काठमाडौँ, १४ असार ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन् । आज काठमाडौँ आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका हुन् ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयतर्फ संकेत गर्दै ओलीले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद भएको बताए ।
उनले भन्नुभयो, ‘हिजोआज गुरु कुट्ने संस्कृति छ । दुस्खद् कुरा हो यो । हाम्रो देश जस्तो सभ्यताको जग बसाल्ने, सभ्यता शुरु गर्ने, सभ्यताको दियो बाल्ने, गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्काउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ ।’


