकी तथा ल्याव भवन निर्माण गर्नलाइ रु. २० लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरि वडा नं. ११ को स्वास्थ्य चौकी भवन निर्माण गर्न रु. २० लाख बजेटको ब्यवस्था गरिएको छ ।
  • तुलसिपुर अस्पताललाइ इवार्स सेन्टिनेल साइटकोरुपमा विकास गरि अस्पतालमा इवार्स सम्वन्धित जनशक्तिको क्षमता अभिवृद्धि गर्न बजेट विनियोजन गरिएको छ ।
  • तुलसीपुर भिमसेन मेट्रो अस्पताललाई स्तरोन्नती गरि गुणस्तरीय, उपचारात्मक तथा निदानात्मक सेवा लगायत विशिष्ट सेवाहरु संचालन गर्न रु.१ करोड १४ लाख ३२ हजार बजेट विनियोजन गरेको छु ।
  • कारागार तुल्सिपुरको स्वास्थ्य सेवा सुधारका लागि आवश्यक सामाग्रि खरिद रु ५ लाख बजेट विनियोजन गरिएको छ।
  • पालिकालाई निशूल्क शल्यकृयाका माध्यमवाट मोतियाविन्दुमुक्त समाजको रुपमा रुपान्तरण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
  • किशोर किशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारीरुपमा संचालन गर्न किशोर किशोरी सूचना तथा मनोसंकट सहयोग केन्द्र स्थापनाका लागी आवश्यक बजेट विनियोजन गरेको छु।
  • स्वास्थ्य संस्थाहरुमा आधारभुत ल्याव सेवा संचालनको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
  • नगरस्तरमा औषधि भण्डारण भवन निर्माण तथा खोप कोल्डचेन, अत्यावश्यक गुणस्तरिय औषधि, औजार तथा उपकरणको व्यवस्था गर्न बजेटको विनियोजन गरिएको छ ।
  • थारु समुदायमा रहेको सिकलसेल एनिमिया, हेमोफिलिया लगायतका रोगहरुका उपचार सेवालाई प्रभावकारी वनाउनका लागि आवश्यक बजेट विनियोजन गरेकोछु ।
  • खानेपानी सरसफाइ तथा स्वच्छता वास कार्यक्रमको लागि बजेट व्यवस्था गरिएको छ ।
  • स्वास्थ्य संस्थाहरुवाट निशुल्क सूचीका औषधिहरु वितरणको लागि बजेट विनियोजन गरेको छु ।
  • मातृमृत्युदर, नवजात, शिशुमृत्युदर घटाउन सुत्केरी पोषण प्रोत्साहन भत्ताका लागी आवश्यक बजेट विनियोजन गरेको छु ।
  • ७० वर्षमाथीका जेष्ठ नागरिक, प्रसुति र नवजात शिशुलाइ विरामी पर्दा नगरभित्र आपतकालीन सेवाका लागी अस्पताल लैजान निशुल्क एम्वुलेन्स सेवाका लागी बजेटव्यवस्था गरेको छु ।
  • गर्भवती जाँचको निशुल्क ल्याव प्याकेज गर्भवतीसंग उपमेयर कार्यक्रमका लागी बजेट विनियोजन गरेको छु ।
  • यातायात मजदुरलाइ लक्षित गरि स्वस्थ्य चालक सुरक्षित यात्रा प्याकेजका लागी बजेट विनियोजन गरेकोछु ।
  • तुलसीपुर नगरक्षेत्र भित्र निशुल्क सुरक्षित खानेपानी तथा चर्पी संचालन गर्न आवश्यक बजेटविनियोजन गरेको छु ।
  • मानसिक स्वास्थ्य सेवाका लागी दुई स्वास्थ्य संस्थामा मनोपरामर्श सेवा संचालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • मेयर जेष्ठ नागरिक सेवाः विकट वस्तीमा विशेष स्वास्थ्य परिक्षण कार्यक्रम  संचालनका लागि आवश्यक बजेट विनियोजन  गरेको छु ।
  • जनस्वास्थ्य प्रवर्द्धनका लागी थेराप्युटिक योग साधना अभियानका लागी बजेट व्यवस्था गरेको छु ।
  • उपमेयर आमा सुरूक्षा कार्यक्रमः नगरको विकट वस्तीमा घुम्ती गर्मवति अल्ट्रासाउण्ड सेवा कार्यक्रम संचालन गर्न बजेट व्यवस्था गरेको छु ।

