आज धान दिवस, दाङमा ८ प्रतिशत रोपाइँ – Kanika Khabar
Monday, February 16Nepali News Portal

आज धान दिवस, दाङमा ८ प्रतिशत रोपाइँ

    मा प्रकाशित
फाइल तस्बीर

दाङ, १५ असार ।

असारले मध्यअसार टेकेको छ तर पर्याप्त बर्सा हुन सकेको छैन । लामो समयसम्म जिल्लामा पानी पर्न नसक्दा किसानले धानको ब्याड समेत राख्न सकेका छैनन् । असारको पहिलो सातादेखि जिल्लामा पानी पर्न सुरु गरेको हो । लामो खडेरीका कारण कृषकले धानको ब्याड राख्न नपाउँदा खेत बाँझै छन् ।

केही दिनदेखि परेको पानीले बल्ल कृषकले धानको ब्याड राख्न सुरुसार गरेका छन् । सिंचाइ हुने देउखुरीका केही क्षेत्रबाट जिल्लाका अधिकांश धानखेती हुने खेतहरूमा धान रोपाइँ भएको छैन । कृषि ज्ञान केन्द्र दाङकाअुनसार जिल्लामा ८ प्रतिशत धान रोपाइँ भएको छ । समयमा पानी नपर्दा जिल्लामा अधिकांश ठाउँमा किसानले धान रोप्न सकेका छैनन् । सिंचाइको सुविधा हुने केही स्थानमा धान रोपाइँ भए पनि अधिकांश ठाउँमा खेत बाँझै छन् । ढिला गरी पानी परेपछि अहिले किसान धानको ब्याड राख्न थालेका छन् ।

जिल्लाको देउखुरी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका केही क्षेत्रमा थोरै मात्रामा मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए ।

जिल्लामा सबैभन्दा बढी राप्ती गाउँपालिकामा धान रोपाइँ भएको छ । सूचना अधिकारी लामिछानेले भने, ‘मध्यअसार भइसक्दा पनि यस वर्ष ढिला गरी बर्सात हुँदा करिब आठ प्रतिशत मात्रै रोपाइँ भएको छ । बाँकी खेत बाझै छन् ।’ सिंचाइ सुविधा हुने ठाउँमा पहिले ब्याड राखेका किसानले भने रोपाइँ सुरु गरेका छन् ।

विगतको वर्षमा यो समयमा ४० प्रतिशतसम्म किसानले धान रोपिसकेको थिए’, लामिछानेले भने, ‘तर अहिले ८ प्रतिशत मात्रै रोपाइँ भएको छ ।’ पानी पर्न थालेको र किसानले राखेको ब्याड पनि तयार हुने अवस्था भएकाले अब धान रोपाइँको अवस्था बढ्ने समेत उनले बताए । जिल्लामा ३९ हजार ४ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ तर सिंचाइ सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने किसानलाई बाध्यता छ ।

यो वर्ष सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नाराका साथ सरकारले २०औँ राष्ट्रिय धान दिवस मनाउँदै छ । स्थानीय तहहरूले आप्mनो क्षेत्रमा धान दिवस मनाउने तयारी गरेका छन् । नेपाल निजमाति कर्मचारी सङ्गठन दाङले शुक्रवार बिहान धान दिवस मनाउने भएको छ । सङ्गठनका अध्यक्ष शेरबहादुर केसीकाअनुसार शुक्रवार बिहान घोराही–१७ डबरीमा धान दिवस कार्यक्रम राखिएको छ । अध्यक्ष केसीले दिवसमा सहभागी हुन सबैमा अनुरोध समेत गरेका छन् ।

चैते धान भित्राउने तयारीमा किसान

जिल्लाका अधिकांश ठाउँमा किसानले रोपाइँको तयारी गरिरहँदा चैते धानखेती गरेका किसान भने धानबाली भित्राउने तयारीमा छन् । वर्षमा चैते र बर्खे गरी दुई बाली धानखेती गर्ने किसान अहिले चैते धान भित्राउने तयारीमा छन् । चैते धान खेतमा पाक्न थालेसँगै किसान अब भित्राउने तयारीमा जुटेको बंगलाचुली गाउँपालिका वडा नम्बर ३ मुलाबारी निवासी किसान कृष्णबहादुर नेपाली बताए ।
पहिले रोपेको धान पाक्न थालेको र बर्खे खेतीका लागि खेत तयार गर्नुपर्ने भएकाले किसान चैते धान भित्राउने तयारीमा जुटेको बताए । नेपालीले भने, ‘चैतको अन्तिम सातातिर रोपेको धान पाक्न थालिसकेको छ तर बैशाखमा रोपेको धान अझै पाकेको छैन । असारको अन्तिमसम्म पाक्ने भएकाले किसान चैते धान भित्राउने तयारीमा छन् ।’

पाँच रोपनी जग्गामा चैते धानखेती गरेका नेपालीले यस वर्ष लामो समयसम्म खडेरी परे पनि धानमा कुनै रोग नदेखिएको र बाला पनि राम्रै लागेकाले उत्पादन बढ्ने आशामा रहेको बताए । उनले भने, ‘आकाशबाट पानी नआए पनि सिंचाइको समस्या भएन । धानको बाला राम्रो लागेको छ ।’ विगतका वर्ष भन्दा यस वर्ष चैते धान राम्रो रहेको मुलाबारीकै किसान भुमा घर्तीले बताइन । समयमै धान खेतीसँगै मल र पानी पाइरहेकाले धानबाली राम्रो भएको घर्तीले बताइन् ।

‘धानले समयमै मल र सिंचाइ पाइरहेकाले राम्रो छ, उत्पादन बढ्ने आशा पनि छ’, उनले भनिन् ।
हिउँदमा पनि सिंचाइको राम्रो सुविधा भएका खेतहरूमा चैते धानखेती हुने गरेको छ । केही वर्ष अघिसम्म सरकारले किसानलाई चैते धान रोप्न प्रोत्साहन स्वरूप बिउ निःशुल्क दिनेदेखि सिंचाइका लागि कुलो मर्मतलगायतका काम गरे पनि पछिल्लो समयमा सहयोग नगरेको किसान बताउँछन् ।

घोराही उपमहानगरपालिका वडा नं. १ को सुकाखोला र बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र ८ नं. वडाअन्तर्गत् पर्ने गहतेरा, मुलाबारीलगायत विभिन्न ठाउँमा चैते धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र दाङकाअनुसार जिल्लाका विभिन्न स्थानमा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको छ तर पछिल्लो समयमा सिंचाइ र मलको अभाव, बर्सातमा धान भित्राउन समस्या हुने भएकाले चैते धानखेती घट्दै गएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्