घोराही, ३१ असार ।
दाङको धारापानीमा पुरुषोत्तम माहात्म्य एव्म शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन हुने भएको छ । मलमासको समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव यस वर्ष घोराही उपमहानगरपालिका–५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा सञ्चालन गर्न लागिएको हो ।
मन्दिरको प्रचारप्रसार तथा धर्म र धार्मिक आस्था तप सुदृढ बनाउने उद्देश्यले साउन २ गतेदेखि ३१ गतेसम्म पुरुषोत्तम माहात्म्य एवम् शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन हुन थालेको महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारीले जानकारी दिए। उनले भने, “धेरै मलमासहरु भएको समयमा मात्रै सञ्चालन गर्न मिल्ने भएकाले मात्रै धारापानी धाममा महामहोत्सवको आयोजना गरेका हौं ।” उनका अनुसार महामहोत्सवमा अन्तराष्ट्रिय स्वर्णपदक विभूषित पण्डित अमृतशरण देवाचार्यले पुरुषोत्तम माहात्म्य प्रवचन दिने कार्यक्रम छ ।
त्यस अवसरमा वाराणसी समूहले प्रत्येक दिन बेलुकी वैदिक शृङ्गारिक गङ्गा आरती गर्ने कार्यक्रम रहेको संयोजक अधिकारीले बताए । उनका अनुसार महामहोत्सव अवधिभर मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठ पारायण, सङ्गीतमय लीलामय पुरुषोत्तम माहात्म्य प्रवचन, पुरुषोत्तम एवम् बोलबम महाआरती र सङ्गीतमय लीलामय प्रवचन तथा भजन सञ्चालन हुने भएको छ ।
महामहोत्सव आयोजक समितिले जिल्लामै पहिलो पटक हुन थालेको पुरुषोत्तम माहात्म्य एवम् शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवमा सहभागी हुन भक्तजनहरुमा अनुरोध गरेको छ ।