शिक्षाः

  • बर्षौ देखि थाति रहेको सामुदायिक विद्यालयमा तहगत स्याथी प्र.अ. व्यवस्थापन तथा दरवन्दी मिलानगर्न आवश्यक बजेट विनियोजन गरेको छु ।.
  • आ.वि. सल्लीवन विद्यालयको भवन निर्माणका लागि रु १ करोड बजेट विनियोजन गरिएको छ।
  • विद्यार्थीहरुको पहुँच सुनिश्चित गर्नका लागि यसै आर्थिक वर्षदेखि आधारभुत तह अन्तर्गत कक्षा १ देखि ८ सम्म पूर्ण रुपमा निशुल्क वनाउन आवश्यक रकम विनियोजन गरिएको छ ।
  • शिशु कक्षा सहयोगीहरुको क्षमता, दक्षता र कार्यको आधारमा शिशु कक्षा सहयोगी कार्यकर्ता,विद्यालय सहायक कर्मचारी र कार्यालय सहयोगीलाई थप सेवा सुविधाका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
  • विद्यालयहरुलाई आवश्यक विज्ञान, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, कक्षाकोठा लगायत अन्य भौतिक संरचनामा थप जोड दिदै त्यस्ता संरचनाहरुलाई बालमैत्री तथा अपाङ्गमैत्री बनाउनका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
  • सामुदायिक विध्यालयका छात्राहरुको लागि निशुल्क सेनिटरी प्याड वितरणको कार्यक्रमलाई निरन्तरता दिदै रु.७३ लाख ७६ हजार बजेट विनियोजन गरिएको छ ।
  • विद्यालयको गुणस्तर अभिवृद्धि गर्नका लागि जनशक्ति व्यवस्थापन अनुदान कार्यक्रमलाई निरन्तरता दिदै आवश्यक बजेट विनियोजन गरिएको छ ।
  • मावि कालाखोला स्कुलको ८ कोठे भवन निर्माण गर्न छाया नेपालको साझेदारीमा आवश्यक बजेट विनियोजन गरेको छु ।
  • सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि (आवासीय तथा गैरआवासीय) छात्रबृत्तिप्रदान गर्न रु १ करोड ३ लाख २६ हजार बजेट विनियोजन गरिएको छ ।
  • विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेर कृषि, वन विज्ञान, चिकित्सा, इन्जिनियरिंङ, फुड टेक्नोलोजी, मेडिकल साइन्स जस्ता प्राविधिक शिक्षा सञ्चालनका लागि संघ, प्रदेश सरकारसँग सहकार्य गरि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
  • प्राबिधिक शिक्षा र उच्च शिक्षामा सामुदायिक बिद्यालयबाट सामुदायिक तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने छात्रा-छात्र, दलित, आदिवासी, जनजाति, शहिद परिवार, जनआन्दोलनका घाइते परिवारकालाई निशुल्क अध्ययन अध्यापन गर्न मेयर छात्रबृत्ति कार्यक्रम प्रदान गर्न आवश्यक बजेट बिनियोजित गरेको छु ।
  • स्थानीय भाषा र परिवेशमा आधारित पाठ्य सामाग्री निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • मापदण्ड अनुसारको प्रधानअध्यापक नियुक्त गरी स्वयमसेवक शिक्षक सट्टा भर्नाका लागि आवश्यकबजेटव्यवस्था गरेको छु ।
  • बिद्यालयमा बिद्यार्थीको पहुँच तथा टिकाउ दर बढाउन कार्यक्रमहरु ल्याइने छन् । सामुदायिक विद्यालयबाट एस इ ई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई प्रोत्साहन गर्न मेयर शैक्षिक प्रोत्साहन कार्यक्रमका लागि आवश्यक बजेटविनियोजन गरेको छु।
  • बिद्यालयहरुको भौतिक पूर्वाधारहरु भवन, शौचालय, पुस्तकालय, प्रयोगशालाहरुको निर्माण, मर्मत सम्भारका लागी आवश्यक बजेट ब्यवस्था गरेको छु ।
  • नगर भित्र रहेका सामुदायिक बिद्यालयहरु लाई नमुना बनाउनका लागी  पाइलटिङको रुपमा वडामा एक एक वटा तहगत नमुना विद्यालयको बिकास लागी आवश्यकबजेट ब्यवस्था गरेको छु ।
  • अभिभावकसंग शिक्षक कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • आर्थिक सुशासन कायम गर्न लेखा सम्वन्धि काम गर्ने विद्यालयका कर्मचारीलाई लेखा तथा ब्यवस्थापन  सम्वन्धि तालिमको लागी आवश्यक  बजेट ब्यवस्था गरेको छु ।
  • जोखिम, तथा  विपतीको समय र  शिक्षणप्रणाली लाइ  समयसापेक्ष  सञ्चालन गर्न डिजिटल  पूर्वाधारको  विकास गदै  सार्वजनिक  शिक्षा लिने सवै वालवालिकाको  लागि आवश्यक उपकरण सहित  शिक्षकलाई  प्रविधिमैत्रि वनाउने  नीति लिन एक शिक्षक एक ल्यापटप कार्यक्रम लाई आवश्यक पर्ने बजेटको ब्यवस्था गरेको छु ।

