बालाराम खड्का
तुलसीपुर,२० असार ।
यस वर्ष पनि राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय दाङले जिल्लाभर वृक्षारोपण कार्यक्रमको सुरुवात गरेको छ तर बर्सेनि बिरुवा रोपिए पनि त्यसको संरक्षण भएको छैन । कसैले पनि यति बिरुवा रोपिएकोमा यति संरक्षण भए भनेर तथ्याङ्क पनि राखेको देखिँदैन ।
एउटै डाँडामा १० वर्षसम्म बिरुवा रोपिए पनि ती बिरुवा हुर्काउन, जोगाउन कसैले ध्यान दिएको पाइँदैन । डिभिजन वन कार्यालय दाङले जिल्लामा तीन लाख बढी बिरुवा रोप्ने लक्ष्यअनुसार कार्यक्रम सुरु गरेको छ तर ती बिरुवा संरक्षण कसले र कसरी गर्ने भन्ने कुनै योजना सार्वजनिक गरेको छैन ।
‘लगाएजति बिरुवाको संरक्षण गर्ने हो भने देशको वनसम्पदा संरक्षण हुने थियो तर हाम्रो समाजले यसको महत्व बुझेको छैन’, विज्ञहरू भन्छन् । हरेक दिवसमा प्रायः जिल्ला–जिल्लामा वृक्षारोपण गरिन्छ, बिरुवा रोपिन्छ तर ती बिरुवाका संरक्षण गरिँदैन । संरक्षण किन गर्ने भन्ने छ तर यसको महत्व जसले बुझेको छ उसैले मात्र संरक्षण गर्ने गरेकाले रोपेका बिरुवा कमै जोगिएको पाइन्छ ।
वनजङ्गलबाट विभिन्न औषधीजन्य जडिबुटी पाइनुका साथै भूक्षय नियन्त्रण हुन्छ भने पानीको स्रोत बढ्ने पनि हुन्छ । ‘त्यो चौरमा हामीले बर्सेनि बिरुवा रोपेको देख्छौँ तर ती बिरुवाको संरक्षण गर्न भनेर रोपेदेखि कोही पनि फर्केर आउँदैन’, तुलसीपुर–१० निवासी केशव वलीले भने ।
त्यस्तै स्थानीय माधव केसीले वृक्षारोपण गर्ने तर मलजल, गोडमेल गर्ने व्यवस्थापन हुन नसक्दा बिरुवा हुर्किएको कमै मात्र देखेको बताए । रोप्ने कार्यक्रमको साथमा बेलाबेला गोडमेलको कार्यक्रम गर्दै स्थानीयलाई जिम्मेवार बनाउनुपर्ने उनको भनाई छ । ‘रोप्ने कार्यक्रम हुन्छ, त्यसलाई गोडमेल गर्ने कार्यक्रम हुँदैन’ उनले भने ।
दिवसका नाममा आयोजक संस्थाले पनि तामझामका साथ वृक्षारोपण कार्यक्रम गर्ने, तत्पश्चात् सो ठाउँमा फर्केर पनि नजाने परिपाटीकै कारण रोपिएका बिरुवाको संरक्षण हुन नसकेको स्थानीय वीरबहादुर केसी बताउँछन् । ‘बिरुवा रोपेपछि हेरचाह गर्नुपर्छ, यो जिम्मेवारी सरोकारवाला सबैको हो’, लामो समय वनमा काम गरेका पूर्व फरेस्टर ध्रुव गौतमले भने ।
सार्वजनिक ठाउँको सम्बन्धित कार्यालयको जिम्मेवारी हो भने निजी क्षेत्रको व्यक्तिगत हुने भयो । वातावरणीय हिसाबले बिरुवा रोपण आफैँमा राम्रो कार्य भए पनि हेरचाह नगर्नु गैरजिम्मेवारी भएको जानकार बताउँछन् । वृक्षारोपणको काम हुर्काउन र बढाउन गरिएको भन्दा पनि देखाउनका लागि गरिने भएकाले संरक्षण हुन नसकेको स्थानीयको बुझाइ छ ।
‘बिरुवा रोप्नुभन्दा पहिला बिरुवाको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा कहिल्यै छलफल हुँदैन, त्यही भएर पनि बिरुवा रोपिदिने संरक्षण नगर्ने परम्परा बस्यो’, स्थानीय कमला पुनले भनिन् । रोपिएको बिरुवा आफ्नो हो भन्ने भावनाको विकास हुन नसक्दा बिरुवा रोपणमा मात्र सीमित हुने गरेकाले बिरुवा संरक्षणमा स्थानीयबिच समिति गठन गरी संरक्षणको जिम्मा दिनुपर्ने बताइएको छ ।
बर्सेनि वृक्षारोपण कार्यक्रमका लागि लाखौँ रूपैयाँ खर्च हुने गरे पनि त्यो सवै बालुवामा पानी हालेजस्तै हुने स्थानीय बताउँछन् । हाल जिल्लामा विभिन्न समूह, क्लब, सङ्घसंस्थाहरूले वृक्षारोपण गर्दै आएका छन् । त्यस्तै असार १५ मा हरेक बालबालिकाले आफ्नो विद्यालय वरपर वृक्षारोपण गर्ने गरे पनि त्यो विद्यालयमा एउटा बिरुवा नजागेको उदाहारण धेरै भेट्न सकिन्छ ।
सहरबजारमा सडक वरपर रोपिएका बिरुवा ढाक्ने गरी झार उम्रिए पनि सम्बन्धित निकायले त्यसलाई व्यवस्थित गर्न नसकेको स्थानीय बताउँछन् । यसपटक दाङमा तीन लाख विभिन्न प्रजातिका बिरुवा रोपिने भएको छ । डिभिजन वन कार्यालय घोराहीअन्तर्गत् रहेका विभिन्न सामुदायिकसँगै निजी वन समूहको खाली जमिनमा बिरुवा रोप्न पनि थालिसकेका छन् ।
खाली रहेको वन क्षेत्रलाई हरियाली बनाउने उद्देश्यले वन क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोप्न सुरु गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसी बताउँछन् । उनका अनुसार यस वर्ष दाङमा तीन लाख बढी बिरुवा रोप्ने लक्ष्य रहेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका ५ वटा नर्सरीमा उत्पादन गरिएका तीन लाख बढी बिरुवा रोपिने भएको हो ।
उनका अनुसार डिभिजन वन कार्यालय दाङले राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर जिल्लामा वृक्षारोपण थालनी गरिएको थियो । वन तथा वातावरण संरक्षणसँगै हरियाली कायम राख्न वन कार्यालयले प्रत्येक वर्ष वृक्षारोपण गर्दै आएको छ । मसला, गुलमोहर, अमला, खयर, चिउरीलगायतका बिरुवा रोपिएको डिभिवन वन कार्यालय दाङका सूचनाअधिकारी केसीले जानकारी दिएका छन् ।


