
मुग्लिन, १६ असार ।
करिब २८ घण्टापछि सञ्चालनमा आएकाे मुग्लिन–नारायणगढ सडक खण्ड फेरि बन्द भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो ।
२८ घण्टासम्म रोकिएका गाडी गन्तव्यमा जान नभ्याउँदै फेरि आज बिहान सवा ३ बजे पहिरो खसेर सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पानी परिरहेकाले तत्काल पहिरो खुलाउन समस्या भएको प्रहरीको भनाइ छ ।
पहिरो खुले पनि माथिबाट लगातार ढुंगा झरिरहने भएकाले यो ठाउँमा जोखिम बढेको प्रहरीले जनाएको छ ।
लगातार पहिराे खसिरहँदा हजाराैँ यात्रुहरू अलपत्र परेका छन् । बाटाे खुल्ने निश्चित नरहेसँगै यात्रुहरू अलपत्र पर्न थालेका छन् । काठमाडौंबाट राजधानी बाहिर जाने सवारी साधन पहिराे खसेकाे स्थानदेखि मुग्लिनसम्म लामवद्ध रहेका छन् । राजधानी भित्रिन हिँडेका सवारी साधन पनि तुइन खाेलादेखिकाे सडकमा लामवद्ध रहेका छन् ।
वैकल्पिक बाटाेकाे प्रयाेग गर्न सम्बन्धित निकायले सुझाए पनि सवारी चालकहरू बाटाे खुलिहाल्छ कि भन्ने आशामा रहँदा पनि यात्रुहरू झनै समस्यामा परेका छन् । यता समयमै पहिराे व्यवस्थापन नहुनु, पहिराे गएकाे स्थानमा लगातार ढुङ्गा खसिरहनु र सवारी चालकहरूले वैकल्पिक मार्गकाे प्रयाेग नगर्नाले यात्रुहरूले सास्ती भाेग्न परेकाे छ ।