यूवा तथा खेलकुदः

  • मेयरकप प्रतियोगिता, राष्ट्रपति, रनिङ् शिल्ड, विद्यालय भित्र अतिरिक्त क्रियाकलाप अन्तर्गतका खेलकुदहरु, वडा स्तरीय प्रतियोगिताहरु सञ्चालनका लागि बजेट विनियोजन गरेको छु ।
  • एक विद्यालय एक खेल शिक्षक नीति अवलम्बन गर्नका लागि आवश्यक बजेटविनियोजन गरेको छु।
  • राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कृत भएका खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरताका लागि आवश्यक बजेटविनियोजन गरेको छु।
  • CTEVT को मापदण्डबमोजिम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन अनुदान दिन रु. ५६ लाख बजेट विनियोजन गरिएको छ ।
  • युवा उद्धमशिलता रोजगार इकोसिस्टमको अनलाईन प्लेटफर्म बनाई आम रोजगार र स्वरोजगारका अवसर सृजना गरि पालिकाको राजस्व र उत्त्पादकत्व वृद्धि गर्ने नीतिका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

लैंगिक समानता तथा सामाजिक समावेशिकरणः

  • लैगिक हिंसामा परेका महिलाहरुको उपचार तथा पुनस्थापनाका लागि उपमेयर महिला सुरक्षा आवास कार्यक्रमलाइ लागि आवश्यक बजेटविनियोजन गरेको छु।
  • “तुलसीपुरको अभियानछोरीलाई विशेष सुरक्षा र सम्मान”, “स्मार्ट छोरी बिहेबारी बिस वर्ष पारी” कार्यक्रमका लागि आवश्यक बजेटविनियोजन गरेको छु।
  • श्रमिक र सडक बालबालिकाहरुलाई उचित व्यवस्थापनगरेर तुलसीपुर उपमहानगरपालिकालाई बालश्रममुक्त,सडक बालबालिका र सडक मानवमुक्त नगरका रुपमा घोषणा गर्नका लागिबजेट विनियोजन गरेको छु। साथैमानव सेवा आश्रमतुल्सिपुरलाइ संचालनका लागि रु.१० लाख बजेट विनियोजन गरिएको छ ।
  • अपाङता भएका व्यक्तीहरुका लागि निशुल्क सहायक सामाग्री उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु ।
  • हेमोफेलिया अपाङता तथा दिर्घ रोगी अपाङता भएका व्यक्तीहरुका लागि निशुल्क औषधी उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु।
  • दृष्टीविहीनसुस्तश्रवणशक्त्ती तथा वौद्धिक अपाङता भएका बालबालिकाहरुका लागि छात्रवृत्ती तथा आवासीय विद्यालयका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • ८४ वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मानका लागि आवश्यक  बजेटव्यवस्था गरेको छु।
  • ६० वर्ष पुगेका सबै ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिन आवश्यक बजेट बिनियोजन गरेको छु ।
  • बालश्रममुक्त वडा घोषणा कार्यक्रम र अल्पकालिन बाल संरक्षणगृह लागि आवश्यक बजेट व्यवस्था  गरेको छु ।
  • बालमैत्री स्थानीय तह निर्माण, बाल सञ्जाल गठन, बालक्लबको क्षमता अभिवृद्धि, बालविवाह विरुद्धको अभियान सञ्चालनका लागि बजेट विनियोजन गरेको छु ।
  • बालविवाह, बालश्रम विरुद्ध रलागु औषध लगायतअन्य हानिकारक कुरितिका विरुद्धको अभियान सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • उपमहानगरपालिकाको शाखा,महाशाखाबाट सञ्चालन हुने योजना तथा कार्यक्रममा लैगिक उत्तरदायीबजेट परिक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • सामाजिक भेदभाव अन्त्य र जातिय छुवाछुत मुक्त नगर बनाउनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।

भाषा तथा संस्कृति र पर्यटन प्रवर्द्धन

  • परम्परागत बाजा संरक्षण गर्न तथा महिला सशक्तीकरणलाई व्यवहारगत रुपमा कार्यान्यवन गर्न तुलसी महिला नौमति बाजा समूह गठन गरी आवश्यक तालिम र बाजाहरूको व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्थापनन गरेको छु।
  • तुलसीपुर उपमहानगरपालिकालाई पर्यटनको हवको रुपमा विकास गर्न “घुम्न जाउँ तुलसीपुर” अभियानलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ ।
  • पर्यटन प्रवर्द्धन र उद्यम विकास गर्न होमस्टेको क्षमता विकासका लागि आवश्यक बजेट विनियोजन गरेको छु  ।
  • तुलसीपुर उपमहानगरपालिकामा पर्यटन प्रवर्द्धन गर्न संघ, प्रदेश सरकारसँग सहकार्य गरि सम्भावित पदमार्गहरुको पहिचान तथा विकास गर्न गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • क्रान्ती संग्रहालय, दंगिशरण थारु संग्रहालय, जनजाति संग्रहालयको निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • परम्परागत कला, संस्कृतीको संरक्षण र विकासलाई निरन्तरता दिन आवश्यक बजेटको विनीयोजन गरेको छु ।
  • स्थानीय मौलिक लोपन्मुख भाषा, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धनका लागि बजेटविनीयोजन गरेको छु ।
  • तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्रका सबै मठ मन्दिर, धार्मिक स्थलको प्रवर्द्धन र संचालनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • सवैको कला संस्कृति भाषाको संरक्षण र विकासको लागि बजेट विनियोजन गरेको छु ।
  • संघ प्रदेशसंग सम्वन्य गरि टरिगाउ एयरपोर्टको स्तरोन्नतिको लागि आवश्यक पहल गरिने छ  ।

