घोराही, २० असार ।
दाङ महिला जेसीस वर्ष २०२३ का उपाध्यक्ष भीमा डिसीले आफ्नो जन्मदिनका अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । घोराही उपमहानगरपालिका वडा नंं. १७ मा रहेको आधारभूत विद्यालय भैसाहीमा पुगेर डिसीले विद्यार्थीसँग जन्मदिन मनाउनुभएको हो ।
दाङ महिला जेसीजको आयोजनामा भएको कार्यक्रममा बालबालिकालाई शैक्षिक सामाग्रीका वितरण गरिएको थियो । दाङ महिला जेसीस वर्ष २०२३ का अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलप्रसाद घिमिरेको प्रमुख आतिथ्यता एवं आमा कलावती डिसीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो । त्यसअवसरमा विद्यालयमा अध्ययनरत ७३ जना विद्यार्थीहरुलाई स्टेशनरी समानहरु कापी, कलम, खेलकुद सामाग्रीलगायतका सामाग्री सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक योगमाया भण्डारीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा जन्मदिन मनाईरहनु भएकी डिसीकी आमा कलावती डिसीलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले अन्य फजुल खर्च गर्नुभन्दा यसरी बालबालिकालाई सहयोग गर्दै जन्मदिन मनाउने काम प्रसंशनिय भएको बताएका थिए ।
दाङ महिला जेसीज वर्ष २०२३ का उपाध्यक्षका साथै अनेरास्ववियुको निवर्तमान केन्द्रिय सदस्य तथा नेकपा एमाले रोल्पाका सदस्य समेत रहनु भएकी डिसीले समाज कल्याण केन्द्र दाङले थालेको खुत्रुके बचत अभियानमा पनि सहयोग गर्नुभएको छ । केन्द्रका अध्यक्ष निर्माला गौतमलाई भेटगरी केन्द्रले लागुऔषध दुव्र्यसनी न्यूनीकरणका लागि थालेको अभियान र आमा शिक्षा कार्यक्रमको प्रभाव समाजमा राम्रो देखिएको भन्दै एक रुपैयाँ खुत्रुके बचत अन्तरगत ५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।