सामाजिक सुरक्षा तथा पञ्जिकरण

  • ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्ति, एकल महिलाका लागि सामाजिक सुरक्षा वापत आवश्यक पर्ने बजेट व्यवस्था गरिएको छ ।
  • सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • सामाजिक सुरक्षा तथा पञ्जिकरण प्रणालीलाई अनलाईन प्रणालीमा व्यवस्थित गर्न तथा सबै वडाका सचिवहरुलाई पञ्जिकरण तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण गर्दै क्षमता अभिबृद्धि गर्न आवश्यक बजेट विनीयोजन गरेको छु ।

आर्थिक विकासः

कृषिः

  • कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा विस्तार कार्यक्रम संचालन गर्न रु. ७६ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।
  • USAID G2Gकार्यक्रमका लागि साझेदारीमा तरकारी, मकै र वीउका पकेट विकास कार्यक्रमहरु संचालन गरी कृषि उत्पादनको पकेट क्षेत्र विस्तारगर्न रु. ४ करोड रकम विनियोजन गरेको छु ।
  • दाङको रैथाने धानबाली तिल्की, सिम्ठारो लगायतका धानबाली संरक्षणमा पकेट क्षेत्र निर्धारण गरि उत्पादनमा प्रोत्साहनका लागि आवश्यक बजेटको व्यवस्थागरेको छु ।
  • उन्नत विउ विजन उत्पादनका लागि विउविजन उत्पादन केन्द्रको स्थापनाका गर्न रु.१० लाख बजेटको व्यवस्था गरिएको छ ।
  • नगर क्षेत्रमा माटो परिक्षण प्रयोगशाला स्थापना गरी माटो अनुकूल खेतीप्रणालीलाई विविधिकरण गरी कृषी उत्पादनको बृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • कृषी उत्पादनको उचित भण्डारण र व्यवस्थापन गर्न संघ, प्रदेश र निजी क्षेत्रको सहकार्यमा कोल्ड स्टोर निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • बालीमा देखापर्ने रोग किराको प्रकोप नियन्त्रण तथा व्यवस्थापन गर्न बाली संरक्षण सेवालाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • अर्गानिक कृषि खेतिमा आकर्षणका लागि आवश्यक वजेट ब्यवस्थापन गरेको छु।
  • परम्परागत कृषीलाई आधुनिकीकरण, व्यवसायीकरण, बजार उन्मुख बनाउदै कृषी उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न किसानहरुलाई यन्त्र, औजार तथा प्राबिधिक सहयोगलाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • कृषि उत्पादन वढाउन दक्ष जनशक्ती सेवा (विमा, तालिम, विउविजन) र पूर्वाधारको विकास तथा विस्तार गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • विपत्तिका कारण किसानको उत्पादनमा क्षेति भएमा क्षेति मुल्याङन गरि राहतका लागि आवश्यक बजेट व्यवस्था गरेको छु । बेमौसमी खेतीलाई प्रवर्द्धन गर्न साथै मकै, तुलसी, बेसार, अदुवा, टिमुर लगाएत मसला खेती, उन्नत घाँस खेतिलाई, करार खेती र बगर खेतीलाई प्रोत्साहन गर्नआवश्यक बजेट व्यवस्था गरेको छु ।
  • कृषि पेशालाई सुरक्षित,भरपर्दो र मर्यादित बनाउन कृषक परिचय पत्र वितरणका लागिआवश्यक बजेट व्यवस्था गरेको छु ।

पशु पंक्षी विकासः

  • पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन डिस्पेन्सरी सञ्चालन एवं प्रयोगशाला निर्माण तथा दुर्गम क्षेत्रमा घुम्ति शिविर सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • पशु पंक्षीको नश्लसुधाका लागि कृतिम गर्भाधारण कार्यक्रम प्रभावकारी बनाउन तथा पशु उपचारका लागि आवश्यक औषधिहरु निशुल्करुपमा उपलब्ध गराउन आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • बाख्रा, बंगुर, भैंसी स्रोत केन्द्रहरु स्थापना तथा पशुपालनको पकेटक्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • किसान सूचीकरण कार्यक्रमसंचालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
  • व्यवसायीक पशुपालनका लागि भकारो सुधारका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • व्यवसायीक पशु एवंम मत्स्य पालन फर्म/व्यवसाय आधुनिकीकरणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • मत्स्य विकासका लागि पोखरी बिस्तार एवं भुरा वितरण कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • पशु आहार विकास तथा पोषण सुधार कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • महामारीजन्य पशु रोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • वंगुर, बाख्रा र साना गाई फर्महरु प्रवद्र्धन गर्ने कार्यक्रमहरु सञ्चालन गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • एक वडा एक पशु प्राविधिक परिचालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • वडा नं ९ मा रहेको निर्माणाधिन कृषि तथा पशु शाखाको भवन निर्माणका लागि १० लाखबजेट विनियोजन गरेकोछु।

सहकारीरोजगार प्रवर्द्धन तथा गरिबी निवारणः

  • सहकारी सम्बन्धि आवश्यक कानून तथा नीति निर्माण गरि सहकारी संस्थाहरुको क्षमता अभिबृद्धी कार्यक्रम व्यवस्थापन सूचना प्रणाली वृद्धि गर्न लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • संघीय तथा प्रदेश सरकारको समन्वयमा गरिब परिवार पहिचान तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • एक घर, एक रोजगारको अभियानलाई निरन्तरता,खाद्य उत्पादन बृद्धि, सुरक्षित भण्डारण गरी शुन्य भोकमरी अभियानका लागि श्रम  र खाद्य बैक मार्फत काम गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

उद्योग तथा व्यवसाय प्रवर्द्धन

  • स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्योगको प्रोत्साहनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • तुलसीपुरमा २ वटा औद्योगिकग्रामको स्थापना, संञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • तुलसीपुर उपमहानगरपालिका भित्रका सफल उद्यमी सम्मान कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • स्टार्टअप बिजनेस र ईन्कुबेशन सेन्टरका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

उपभोक्ता हित संरक्षणः

  • विभिन्न सरोकारवाला निकायहरुसंग समन्वय गरि कालोबजारी नियन्त्रण गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • खाद्यबस्तुको नमुना संकलन तथा गुणस्तर परीक्षणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

राजश्व परिचालनः

  • राजश्व प्रशासन सुधार, संक्षिप्त तथा प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन गर्न, नदिजन्य पदार्थको अवैध उत्खनन्लाई प्रबिधिमैत्री अनुगमन र नियन्त्रणको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • बढि कर तिर्ने करदाता सम्मान र प्रोत्साहन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • तुलसीपुर उपमहानगरपालिका भित्र लिइने सबै करहरुलाई एउटै प्रणालीमा आवद्ध गर्नका लागि SUTRA प्रणाली प्रयोगमा ल्याउन व्यवस्था मिलाएको छु।
  • कर सेवालाई सरल, सहज र व्यवस्थित गर्नका लागि अनलाईन भुक्तानी प्रणालीको विकासका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • राजश्व सुधार कार्ययोजना कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

भूमी व्यवस्था तथा नाप नक्सा

  • भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थीत बसोबासीको लगत संकलन, व्यवस्थापन, नापनक्सांकन, नक्सा निर्माण, कर्मचारी व्यवस्थापन, लालपुर्जा वितरण गर्ने कार्यका लागि रु २५ लाख बजेट विनियोजन गरेको छु ।
  • सरकारी सार्वजनिक जग्गाको अभिलेखिकरण तथा संरक्षणका लागि यस पालिका भित्रका जग्गाको जी. आइ. एस. नक्सांकन गर्न तथा डिजिटल अभिलेख तयार पार्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • नदीजन्य कटान बाढी पहिरो, आगलागी लगाएतका प्राकृतिक र मानविय कारणले भएको क्षतिको लगत संकलन कार्यलाई निरन्तरता दिन आवश्यक बजेट बिनियोजन गरिएको छ ।
  • भूमि करलाई वैज्ञानिक र प्रभावकारी बनाउनुका साथै राजश्व वृद्धिमा टेवा पुर्याउन बाटोको लगतकट्टा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रकम विनियोजन गरेको छु ।
  • जी.आई.एस. लगायत अन्य आवश्यक सफ्टवेयर तथा मेसीनरी औजार खरिदका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

वन वातावरण तथा विपद् व्यवस्थापनः

वातावरण तथा जलवायुः

  • जैविक विविधताको संरक्षण, सम्बर्द्धन र विकास  गर्न ताल, भूक्ष्य रोकथाम तथा नियन्त्रण, रैथाने वनस्पति र जीवजन्तुको संरक्षण, पानी मुहान संरक्षण लगायतका प्राकृतिक सम्पदाको संरक्षणको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • वनजंगल, वन्यजन्तु, चराचुरुंगी, जलउपयोग, जैविक विविधता र वातावरण संरक्षणका लागि आवश्यक पर्ने आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • ‘एक सामुदायिक वनएक वनउद्यानएक पानी पोखरी’ अभियान सञ्चालन गरी पर्यापर्यटनमा टेवा पुर्याइ जैविक विविधताको संरक्षणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • नगरलाई हरियाली, वातावरणमैत्री र स्वच्छ वनाउनका लागि वर्षदिन भरिमा वृक्षारोपण कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • नमुना नर्सरी विकास र सामुदायिक वन सम्बन्धि वन विज्ञानमा स्नात्तकोत्तर गरीरहेका छात्र-छात्राका लागि प्रोत्साहन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • जलवायु परिवर्तन, विश्व तापक्रम वृद्धि रोकथाम, न्युनिकरण तथा अनुकुलन योजना निर्माण र कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

विपद् व्यवस्थापन

  • विपद जोखिम न्युनीकरण, उद्दार, राहत, पुर्नस्थापना लगायतको कामका लागि विपद् व्यवस्थापन कोष सञ्चालन गर्न रु १ करोड  बजेट विनियोजन गरेको छु ।
  • वातावरण प्रदुषण नियन्त्रण, विपद जोखिम तथ्यांक, विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण(DPRP)  तथा अद्याँवधिक गर्नआवश्यक बजेट विनियोजन गरेकोछु।
  • आपतकालिन कार्य संचालन केन्द्रलाइ पूर्णकालिन संचालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • विपद् पूर्व तयारी, खोज, उद्दार तथा राहत कार्यलाई प्रभावकारी वनाउन आवश्यक सामग्री खरिदका लागि बजेट विनियोजन गरेको छु ।
  • विपद् जोखिम क्षेत्रको पहिचान र नक्साङ्कनका साथै रणनितिक कार्य योजनामा उल्लेखित बाढीपहिरो तथा नदि कटान भुक्षय नियन्त्रणका साथै आवश्यक तारजाली व्यवस्थापनका लागि बजेट विनियोजन गरेकोछु ।
  • समुदाय, वडा र नगरस्तरमा विपद् नमुना अभ्यास, विपद्को लेखाजोखा, विपद् प्रतिकार्य तालिमका लागि बजेट विनियोजन गरेको छु ।
  • विपन्न तथा जोखिममा परेका घरपरिवारलाई सुरक्षित आवासका लागि आवश्यक बजेट विनियोजन गरेकोछु ।
  • विपतको लागि एकिकृत सूचना प्रणाली संचालन गर्नबजेट विनियोजन गरेको छु ।
  • आगलागि नियन्त्रणका लागि प्रविधियुत्त थप १ दमकलको व्यवस्थापनको लागिआवश्यक बजेट विनियोजन गरेको छु ।
  • तयार नेपालको साझेदारीमा विपद व्यवस्थापन सम्बन्धि काम गर्नबजेटव्यवस्था गरेको छु।

सरसफाई तथा फोहोरमैला व्यवस्थापन

  • अस्थायी डम्पीङ साईड व्यवस्थापन, ढल निकास,नाला सरसफाई,सार्वजनिक स्थलहरुको सरसफाई,सौन्दर्यकरण, हरियाली प्रवर्द्धन तथा नगर सरसफाई गर्न  रु ९० लाख बजेट विनियोजन गरेकोछु ।
  • तुलसीपुर उ.म. न. पा. को फोहोरमैला व्यवस्थापन प्रशोधन केन्द्रको पुर्वाधार निर्माणका लागि रु २० लाख बजेट विनियोजन गरिएकोछ।
  • नगरको फोहोरलाई मोहोरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न ल्याण्डफिड साइटको व्यवस्था र फोहोरलाई वर्गीकरण तथा व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • बेवारिसे लाश र मरेका चौपायाहरुको तत्काल व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गरेकोछु ।
  • अस्थायी ल्याण्डफिल साइटको मर्मत तथा व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • फोहोरलाइ वर्गिकरण गरि सोको व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • तुलसीपुर उपमहानगरपालिकाको सौन्दर्यकरणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

संस्थागत विकास तथा सुशासनः

प्रशासन तथा जनशक्ति विकासः

  • सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कार्यालय अटोमेसन र प्रविधि विकासको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • अन्तरप्रदेश, अन्तरपालिका  असल अभ्यास तथा प्रशासनिक अध्ययनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • सुशासन प्रवर्द्धन, कर्मचारी र जनप्रतिनिधिको क्षमता विकासका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • कर्मचारीको मनोवल उच्च राखि कार्यसम्पादनप्रति उत्पेरित गर्न उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्न बजेट विनियोजन गरिएको छ।
  • उपमहानगरपालिकाको चल अचल सम्पत्ति, सार्वजनिक जग्गा,सार्वजनिक सम्पत्ति, सार्वजनिक भवन, पूर्वाधार संरचनाहरुको अध्यावधिक गर्न सम्पत्ती व्यवस्थापन कार्ययोजना बनाई लागु गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। ।
  • अन्तर पालिका र विभिन्न निकायहरुसंग सहकार्य अन्तरक्रिया तथा समग्र कार्यक्रमको अनुगमन समन्वय, संचालन र परिचालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • सामाजिक लेखा परिक्षण, तेश्रो पक्षको मुल्यांकन र स्थानीय तह संस्थागत स्व मुल्यांकन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

शान्ति तथा सुव्यवस्थाः

  • तुलसीपुर नगर प्रहरी व्रिगेड, उत्पादन निर्माण तथा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

वित्तिय सुशासन

  • तुलसीपुर उपमहानगरपालिकालको समग्र वित्तिय सुशासन सुधारका लागि आवश्यक बजेट विनियोजन गरेकोछु ।
  • आ.व. २०७९।०८० मा सम्झौता भई काम सम्पन्न हुन नसकेका आयोजनाहरुलाई निरन्तरता दिदै सो आयोजनाहरुको रकम भुक्तानी गर्न रु. २७करोड बजेट विनियोजन गरिएको छ । यसरी आ.व.२०७९।०८० मा भुत्तानी हुन नसकी दायीत्व सरिजाने रकम भुक्तानी गर्ने ब्यवस्था गरेको छु ।
  • आ.व. २०८०।०८१ मा वित्तिय सुशासन कायम गर्न पालिकाबाट आफ्नै सार्वजनिक खरिद नियमावली, आर्थिक ऐनन तथा वित्तिय उत्तरदायित्व नियमावली र खर्च सम्बन्धि कार्य सञ्चालन निर्देशिका निर्माण गरिएकोमा उक्त नियमावली तथा निर्देशिकाहरुलाई कडाईका साथ कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छु ।
  • आ.व. २०८०।०८१ मा उपमहानगरपालिकाको भुक्तानी दिदा पुर्व आन्तरिक लेखापरिक्षण गरेर मात्र भुक्तानी गरिने व्यवस्था गरेको छु ।

यान्त्रिक व्यवस्थापनः

  • नगरकार्यपालिका अन्तर्गतका सबै यान्त्रिक साधनहरुमा जी.पी.एस. ट्रयाकिङ्ग प्रणाली जडान र अद्यावधीक गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • विकास निर्माणमा प्रयोगहुने यान्त्रीक साधनहरूको चुस्त व्यवस्थापन गरी आवश्यक विकास निर्माणका काममा यन्त्रको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको छु ।

कानुनी मामिला तथा न्यायिक समितिः

  • तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिको न्याय सम्पादनलाई छिटो, छरितो, सरल र प्रभावकारी वनाउन मेलमिलापकर्ताको व्यवस्थाका लागि रकम विनियोजन गरिएको छ । वडासँग समन्वय गरी वडा मेलमिलाप केन्द्र गठनका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ ।
  • पालिकाबाट निर्माण भएका ऐन नियमको संगालो र राजपत्र प्रकाशनका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ ।
  • वडा मेलमिलाप केन्द्र स्थापना गरि न्याय प्रणालीलाई सुदृढ बनाउन बजेट विनियोजन गरिएको छ ।
  • म्याद तामेलदार, मेलमिलापकर्ता, मनोसामाजिक परामर्शकर्ता, जनप्रतिनिधि,कर्मचारीको क्षमता अभिवृद्धिका लागि  विनियोजन गरिएको छ ।
  • उपमेयर लैंगिक हिंसा सुरक्षा कार्यक्रम र सुरक्षा घर (सेफ हाउस) सञ्चालनका लागि रकम विनियोजन गरेको छु ।

योजना तर्जुमा तथा कार्यान्वयनः

  • तुलसीपुर उपमहानगरपालिकाको योजना तथा बजेट तर्जुमा र कार्यान्वयन गर्न आवश्यक सफ्टवेयर खरिद गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजनाको उपभोक्ता समिति गठन, सम्झौता र भुक्तानी प्रकृयाको बारेमा अभिमुखीकरण(१–१९वडा)का लागि आवश्यक बजेट विनियोजन गरेको छु।

संचार तथा सुचना प्रविधि

  • गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम (गरिव लक्षित विशेष कार्यक्रम)का लागि रु. १ करोड १० लाख बजेट विनियोजन गरिएको छ।
  • रेडियो तथा टेलिभिजन कार्यक्रम निर्माण, तुलसीपुर मासिक बुलेटिन प्रकाशन, लोककल्याणकारी विज्ञापन वितरणका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
  • विभिन्न नीति योजना, कार्यक्रम तथ्यांक संकलनका लागि गणना तथा सर्वेक्षण कार्यक्रममा बजेट विनियोजन गरेको छु ।
  • सूचना र प्रविधि मैत्री उपमहानगरपालिका वनाउनका लागि विभिन्न मोवाइल एप्लिकेसन्स र सफ्टवेयर खरिदका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • वडा तथा नगर स्तरिय सार्वजनिक सुनुवाई, नागरिक निगरानी समुह परिचालन र कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु । ।

उर्जा विकास

  • उज्यालो तुलसीपुरू अभियानलाई सफल पार्न १ मेगावाट सौर्य उर्जा उत्पादन तथा विस्तारको सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • नवीकरणीय ऊर्जा प्रवधि जडान (वायोग्याँस/विद्युतीय चुलो/सुधारिएको चुलो/सौर्य ऊर्जा)का लागि रु. ८ लाख  विनियोजन गरिएको छ।
  • तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, ३, ४ र १९ का अग्ला स्थानहरुबाट वायु उर्जा उत्पादनका गर्न सम्भाव्यता अध्ययनका लागि आवश्यक व्यवस्था गरेको छु ।
  • बायोग्यास, सुधारिएको चुलो, फोहरबाट उर्जा उपयोग गर्ने घर परिवारलाई प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • तुलसीपुर उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका विद्युत टेलिफोन र केवुलका तारहरुलाइ भूमिगत गर्न डिपिआर निर्माणका लागि बजेटको व्यवस्था गरेको छु ।

सिचाँई तथा खानेपानी

  • खेतीयोग्य सबै जमिनमा सिचाई सुविधा विस्तार,पानी भण्डारण क्षमता बृद्धि, डिपवोरिंग, पानीका स्रोत संरक्षण र  नगरका साना खोलाहरुमा हार्भेष्टिङ ड्याम निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • संघ र प्रदेश सरकारको समन्वयमा ग्वारखोला र पातुखोलामा हाईड्याम निर्माण गरी सिचाई सुविधा बिस्तारका साथै आकाशेपानी संकलन गरी सिचाई पोखरी निर्माण र परम्परागत पोखरीहरुको संरक्षण तथा विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • सुख्खा क्षेत्रमा आकाशे पानी संकलन प्रविधिलाई विकास गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • किसानहरुलाई बाह्रै महिना सिचाइ सेवा उपलब्ध गराउनका लागि सिँचाई मिटर जडान, स्यालो ट्युववेल तथा डिपवोरिङ्गमा सिँचाइ मोटर जडान गरेका किसान तथा व्यावसायिक पशुपालन र माछापालन गर्दै आएका किसानहरुलाई फागुन, चैत, वैशाख, जेठ महिनाका लागि विद्युत महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउनका लागि रकम विनियोजन गरेको छु ।
  • “स्वश्च पानि स्वस्थ्य जिन्दगानिएक घर एक धारा” अभियानलाई अगाडी वढाउनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

आन्तरिक ब्यवस्थापन तथा खरीद

  • नगर कार्यपालिका कार्यालयको आन्तरिक व्यवस्थापन चुस्त, दुरुस्त र पारदर्शीका साथै सेवाग्राही मैत्री वनाउन आवश्यक सामग्री खरीद तथा व्यवस्थापनका लागि रु ३५ लाखबजेटविनियोजन गरेको छु।
  • कर्मचारी तथा जनप्रतिनिधिको सामुहिक तथा म्यादी विमा कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
  • तुलसीपुर उपमहानगरपालिकाको सम्पत्ति संरक्षण तथा अद्यावधिक गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • विधुतीय वोलपत्रप्रणाली मार्फत खरिद प्रक्रियालाइ प्राथमिकता दिन आवश्यक व्यवस्था गरेकोछु ।

साझेदारी कार्यक्रम

  • नगर विकास कोष, युएनसिडिएफ, तयार नेपाल, युकेएड द एसीय फाउण्डेसन,साझेदारी कार्यक्रम, युनिसेफ, जिआइजेड, युएसआइडी, डिएफआइडि,  युएसएआइडि जिटुजि,सुरक्षित आप्रवासन कार्यक्रम (सामी), नेपाल महिला एकता समाज, फेडो, सिड संस्था,बेस नेपाल,ओरेक नेपाल, निउसिपिसी, सेवा प्रतिष्ठान नेपाल लगायतका संघ संस्थाहरुको साँझेदारीमा सञ्चालन गरिने कार्यक्रमहरुमा सहकार्य गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको छु  ।

सम्मानितनगरसभा अध्यक्षज्यू,

माथि उल्लेखित बजेट र कार्यक्रमहरुको अतिरिक्त आन्तरिक आय, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँड रकम, आन्तरिक ऋण समेतको विष्तृत विवरण यसै साथ संलग्न गरिएको छ । संलग्न आय, व्यय र योजनाको विवरणहरुलाई आर्थिक ऐन र विनियोजन विधेयकको अंगका रुपमा समावेश गरिएको छ ।

अन्तमा ‘समृद्ध तुलसीपुरः सबैका लागिसँधैका लागि’ भन्ने मुल अभियानमा यहाँहरु सवैको सहयोग र सहकार्यको अपेक्षा गर्दै आर्थिक बर्ष २०८०/०८१ को बजेट मन्तव्य यही अन्त्य गर्दछु ।

धन्यवाद !!!

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्